काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार आरके शर्माको पक्षमा माहौल बढ्दै गएपछि उनलाई सबैलाई मिलाएर लैजान टिम व्यवस्थापनमा चुनौती थपिएको छ । अर्का प्रतिस्पर्धीहरु डा बद्री केसी र महेश श्रेष्ठको टिममा रहेका भनिएका उम्मेदवारहरू समेत पछिल्लो समय आरकेको टिममा जान चाहेपछि व्यवस्थापनमा चुनौती थपिएको हो । आरकेको पक्षमा दिनहुँ माहौल बढ्दै गएपछि चुनाव जित्न सहज हुने अपेक्षाका साथ विभिन्न पदका उम्मेदवारले आरकेको टिममा जान पहल थालेका हुन् । उनिहरुले विभिन्न ब्यक्तिहरुको प्रयोग गर्दै उक्त समुहमा पारिदिन आग्रह गर्दै आएका छन । त्यसका लागि आरकेसहित, चुनावी कमाण्डर डीबी क्षेत्री,शनिकुमार ओली,वेद खरेललगायतसँग उनीहरूले निरन्तर सम्पर्क बढाइरहेका छन् ।
आरके टिममा हालसम्म उपाध्यक्षलगाएत धेरै पद टुंगिएको अवस्था छ भने अन्य पदका उम्मेदवार टुंगो लागेपनि संख्या बढी भएकाले सार्वजनिक गरिसकेको छैन । यहीबीचमा उम्मेदवारहरूको लर्को लाग्न थालेपछि व्यवस्थापनमा चुनौती थपिएको आरकेको सचिवालयले जनाएको छ । आरके टिमबाट एमाले निकट मानिएका धर्मराज अधिकारीले टिकट दिन निरन्तर आग्रह गर्दै आएका छन् । जबकि उनलाई बद्री केसी टिमका बलियो उम्मेदवारको रुपमा हेरिएको थियो । यस्तै उपाध्यक्ष पदमै गणेश केसी आरकेको टिममा आउन चाहेका छन् भने महासचिवमा पनि विभिन्न पात्रहरुले चासो देखाइरहेका छन् । बद्रीको टिमबाट महासचिव बनेका गौरी जोशीका साथै महेशको टिमका बुद्धि सुबेदीले पनि लबिङ गरेका छन् । तर, आरके टिमले अहिलेसम्म महासचिव फाइनल गरेको छैन उक्त पदको रिमोट शर्मा समुहमै रहेको छ । यस्तै उपमहासचिवमा पनि सोम सापकोटा, सन्तोष भट्टराई, कृष्ण गिरी,प्रमोद सिटौलालगायतले लबिङ गरिरहेका छन् । यसबाहेकका पदमा पनि उस्तै लबिङ रहेकाले अब कसरी सबैलाई मिलाएर जाने भन्नेमा आरके टिम आन्तरिक छलफलमा रहेको बताईएको छ ।
आरकेको टिममा करिब ६० प्रतिशत कांग्रेस निकटका उम्मेदवार रहेका छन् भने विभिन्न देशमा सक्रिय एनसीसीका अध्यक्षहरु पनि आरकेकै पक्षमा खुलेका छन । उसो त क्षेत्रीय संयोजक पदमा आरके समूहको सहयोग बिना चुनाव जित्न संभव नहुने भएपछि विभिन्न देशमा आरकेको महत्त्व थप बढ्नुका साथै यसका लागि सहकार्य पनि हुने भएको छ । जसका कारण आरकेलाई युरोप र अमेरिकालगायतका देशबाट राम्रो भोट आउने आँकलन गरिएको छ । एनआरएनएमा कांग्रेसको समर्थनमा महेश श्रेष्ठले उम्मेदवारी दिएपनि ठूलो संख्यामा उम्मेदवार आरकेतिरै आएका छन् । यस्तै बद्रीको टिममा भने एमाले निकटको बोलबाला छ ।
आरके शर्मालाई कतिपयले माओवादी निकट भनेर आरोप लगाएपनि उनी स्वयंले भने आफूलाई सबै दलको समर्थन रहेको बताउँदै आएका छन् । उनको टिममा सबै पार्टीको समर्थन र उम्मेदवारको आकर्षणले पनि उनको दाबीमा बल पुगेको छ । आरकेको टिमबाट हालसम्म उपाध्यक्ष पदमा खगेन्द्र न्यौपाने, रोविन्द्र प्रसाद श्रेष्ठ (गोविन्द), राजु रेग्मी (राज), विजय मोक्तान, अभिमानसिंह बस्नेत, शशीकान्त पौडेल उम्मेदवार टुंगिएका छन् । यस्तै युवा उपाध्यक्षमा अब्दुल बासिद उम्मेदवार रहेका छन् । महिला उपाध्यक्षमा रोजिना प्रधान राई र यास्मिन बेगममध्य एक जना पर्ने छन । बेगम मध्यपुर्वकै उम्मेदवार भएपनि अन्तिम अवस्थामा आरकेलाई धोखा दिएर टिम एमालेमा प्रवेश गरेपछी उनी विवादमा तानिएकी छन । उनको बिषयमा छिट्टै निर्णय गर्ने आरके सचिवालयले जानकारी गराएको छ ।
यसैगरी उपमहासचिव पदमा प्रविन गुरुङ,सचिवमा लोक दाहाल,मनोज कुमार श्रेष्ठ (गोर्खाली), टंक गैरे, रामसी पोखरेल, कोषाध्यक्षमा ठाकुर ढुंगाना, महिला संयोजकमा देविका केसीको शर्मा टिमबाट उम्मेदवारी रहने निश्चित भएको छ । सहकोषाध्यक्षमा तिलक गैरे,कृष्ण तिमल्सिना र मोहम्मद मुक्तदा मुसलमानको नाम अग्रपंक्तीमा रहेपनी आज निर्णय गरिने सचिवालयले जनाएको छ ।
यस्तै सहकोषाध्यक्ष (महिला) मा तृष्णा काफ्ले (शर्मा) को उम्मेदवारी रहनेगरी टुंगिएको छ । हालसम्म सो टिमबाट आरकेले शुक्रबार नै उम्मेदवारी दर्ता गराइसकेका छन भने बाँकी उम्मेदवारहरुले सोमबार उम्मेदवारी दर्ता गराउनेछन् ।