मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

निरन्तरको भूकम्पको झट्काले त्रास, जाजरकोट भूकम्पका मृतकमध्ये बालबालिका र महिला धेरै

मंगलबार, कार्तिक २१ २०८०

जनसवाल संवाददाता
काठमाडौँ । शुक्रबार रातिको भूकम्पपछि पनि जाजरकोट केन्द्रबिन्दु भएर निरन्तर भूकम्पका झट्काहरु आइरहेका छन् । जसका कारण जाजरकोट र आसपासका जिल्ला त्रासको अवस्था सिर्जना भएको छ । यसअघि नै घर भत्किएर र मानवीय क्षति भएर पीडामा रहेका सर्वसाधारण निरन्तरको भूकम्पको धक्काले थप पीडामा रहेका हुन् ।
सोमबारमात्रै जाजरकोट केन्द्रबिन्दु भएर ४ म्याग्निच्युड भन्दामाथिका दुई वटा भूकम्पका धक्का गएका छन् । जसमध्ये एउटा भूकम्प शक्तिशाली नै थियो । जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर दिउँसो ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि ४ बजेर ४० मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्पको अर्को झट्का गएका गएको थियो । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबारको भूकम्पपछि ४ म्यािग्नच्युड भन्दा तल र माथिसमेत गरी ४०० को हाराहारीमा परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीले जानकारी दिए । यसअघि शुक्रबार राति जाजरकोट नै केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको थियो ।
भूकम्पमा परी घाइते भएकामध्ये ८ जनाको अवस्था अझै गम्भीर रहेको गृह मन्त्रालयले जनाएको छ । गम्भीरमध्ये ६ जनाको भेरी अस्पताल, एक जनाको प्रदेश अस्पताल सुर्खेत र एक जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै भूकम्पमा परी कुल १५३ जनाको मृत्यु र ३४० जना घाइते भएको मन्त्रालयको भनाइ छ । घाइते कुलमध्ये २४६ जना डिस्चार्ज भएर घर गएका छन् । बाँकी घाइतेको भेरी, मेडिकल कलेज कोहलपुर, प्रदेश अस्पताल सुर्खेत, शिक्षण अस्पताल काठमाडौँ र सम्बन्धित जिल्लामा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
जाजरकोट भूकम्पका मृतकमध्ये ७८ बालबालिका
जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक सय ५७ मध्ये ७८ बालबालिका रहेका छन् ।
जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झण्डै आधा बालबालिका रहेका छन् । जाजरकोटमा मृत्यु भएका एक सय पाँच मध्ये बालक २७ र बालिका २३ जना रहेका रोकाले बताए ।
रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिए । उनले भने, “रुकुम पश्चिममा भूकम्पमा मृत्यु भएकामध्ये अधिकांश बालबालिका छन् । दुईजना १० महिनाका बालबालिकालेसमेत ज्यान गुमाएका छन् ।”
मृत्यु हुनेमा महिला धेरै
भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाजरकोटमा मृत्यु भएका एक सय पाँचमध्ये ५०, ३३ जना महिला र १८ जना पुरुषको मृत्यु भएको जाजरकोटका प्रनाउ रोकाले जानकारी दिए । रुकुम पश्चिममा १६ महिला र आठ जना पुरुषको मृत्यु भएको छ । बेला बेलामा हुने यस्ता विपद्मा महिला बालबालिका र ज्येष्ठ नागरिकसँगै अपाङ्गता भएका व्यक्ति धेरै समस्यामा पर्ने गरेका छन् ।
रुकुमपश्चिममा १६ हजार पाँच ७० घर पूर्णरुपमा क्षतिग्रस्त
गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिमका छ स्थानीय तहका १६ हजार पाँच सय ७० घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तथ्याङ्क सङ्कलन जारी रहेकाले यो सङ्ख्या बढ्नसक्ने बताए ।
नगरपालिका प्रमुख तथा गाउँपालिका अध्यक्षहरुले समितिको बैठकमा पेश गरेको प्रारम्भिक तथ्याङ्कअनुसार सबैभन्दा बढी आठबिसकोट नगरपालिकाका घरमा क्षति पुगेको छ । समितिका अनुसार आठबिसकोट नगरपालिकामा सात हजार एक सय ४८ घरमा पूर्णरुपमा क्षति पुगेको छ भने सानीभेरी गाउँपालिकाका तीन हजार एक सय ४६ घर पूर्णरुपमा र सात सय २२ घरमा आंशिक क्षतिग्रस्त बनेका छन् । चौरजहारी नगरपालिकामा एक हजार नौ ८७ घर पूर्ण र चार हजार तीन सय ७४ घरमा आशिंकरुपमा क्षति पुगेको छ भने मुसीकोट नगरपालिकामा दुई हजार तीन सय घर पूर्णरुपमा र तीन हजार पाँच सय घरमा आशिंक क्षति पुगेको छ । त्यसैगरी त्रिवेणी गाउँपालिकामा एक हजार नौ सय ३५ घर पूर्ण र एक हजार दुई सय ५८ घरमा आंशिक क्षति पुगेको छ भने बाँफिकोट गाउँपालिकामा १८ वटा घर पूर्ण र एक सय सात घरमा आंशिक क्षति पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार