काठमाडौँ । “सेयर बजार देशको अर्थतन्त्रको ऐना हो भनिन्छ”, तर नेपालको सेयर बजार अस्वाभाविकढंगले अनि बजारको सामान्य नियम बिपरित घट्न थालेको पनि बर्षौ भैसक्यो । कहिलेकाही अपत्यारिलो ढंगले फुत्त बढे झैँ आभास दिन्छ अनि गर्लाम्मै तल झर्छ । प्राबिधिक, आर्थिक, माग, बितरण, बैंक ब्याजदर, तरलता, सरकारी अनि राष्ट्र बैंकको समय समयमा परिवर्तित नीति, नियम, नियमन, मौद्रिक तथा वित्तीय नीति, कम्पनीहरुको नाफा नोक्सान र वासलात बिवरण, शान्ति सुरक्षाको स्थिति, बिकासको गति आदि आदि बस्तुस्थितिको आधारमा बजार तल माथि हुनुपर्नेमा नेपालको बजार कुनै सैध्दान्तिक नियम अनुरुप चलेको देखिंदैन ।
सेएर बजार बुझेको, बजारका फ़नडामेण्टल अनुरुप प्रबर्धन र नियम गर्ने सकारात्मक सोचका अर्थमन्त्री र गभर्नर नहुनु अनि चर्को ब्याजदरले गर्दा बजार घटेको हो भन्ने आम बुझाई रहेको छ ।अहिले सेएर बजार करिब करिब “क्र्याश ” को चरणमा प्रबेस गर्न लागेको छ, यसको बारेमा संसद, संसदिय समिति र मुलत: सरकारले तुरुन्तै बजारको समग्र बिषयमा अध्ययन अनुसंधान गरेर बजारलाई लयमा हिंडाउन कदम चाल्नु पर्ने होइन? के देशमा अब सरकार छैन ?
धितोपत्र बोर्ड जस्तो सेएर बजारको लागि अहम महत्वको निकाय लामो समयदेखि नेतृत्व बिहिन हुनु अनि नियुक्ति गर्दा नै कसले बढी भन्दा बढी पैसा बुझाउन सक्छ त्यसको नियुक्ति हुने त्यसमा पनि आफ्नै पार्टी र स्वार्थ समुहको हुनुपर्ने विकृत अपचलनले गर्दा बजार झनै छाडा अनि स्वार्थ समुहको
चंगुलमा जकडिन पुगेको आम गुनासो छ । समग्र देश नै बिचलन र भ्रटाचारको दलदलमा भास्सिएको बेलामा सेएर बजारको चुस्त-दुस्त व्यवस्थापन खोज्नु दुरुह भएपनि आम लगानीकर्ता र सरोकारवालाहरुले सशक्त आवाज सहित दबाब दिन अब ढिला गर्नु हुन्न । चेतना भया !