zestkhabar

बुधबार, मंसिर १३ २०८०

  • बुधबार, मंसिर १३ २०८०
Janasawal - एनआरएनए चुनाव र मैले चिनेको आरके शर्मा, किन मध्यपूर्वको नेतृत्व चाहिन्छ ?

एनआरएनए चुनाव र मैले चिनेको आरके शर्मा, किन मध्यपूर्वको नेतृत्व चाहिन्छ ?

एनआरएनए चुनाव र मैले चिनेको आरके शर्मा, किन मध्यपूर्वको नेतृत्व चाहिन्छ ?


  • जनसवाल
  • बुधबार, कार्तिक १ २०८०
3.1K
SHARES

नियम भुजेल
यति बेला गैरआवासीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलनले संसारभरका गैरआवासीय नेपालीहरूलाई छपक्कै छोपेको छ । एक हजार भन्दा बढी एनआरएनएहरू काठमाडौँमा भेला भएर अभियानमा सक्रिय बनेको अवस्था छ भने विश्वभरमा रहेका एनआरएनए डेलिगेट्सहरु योग्य र सक्षम नेतृत्व चयन गर्ने तरखरमा छन् ।
एनआरएनएको निर्वाचन अन्तरगत नयाँ नेतृत्वका लागि अध्यक्ष द्वय डा बद्री केसी र रविना थापा तथा उपाध्यक्षद्वय आरके शर्मा र महेश श्रेष्ठको उम्मेदवारी रहेको छ । सोहीअनुसार चुनावी अभियान चल्दै गर्दा यस सेरोफेरोमा केही धारणा पेश गर्ने जमर्को गरेको छ । विगत १५ वर्षदेखि म कतार मै कार्यरत छु, कतार मेरो लागि पनि अरूको जस्तै मातृभूमिपछिको सबैभन्दा प्यारो कर्मभूमि हो, कतारमा मैले धेरै कमाएको छु र सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति कमाएको भनेको नेपाली समाज हो, जुन समाजले मलाई ‘मबाट हामी’ बन्न र भन्न सिकाएको छ ।
कतारको नेपाली समुदाय र समाज अनि यो समाजको सामाजिक ब्याक्तित्वहरुले समुदायका लागि धेरै मिहिनेत गरेका छन् । यति योगदानको कदर हुने थियो भने कतारका केही अभियान्ताहरुलाई त सम्मान हैन उनीहरूको नाम मात्र लिँदा पनि आफैमा गर्वको महसुस गर्न सक्नुपर्ने हो भन्ने लाग्छ । तर कहिलेकाहीँ तिनै सामाजिक अभियान्ताहरुको व्यक्तिगत र व्यावसायिक कमजोरी खोज्दै हिँडेको देख्दा दुख लाग्छ। जहाँ साथ, सहयोग र समर्थन चाहिने हो त्यहाँ अपमानित भएको महसुस गरेका पनि होलान् । साथीहरूले साथ छोडेका पनि होलान् तर ती अभियान्ताहरुले आज पनि समाज छोडेका छैनन्, जुन कुराबाट मजस्तो अलिअलि समाजमा लाग्ने मानिसले धेरै कुरा सिक्न सकिन्छ र सिक्दै छु।
समुदायका लागि दिलोज्यानले दिनेमध्येका एक हुन्, आरके शर्मा । गैरआवासीय नेपाली संघको अध्यक्ष पदका उम्मेदवार शर्मा दोहाको नेपाली समाजमा दोस्रो पुस्ताका सामाजिक व्यक्तित्व हुन्, केहीबर्षदेखि मैले उहाँको सामाजिक गतिविधिलाई धेरै नजिकबाट नियालेको छु । समाजलाई माया गर्ने मान्छे मात्र हैनन् आफैमा एक अनुशासित र असल मानिस हुन् । दुखपछिको सुख भोग्दै गर्दा समाजलाई आफ्नो सुख बाँड्न कहिल्यै पनि पछि नपर्ने मान्छे हुन्, जसरी उनको व्यापारिक पाटोले आकाश छुँदै छ त्यसरी नै यता समाजमा सामाजिक जिम्मेवारी निभाउन पनि अग्रसर छन् । कोही पनि आफैमा पूर्ण हुँदैनन् तर शर्माले भने पूर्ण समाजको अहोरात्र चिन्तन मनन गर्ने गरेको पाएको छु।
एनआरएनएको इतिहासमा कतारको नाम सधैँ उच्च रहँदै आएको छ, त्यसका लागि अभियान्ताहरुको नै त्याग र मिहिनेतलाई सम्मान साथ स्वीकार गर्नुपर्छ, खाडीमा कार्यरत सम्पूर्ण नेपालीहरूको मुद्दा र तिनका आवाज बनेर बोल्ने ब्यक्तिहरु परिवर्तन हुने हो । तर मुद्दा र आवाज परिवर्तन हुँदैन र त्यसको लागि समयसमयामा सच्चा लिडर अग्रसर रहँदै आएको छ र यो पटक शर्माले नै त्यो मुद्दा र साझा आवाज बोकेको मैले बुझेको छु, । हो एनआरएनए जस्तो ग्लोबल अर्गनाइजेसनमा खाडीको कुरा मात्र गर्दा अनौठो लाग्ला । तर जसरी आफ्नो घरपरिवार र तिनको महत्त्व नबुझेका मान्छेले छिमेकीको साथ र सम्मान गर्न सक्दैन त्यसरी नै आफ्नै कर्मथलो र क्षेत्र नबुझेका लिडरले विश्व बुझ्न र बुझाउन सक्दैन भन्ने हो । तर शर्माले कतारबाट सुरु गरेको सामाजिक यात्रा खाडी र मलेसिया हुँदै संसारभर पुगेको छ ।
विगत ३–४ महिनामा मात्र हाम्रो क्षेत्रको समस्या र महत्त्वको वकालत गर्दै ४० देश पुगेका छन् र ती देशहरूको साझा मुद्दाहरूको राम्रो अध्ययन गर्न सफल भएका छन् । त्यसैले शर्मा आजको नेपाली ड्याएसपोराको पूर्ण जिम्मेवारी उठाउन सक्ने लिडर हुन भन्न सक्छु । मैले अरूले सक्दैन भन्न खोजेको पनि हैन तर यो समय र परिस्थितिले शर्मालाई नै खोजेको छ भन्ने लाग्छ।
खाडी भनेर हेप्नेहरूका लागि र मात्र बरु बिचरा खाडी भनेर दया देखाउनेहरूको लागि पनि यो पटक खाडी र मलेसियामा कार्यरत लाखौँ नेपालीहरूको अस्तित्व र महत्त्वको प्रतिनिधित्व गर्न शर्मालाई जिम्मेवारी दिलाउन सक्नुपर्छ । शर्माको जितले सम्पूर्ण समस्याहरू समाधान गर्छ भन्न सक्दिनँ तर वर्षौँ उठदै र उठाउँदै आएको महत्त्वपूर्ण मुद्दाले न्याय पाउने छ । त्यो भनेको खाडी र मलेसियामा काम गर्ने नेपालीहरू त एनआरएनए नै हैनन् भन्दै आफै पानी धमिलो बनाउँदै माछा मार्ने धन्दामा लागेका छन्दभेषीहरुलाई गलत साबित गर्दै मध्यपूर्व र मलेसियाका नेपालीहरू नै वास्तविक एनआरएन हुन् भनेर प्रमाणित गर्नेछन् ।
म बिचारले फरक हुन सकुँला । शर्माको आस्थासँग पनि मेरो आस्था नमिल्दा । तर यति बेला मेरो आस्था रहेको पार्टीको पूर्ण सम्मान गर्दै एनआरएनएको भलो चिताएको मात्र हुँ । एनआरएनएलाई नै पार्टीहरूको भ्रातृ सङ्गठन बनाउन खोज्दा आज एनआरएनएमात्र कमजोर भएको छैन बरु विदेशतिर भएको राजनीतिक संघसंगठनहरु नै विवादित र विभाजित बनेको अवस्था छ । त्यसैले मैले यो पटक आस्थालाई आँच आउन नदिई एनआरएन भन्ने साझा सामाजिक संस्थालाई भावनात्मक र सांगठानिक रूपमा बलियो बनाउन शर्माको पक्षमा उभिने निर्णय लिएको छु । तपाई सबै मतदाताहरु पनि एक पटक आरकेको बारेमा सोच्नुहुन अनुरोध गर्दछु । भुजेल कतारस्थित सामाजिक अभियन्ता हुन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट