आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मेनपावर व्यवसायीद्धारा अध्यागमन विभाग घेराउ

आइतबार, असार ३१ २०८०

काठमाडौं(जस)–वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई पटकपटक रोकेको भन्दै मेनपावर व्यवसायीले आइतबार अध्यागमन विभाग घेराउ गरेका छन् । वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागतरूपमा श्रम स्वीकृत लिएर कुवेत, जोर्डनलगायतका देशमा जान लागेका कामदारहरूलाई त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले विनाकारण फर्काएको भन्दै आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध जनाएका हुन् ।
व्यवसायीले अध्यागमनका महानिर्देशकको राजीनामा पनि मागेका छन् । विभिन्न प्लेकार्ड सहित विभाग पुगेका व्यवसायीले बिना कारण श्रमिकलाई दुख दिएको भन्दै अध्यागमन विभाग प्रमुखको राजीनामा मागेका थिए । “डिजि होइन दलाल हो, भिजिट भिसा बन्द गर, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुख दिने काम बन्द गर,व्यवसायी दुख दिने काम बन्द गर” लगायतका नारा सहित घेराउ गर्न पुगेका व्यावसायीले पछिल्लो समय अध्यागमन विभागले गरेको ज्यादतीको छानबिन नभए थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा समेत गरेका छन् ।
श्रम गरेर वैदेशिक रोजगारीमा हिडेका नागरिकलाई पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले भिसामा संका देखिएको भन्दै नागरिकलाई एयरपोर्टबाट फिर्ता गर्दै आएको छ । श्रम गरेर वैदेशिक रोजगारीमा हिडेका नागरिकलाई अध्यागमनले फिर्ता गरेपछि त्यसको बिरोधमा व्यवसायी आन्दोलित भएका छन् ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले विनाकारण अध्यागमनका कर्मचारीले कामदारलाई रोकेकाले विरोध गर्नुपरेको बताए । अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरूलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने भण्डारीले चेतावनी दिए । कामदारलाई विदेश जान नदिने हो भने व्यवसाय नै बन्द गर्ने चेतावनी दिए ।
उनले भने, ‘१९० जनाभन्दा बढीको संख्यामा फर्काइसकिएको छ । यसको जिम्मा लिएर क्षतिपूर्ति नदिएसम्म यहाँको महानिर्देशकले यसको नैतिकरूपमा जिम्मेवारी लिएर छानबिन गरेर कारबाही नगरेसम्म हामी बन्द गर्नेछौं । कामदारको जुन क्षति भएको छ, त्यसको क्षतिपूर्ति व्यहोर्नुपर्छ ।’ आन्दोलनकारीहरूले अध्यागमनमा हुने अनियमितता छानबिन गर्, अध्यागमनबाट श्रमिक फर्काउने कार्य बन्द गर, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिने काम बन्द गर्, भिजिट भिसामा हुने सेटिङ बन्द गर, अध्यागमनको ज्यादती बन्द गर, अध्यागमनका महानिर्देशक राजीनामा दे, व्यवसायीलाई दुःख दिने कार्य बन्द गर्लगायतका प्लेकार्ड बोकेर नारा लगाउँदै विरोध जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार