काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को ब्यानरमा बिहीबारदेखि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा सुरु आन्दोलन अराजक बन्ने संकेतहरु देखा परेका छन् । प्रसाईंको बेलगाम अभिव्यक्ति र उनले गरेका घोषणाले त्यस्तो संकेत देखिएको हो । गणतन्त्र, संघीयता र समग्र व्यवस्थाविरुद्ध नै लक्षित रहेको आन्दोलनको पहिलो दिन नै दुईपक्षीय झडप भयो भने शुक्रबारदेखि व्यक्ति लक्षित नै गरेर अघि बढ्ने घोषणाले त्रासको अवस्थासमेत सिर्जना भएको छ । बिहीबार प्रशासनले तोकेको स्थान बल्खुमा प्रहरी र प्रसाईं समर्थकबीच पटक–पटक झडपको स्थिति बन्यो भने प्रदर्शनकारीलाई उत्तेजित बनाउने कार्य स्वयम प्रसाईंले नै गरेका थिए ।
प्रदर्शन शान्तिपूर्ण हुने भनिएपनि प्रसाईंले प्रदर्शनस्थलमा पुगेर उक्साहटपूर्ण भाषण गरेपछि अवस्था तनावपूर्ण बनेको थियो । बिहीबार दिउँसो करिब साढे १ बजेतिर बल्खु पुगेका प्रसाईंले सम्बोधनका क्रममा आक्रामक अभिव्यक्ति दिए । उनले प्रदर्शनकारीलाई उत्तेजित बनाउँदै वर्तमान व्यवस्थाको तेजोबोध गर्ने प्रयास गरे भने यो व्यवस्थाले नेपाली जनताको भलाई नहुने जिकिर गरे । सुरुमै उनले देशमा बस्ने वातावरण नभएको भन्दै दसैँको अष्टमीको दिन पनि नेपालीहरू विदेशमा श्रम गर्न जान बाध्य भएको धारणा राख्दै भने , ‘हामीले रुँदै झोला बोकेर दसैको अष्टमीको दिन देश छोड्नु परेको छ । म यसको अन्त्य गर्न चाहन्छु । म त्यसै बोलेको होइन, मभित्र ठुलो पीडा छ ।’
उनले आफू दुर्गा मातालाई साक्षी राखेर यहाँ (प्रदर्शनस्थल) आएको भन्दै मर्न तयार रहेको तर, नभाग्ने बताए । ‘दुर्गा मातालाई साक्षी राखेर म तपाईँहरुको अगाडि मर्न आएको छु । म मर्न तयार छु । म भाग्न तयार छैन’, प्रदर्शनकारीलाई उकास्दै उनले भने, ‘म भाग्दिनँ । तपाईँहरुका छोराछोरीलाई यो देशमा फर्काएर यो देशलाई फेरि पुरानो नेपाल बनाउनु छ ।’ उनले संघीयता नचाहिने भन्दै आफूहरूले सुरु गरेको आन्दोलन जनव्रिदोह भएको जिकिर गरे । उनले नेपाली नेताहरूको दुबई, सिंगापुर, कम्बोडिया, मंगोलिया, अमेरिका, लण्डनलगायतका देशमा लगानी रहेको दाबी गर्दै भने, ‘हाम्रो देश त्यसै टाट पल्टेको होइन । म प्रचण्डलाई राम्ररी चिन्दछु । तपाईँ सरेन्डर गर्नुस् जनताकहाँ आउनुस् ।’
उनले एमाले अध्यक्ष केपी ओलीको पनि कडा आलोचना गरे । एमालेले युवा संघलाई प्रयोग गरेर आन्दोलनमा आएकाहरूलाई मध्यरातमा बलात्कारको प्रयास गरेको संगीन आरोप समेत प्रसाईँले लगाए । उनले ‘यही काण्ड ओली पत्नी राधिका शाक्यलाई परेको भए के गर्नुहुन्थ्यो हजुरबुबा ?’ भन्दै कटाक्ष समेत गरे । प्रसाईंले ओलीले हजुरबा भनेर सम्बोधन गर्दै आएका छन् । उनले नेपालमा विद्रोहको विरुवा रोपिएको र नेताहरूलाई जहाँ भेट्यो त्यही ठेगान लगाउनेसम्मको अराजक अभिव्यक्ति दिए । प्रसाईँले बोल्दा आन्दोलनकारीहरूले चर्को नाराबाजी गर्दै अघि बढ्न थालेपछि माहौल बिग्रिन सुरु भइसकेको थियो । यतिमात्रै नभई उनले सिंहदरबार र संसद् भवनका साथै पुरै काठमाडौँ कब्जा गर्नेसम्मको अभिव्यक्ति दिए । यस्तै प्रसाईँले देश नै ठप्प बनाउनेसम्मको पनि दिन पछि परेनन् । उनले अब गणतन्त्र सकिएको र जनताको तन्त्र आउने अभिव्यक्ति दिएर माहोललाई थप उत्तेजित बनाउने प्रयास गरेका थिए । सिंगो लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि धावा बोलेका प्रसाईं र उनका समर्थकहरूको अभिव्यक्ति र व्यवहार समाजलाई भड्काउने र वितृष्णा फैलाउँदै अराजकतातर्फ धकेल्ने खालको भएको परिवर्तनकारी शक्तिहरूको बुझाइ छ ।
त्यसमाथि आन्दोलन मियो बिनाको दाइँजस्तो बन्दा थप अराजकता मौलाउने खतरा उस्तै छ । एकातिर प्रसाईं पक्ष आक्रामक बनिरहने र सरकार मौन बसि त्यस्ता गतिविधिलाई छुट दिइरहने हो भने विधिको शासन, संविधान थप कमजोर र निष्क्रिय बन्ने खतरा नहोला भन्न सकिन्न । अर्को गम्भीर कुरा त के छ भने प्रसाईंले बिहीबार साँझ नै आफ्नो भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गरेर आन्दोलन निरन्तर अघि बढ्ने जानकारी दिएका छन् भने नेतालाई जहाँ भेट्यो त्यही ठीक पार्नेसम्मको धम्की दिएका छन् । यतिमात्रै नभइ उनले तिनकुने क्षेत्रबाट आन्दोलन सुरु गरेर निरन्तर अघि बढ्ने र आफूहरुलाई निषेधाज्ञाले फरक नपार्ने बताएका छन् । शुक्रबार बिहान ११ बजेदेखि आन्दोलन सुरु हुने र भीडले जता भन्छ त्यतै आन्दोलन हुने उनको भनाइ थियो । उनले श्रीलंकामा भएको आन्दोलन जस्तै नेताका घरघरमा जानेसमेत घोषणा गरे । उनले भने, ‘श्रीलंकामा जे गरेका थिए नि जनताले, जहाँ जहाँ भेट्छन् त्यही त्यही मसाज गर्छन् । अब कसरी हिँड्दा रहेछन् हेरौँ न ठगेर । मलाई धम्की दिन्थे नी, अब उनीहरु जोगिएर हिँडे हुन्छ ।’
उनले नेताहरुले बियर समेत विदेशी खाने गरेको दावी गर्र्दै भारत जाँदा प्रधानमन्त्रीका छोरी बुहारी बिजनेश क्लासमा बसेर वाइन खाँदै गएको आरोप लगाए । उनले आजको दिन देशको प्रमुख प्रतिपक्ष नै आफू रहेको दावी गर्दै जनता आफ्नो पक्षमा रहेको दाबी गरे । प्रसाईंको आह्वानमा भएको आन्दोलनमा देशभरबाट लघुवित्त र आर्थिक ऋणमा रहेकाहरुको ठूलो समूह संलग्न छ । प्रसाईंले २० लाखसम्मको ऋण मिनाहा गर्न आफूले पहल गर्ने आश्वासन दिँदै आन्दोलनमा सहभागी गराएको बताइएको छ । यसबाहेक राजावादी र वर्तमान व्यवस्थाप्रति निराश भएका समूहको पनि संलग्नता रहेको छ । यद्यपि राजावादी पार्टी राप्रपाले भने प्रसाईंलाई खुलेर साथ दिएको छैन ।
प्रसाईंले आन्दोलन निरन्तर अघि बढ्ने भनिसकेको तथा शुक्रबार काठमाडौँ बन्दका लागि सार्वजनिक आह्वान समेत भएकाले अवस्था प्रतिकुल बन्दै जाने अवस्था देखिएको छ । प्रसाईंको आह्वान भएको आन्दोलनमा तत्काल ठुलो जनसमर्थन नदेखिएपनि अराजकता मौलाउँदै गएमा समस्या बढ्दै जाने निश्चित छ । प्रभावकारी नेतृत्वसमेत नभएको टिप्पणी भएको आन्दोलनमा बेलैमा संयमता जरुरी देखिन्छ भने यस्तो पृष्ठभूमिमा ठुलो बलिदानीबाट प्राप्त गणतन्त्रलाई जोगाउन दलहरु पनि गम्भीर बन्नुपर्ने देखिन्छ ।
जनसवाल राष्ट्रिय दैनिकको २०८० मंसिर ८ गते शुक्रबारको इपेपर
जनसवाल राष्ट्रिय दैनिकको २०८० मंसिर ८ गते शुक्रबारको इपेपर
