zestkhabar

बुधबार, मंसिर १३ २०८०

  • बुधबार, मंसिर १३ २०८०
Janasawal - नेपाली युवा शाही जमे जर्मनीमा

नेपाली युवा शाही जमे जर्मनीमा

नेपाली युवा शाही जमे जर्मनीमा


  • कृष्ण अधिकारी
  • बिहिबार, कार्तिक १६ २०८०
2.5K
SHARES

कृष्ण अधिकारी

घरनजिकै पृथ्वी राजमार्ग र तनहुँका विभिन्न ग्रामीण सडकहरुमा जर्मनीका राम्रा गाडीहरुको ओहोरदोहोर गरेको देख्दा बालमस्तिस्कमा जर्मनी देशको बारेमा कौतुहलता जाग्नु स्वभाविक थियो । त्यतिबेला जर्मनीमा निर्माण गरिएका सामग्रहीहरु निकै राम्रा र बलिया मानिन्थ्यो । उहाँलाई पनि जर्मनी भन्ने देशमा गएर पैसा कमाउने लोभ सानै उमेरमा पलायो । खैरेनीटार बजार क्षेत्रमा रहेको जर्मनीको सहयोगमा सञ्चालित ठूलो कृषि केन्द्र थियो । त्यसमा थुप्रै जर्मनी वैज्ञानिकहरु आएर नेपालमा कृषि प्रवद्र्धनका लागि किसानहरुलाई तालिम सञ्चालन गर्ने गर्थे । जर्मनी सरकारको सहयोगमा स्थापित पश्चिमान्चलको कृषि सेवामा महत्वपुर्ण योगदान पु¥याउँदै आएको खैरेनीटार कृषि केन्द्रलाई बहुदल आइसकेपछि सुरक्षा निकायलाई दिइयो । कृषि क्षेत्रमा योगदान पु¥याउनु भएका अग्रजहरूले दूरदृष्टि राखी स्थापना गरेका यस्ता महत्वपूर्ण कृषिफार्म÷केन्द्रहरु विभिन्न समय अन्तरालमा सुरक्षा र अन्य निकायहरुको अतिक्रमणमा पर्नु निकै नराम्रो कुरा हो ।

गाउँका युवाहरुमा विदेश जाने र पैसा कमाउने होड शुरु भइसकेको थियो । मुलुकमा भर्खर प्रजातन्त्र पुर्नस्थापना भएकाले विश्व समुदायसँग नेपालको सम्बन्ध घनिष्ट रहेको थियो । जर्मनीमा पनि बर्लिनको पर्खाल ढलेसँगै भर्खरै एउटै जर्मनी भएको थियो । गाउँकै स्कुलबाट आठ कक्षा अध्ययन गरी पोखरामा गई नौ र दश कक्षा उत्तीर्ण गरेपछि त्यहाँको पृथ्वीनारायण कयाम्पसबाट आइए उत्तीर्ण हुनासाथ ओठमाथि भर्खर जुँगाको रेखी बस्दै गरेको १८ वर्षको उमेरका केशर शाही केही साथीहरुको लहैलहैमा सन् १९९२ मार्चमा जर्मनी हानिनुभयो । शुरुमा त २÷४ वर्ष बसेर केही पैसा कमाएर नेपाल फर्किने सोचमा आएका उहाँ विस्तारै त्यहीको वातावरणमा घुलमिल हुनुभयो । त्यतिबेला नेपालीलाई जर्मनी आउन भिसा चाहिंदैनथ्यो । तत्कालीन शाही नेपाल वायुसेवा निगमको जहाज चढेर उहाँ जर्मनी उत्रिनु भएको थियो । ९० दिनको लागि अराइभल भिसा दिइन्थ्यो । जर्मनी जाने नेपालीको संख्या बढ्न थालेपछि त्यही वर्षको जुनदेखि भिसाको व्यवस्था लागू भयो ।

सन् १९९० मा इटालीमा भएको विश्वकप फूलवल प्रतियोगितामा तत्कालीन पश्चिम जर्मनीले जितेपछि त उहाँँलाई जर्मनीको मोह अझै बढेर गयो । जर्मनीका खेलाडीको नाम उहाँँलाई कण्ठस्थ थियो । तीमध्ये थोमस व्याडथार्ड पनि एउटा प्रसिद्ध खेलाडी थिए । पछि तिनै खेलाडीको छोरीले केही वर्ष उहाँकै रेस्टुराँमा काम गरेकी थिइन् । अहिले पनि उनीसँग राम्रो सम्बन्ध छ । सानोदेखि नै फुटबलप्रेमी शाहीले स्थानीय फुटबल क्लब वुरजबरगर कींकरसको प्राफेशनल टिमको स्पोन्सरसमेत गर्दै आउनु भएको छ । यसो त सो क्लबको अण्डर ३० टिममा उहाँको छोरा क्यास शाहीले फुटबल खेल्दै आएका छन् । आफ्ना छोरालाई एकपटक नेपालको जर्सी लगाएर खेलाउने उहाँको धोको छ ।

जर्मनी आउनेबित्तिकै एउटा थाइ रेस्टुराँमा वार किपरको रुपमा काम पाउनुभयो । तलब ८०० मार्क अर्थात ४०० युरो थियो । १२ वर्षसम्म त्यस रेस्टुराँमा काम गरेपछि २००९ मा एकजना साथीसँग मिलेर उहाँले रेस्टुराँ सञ्चालन गर्न थाल्नुभयो । शुरुमा त व्यवस्थापकीय अनुभवको कमीले गर्दा घाटा पनि भयो । तैपनि उहाँले हार खानु भएन । बरु २०१३ मा आफैंले रेस्टुराँ शुरु गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘पहिले अर्कैंले चलाएको रेस्टुराँ आफैंले किनेर सञ्चालन गरेको हुँ । आफूसँग लगानी गर्ने पैसा नभए पनि बैंकबाट ऋण लिएर काम गरेँ ।’

जर्मनीको वुरजबर्गमा रहेको रेस्टुराँ अहिले राम्रोसँग सञ्चालनमा छ । रेस्टुराँको नाम भने पहिलेकै खाम खुशी बार एण्ड रेस्तुरेंट राख्नुभएको छ । तीनजना नेपालीसहित २७ जनालाई उहाँले प्रत्यक्ष रोजगारी पनि दिनुभएको छ । उहाँँको रेस्टराँमा जापान, जर्मनी, थाइल्याण्डका कामदारहरु छन् । छिटै उहाँँले शहरकै मुख्य चोकमा अर्को पनि रेस्टुराँ सञ्चालन गर्दै हुनुहुन्छ । नेपालको एउटा युवाले बिरानो मुलुकमा गएर व्यवसाय गरी उत्लै त्यहाँका मानिसलाई रोजगारी दिलाउन सक्नु सजिलो पक्कै छैन । रेस्टुराँमा काम गर्ने हुँदा धेरै जर्मनीका सर्वसाधारणदेखि राजनीतिक, सामाजिक, व्यापारिक क्षेत्रका मानिसहरुसँग चिनजान र सम्पर्क हुने नै भयो ।

तनहुँको साविकको भानुमती गाविस–९ गणेशपुरमा जन्मनुभएका उहाँ पछि खैरेनीटारमा बस्नु थाल्नुभयो र अहिले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको घरमा आमा बस्दै आउनु भएको छ । बुबा भारतीय सेनाबाट निवृत्त भएपछि केही वर्ष पोखरा–काकडभिट्टा रात्रिबस पनि सञ्चालन गर्नुभएको थियो । सानो उमेरदेखि नै बाबुआमाबाट जागिर गर्नुभन्दा कुनै व्यवसाय गर्न बाबुआमाबाट प्रेरित हुनुभएका उहाँले जागिर खाने कहिल्यै सोच बनाउनुभएन । जर्मन आएको १४ वर्षपछि २००५ मा पोखरीकी कोपिला शाहीसँग उहाँको मागी बिवाह भयो । हाल उहाँका एक छोरा क्यास र एक छोरी कियारा छन् ।

ज्यान विदेशमा भएपनि उहाँको मन भने नेपालमै दौडिरहेको हुन्छ । वर्षमा एक÷दुईपटक नेपाल नआई मनले मान्दैन । घर आएको बेला सामाजिक सेवामा लाग्नु उहाँको सोख नै हो । उहाँले विभिन्न सङ्घसंस्थाहरुलाई आर्थिक सहयोग गर्नुभएको छ । खैरेनीटारमा गिरिजाप्रसाद कोइराला…अस्पताल निर्माण गर्न रु एक लाख ४० हजार, गोरखा भूकम्पको बेला गाउँका विभिन्न असहायहरुलाई घर निर्माण गर्न रु सात लाख नगद सहयोग गर्नुभएको थियो भने तनहुँमा ठकुरी समाजको भवन निर्माण गर्न जग्गा प्रदान गर्नुभयो । आफू पढेको गाउँको विद्यालयलाई पनि सहयोग गर्नुभएको छ ।

अनेक व्यवस्था परिवर्तन भएर पनि मुलुकको राजनीतिले सही गति लिन नसकेकामा उहाँलाई निकै चिन्ता लाग्ने गर्दछ । उहाँ भन्नुहुन्छ, ‘‘हरेक दिन बिहान उठ्नेवित्तिकै मोवाइलमा नेपालको समाचार पढ्न खोज्यो, कहिलयै सकारात्मक र आशालाग्दो खबर पढ्न पाइँदैन, सधैंँ राजनीतिक दाउपेच, गालीगलौज र अस्थिरताकै कुराले दिक्क लाग्छ । नेताहरु आफ्ना लागि नभएर देश र जनताप्रति उत्तरदायी नबनेसम्म देश कहिल्यै उँभो लाग्दैन ।’’ जर्मनीमा पनि गठबन्धनकै सरकार छ, धेरै वर्षदेखि एउटै पार्टीले सरकार बनाएको छैन तर राजनीतिक स्थिरता छ, नेपालमा पनि उहाँ यस्तै राजनीतिक संस्कारको खाँचो देख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘चुनावको बेला गठबन्धन हुने होइन, चुनाव सकिएपछि एजेण्डाका आधारमा सरकार बनाउन गठबन्धन गर्न सकिन्छ ।’’ सरकारले शिक्षा, स्वास्थ्यलाई निःशुल्क गराउनुपर्छ र यातायात, विद्युत्जस्ता आधारभूत आवश्यकता परिपूर्ति हुनुपर्छ । हाम्रोजस्तो पहाडी मुलुकमा यातायातको पहुँच विस्तार गर्ने भनेकै सुरुङ मार्गबाट हो । हाम्रा नेताहरुले नेपाललाई स्विट्जरल्याण्ड बनाउने भनेको धेरै भयो । उनीहरुले त्यहाँको यातायात देखेकै होलान् । हाम्रोजस्तै पहाडी मुलुक स्विट्जरल्याण्डमा सुरुङ मार्गबाट देशभर यातायातकबो सञ्जाल विस्तार भएको छ । यसो गर्दा पहिरोको जोखिम पनि रहँदैन ।

लामो समय जर्मनीमा बसेर त्यहाँको विकास निर्माण र स्वच्छ वातावरणबाट प्रभावित हुनुभएका उहाँ काठमाडौँलगायतका प्रमुख शहरी क्षेत्रमा देखिएको फोहोरमैलाको समस्याको दिगो समाधान गर्नेतर्फ चिन्तित देखिनुहुन्छ । उहाँसहित जर्मनीको वुरजबर्गमा व्यवसायी गर्दै आउनुभएका हरिस घिमिरेसमेतको सक्रियतामा फोहोरमैला व्यवस्थापनमा जर्मनीको अभ्यासलाई काठमाडौँमा पनि कार्यान्वयनमा ल्याउन त्यहीँको एउटा कम्पनीसँग कुरा गरी कार्यान्वयनमा जान सकिने सम्भवनासहितको प्रस्ताव अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारलाई प्रस्तुत पनि भएको थियो तर दुर्भाग्य सरकार परिवर्तन हुँदा त्यसले मूर्त रुप लिन पाएन । त्यसपछिका सरकारहरुसँग पहल हुँदा कतैबाट समन्वयात्मक सहयोग नहुँदा बीचमै रोकिएकामा भने उहाँलाई निकै चित्त दुखेको छ । नेपालमा राजनीतिक स्थिरता हुँदा जर्मनीको लगानीकर्तालाई आकर्षित गराउन सकिन्छ । राज्यस्तरमा मात्र नभई जनस्तरमा पनि धेरै जर्मनी उद्योगी, व्यवसायीहरु नेपािलमा लगानी गर्न इच्छुक छन् ।

नेपालका युवाहरु अहिले जसरी विदेश पलायन हुने क्रम बढेको छ, यसले देशलाई ठूलो समस्यातर्फ धकेल्दैछ । देशका लागि आवश्यक जनशक्ति स्वदेशमै उपयोग हुनुपर्नेमा आज लाखौं खर्च गरेर विदेशीका लागि उपयोगमा आउने अवस्था जसरी बन्दै गएको छ, यसतर्फ नेपालका राजनीतिक नेताहरुले गम्भीर भएर साच्नै पर्दछ । हालै नेपाल सरकार र जर्मनी सरकारबीच श्रम सम्झौता भयो भनेर जसरी प्रचार गरिएको छ, यसमा कुनै उपलब्धि हुने देखिंदैन । पहिले पनि नेपालीहरु यहाँ काम गर्न कुनै रोकावट थिएन र उनीहरुलाई दिने पारिश्रमिक यहाँका कामदारलाई दिनेभन्दा फरक छैन । यहाँ काम गर्न आउने नेपाली युवाले कुनै न कुनै सीप सिकेर आएको अवस्थामा सजिलै काम पाउन सक्छन् र पारिश्रमिकमा पनि ठगिनुपर्ने अवस्था छैन ।

पछिल्लो केही वर्षयता बंगलादेशले आर्थिक विकासमा धेरै फड्को मारेको छ । त्यहाँका युवाहरु अहिले विदेश जान खोज्दैनन् । उनीहरुको स्वदेशमै राम्रो रोजगारीको अवसर सुनिश्चित भएको छ । यसले गर्दा अहिले त्यहाँको जीवनस्तर निकै माथि उठेको छ । त्यसैले नेपाल सरकारले पनि अन्य देशहरुसँग श्रम सम्झौता गर्दै धेरैभन्दा धेरै युवालाई विदेश पठाउने नीति लिनुभन्दा स्वदेशमै काम गर्ने अवसर दिन सक्नुपर्छ । विदेशमा गएका युवालाई पनि स्वदेश फर्किने वातावरण र विश्वास दिलाएमा धेरै जना आफ्नै जन्मभूमिमा आउन आतुर छन् ।

अहिले उहाँ जर्मनीकै नागरिक बनिसक्नुभएको छ । व्यवसायका लागि किन रेस्टुराँ नै रोज्नु भयो त भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ—त्यही काममा विज्ञता हासिल गरियो सुरुदेखि नै, अनि पहिले आफूले काम गरेको सँस्थामा नै काम गर्ने विचारले यही रेस्टुराँ व्यवसाय नै रोजेँ । जर्मनी नै रोज्नुको कारणमा उहाँ भन्नुहुन्छ, यहाँ समानता छ, सामाजिक सुरक्षाको राम्रो प्रत्याभूति छ, शिक्षा र स्वास्थ्यमा सरकारको पूर्ण सुरक्षा प्राप्त छ र यहाँ कुनै प्रकारको विभेद छैन ।

जर्मनीको निर्वाचनमा मतदाताको रुपमा समेत सहभागी भइसक्नु भएका शाही नेपालमा पनि यहाँको जस्तो निर्वाचन प्रक्रिया लागू गर्न पाए नेपाली निर्वाचनमा स्वच्छता कायम हुन्थ्यो कि भन्ने चाहना राख्नुहुन्छ । केही वर्ष गैरआवासीय नेपाली संघ जर्मनीको सक्रिय सदस्य शाही पछिल्लो समय संस्थाभित्र बढ्दो राजनीतिकरणबाट दिक्क हुँदै निस्कृय बन्नु भएको छ । एनआरएनएजस्ते पवित्र संस्थामा राजनीति बढी भयो भन्दै उहाँ संस्थालाई आफ्नो स्वार्थमा उपयोग गर्नु खोजेदेखि नै औचित्य समाप्त हुन लागेको बताउनुहुन्छ । गम्भीर होटेल व्यवसायी शाही नेपाल फर्केर जान सकिने र आफ्नो विज्ञता होटेलमा नै रहेकाले भविष्यमा पोखरामा रिसोर्ट खोल्ने विचार रहेको बताउनुहुन्छ । सधैँ नेपालको सम्झना आइरहने र नेपालमा केही न केही सामाजिक काम गर्ने इच्छा रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट