काठमाडौँ(जस)–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यामागमन कार्यालयले ठूलो संख्यामा वैदेशिक रोजगारमा जान लागेका नेपाली कामदारलाई नेपाल एअरपोर्टबाट गन्तव्य देश जान नदिई फिर्ता पठाएको छ । बुधबार बेलुका शंकाकै आधारमा अस्पष्ट पत्र थमाएर विमानस्थल कार्यालयले कामदारहरुलाई प्रस्थान अनुमति नदिई फिर्ता पठाएको हो । कागजातहरु शङ्कास्पद देखिएपछि कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको दाबी छ । कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते १०१ र बिहीबार १८ जना गरी १५६ जनालाई फर्काइएको हो ।
उक्त कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत झङ्कनाथ ढकालले उनीहरुको भिसा परीक्षण गर्दा कतिपयको ‘वेटिङ फर एप्रुभ’ भनेको भेटिएको, कतिपयको व्यक्तिगत श्रम स्वीकृतिमा जान लागेको देखिएको तर राजदुताबासबाट श्रम स्वीकृतिको बोधार्थ प्राप्त नभएको तथा एउटा देशमा जाने भनेर कागजात पेश गरिएको तर उसको भिसा अर्कै देशको रहेको पाइएकोलगायतका समस्याहरु देखिएको बताए ।
उनले भने, “यी कागजातहरु सही हुन पनि सक्छन् र गलत हुन पनि सक्छन्, तर कागजात शङ्कास्पद देखिएकाले रोकिएका छन्, यस विषयमा वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालयसँग समन्वय गरेरमात्रै के रहेछ निक्र्र्येल हुनेछ ।” त्यसअघि जोर्डन जान लागेका १५ जनालाई पनि यसैगरी फिर्ता गराइएको थियो । उनीहरुको विषयमा पनि निर्णय भइसकेको छैन ।
तर, विमानस्थलबाट फिर्ता पठाइएका पीडितहरुबाट प्राप्त प्रमाणको आधारमा उनीहरु बिभिन्न म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारमा गएको पाइएको छ । जसमध्ये बुधबार बेलुका फर्काईएकाहरुमा निलकमल ह्युमनबाट गएका २४ जना, इन्डेक्स म्यानपावरबाट गएका ४७ जना, युथ म्यानपावरबाट गएका ३२ जना रसुलभ म्यानपावरबाट गएका ४ जना फिर्ता भएका हुन् । पीडितहरुबाट प्राप्त भएको भिसा जो कोहिले भेरिफाई गर्न सक्ने साथै पासपोर्ट नम्बरको आधारमा संस्थागतरुपमै श्रम स्वीकृति लिएको पाइएको छ ।
पीडितहरुले ‘कागजात संकास्पद’ भएको अनुमानकै भरमा खादा÷माला लगाएर वैदेशिक रोजगारमा उड्न गएकाहरुलाई फर्काउनु स्वभाविक विषय नभएको बताएका छन् । सबै प्रक्रिया पुरा गरि वैदेशिक रोजगारमा जान खोज्दा पनि अध्यागमनले रोकेको बिषय दुःख दिने नियत मात्र रहेको पीडितको भनाई छ । ‘विमानस्थल अध्यामागमन कार्यालयमा सेटिङ गरेर पठाउँदा सबै पास हुने तर प्रमाणित हुने कागजात बोकेर जाँदा पास नहुने रहेछ,’ एक पीडितले आक्रोश पोखे ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बिना कारण ११० जना वैदेशिक रोजगारमा जानेहरुलाई विमानस्थलले दुःख दिएको र उनिहरुको ननरिफण्डेबल टिकट त्यतिकै खेर गएको बताए । विमानस्थलमा सेटिङ चल्ने विषय पहिलेदेखिनै गुनासोको रुपमा सुनिदै आएका विषय हुन् । यस सम्बन्धमा सम्बन्धित म्यानपावर कम्पनीहरुसँग समेत भेरिफाई गर्दा कुनै कागजात फेक नबनाएको, प्रक्रिया पुरा गरेरै वैदेशिक रोजगारको प्रक्रियामा पठाएको र विमानस्थलले रोक्नुपर्ने कुनै कारण नरहेको बताएको छ ।
त्यसो त संस्थागत रुपमा रोजगारमा गएको नागरिकलाई विदेश पुगेपछि आउने समस्याको समाधानको जिम्मेवारी वैदेशिक रोजगार बिभागको कार्यक्षेत्रभित्र पर्ने र संस्थागत रुपमा हुने श्रम स्वीकृति सम्बन्धित देशमा रहेको दुतावासबाट प्रमाणीकरण भई बिभागबाट श्रम स्वीकृति समेत लिई आउने हुँदा कामदारलाई आइपर्ने समस्याको स्पष्ट कानुनी उपचार पाउने आधार हुन्छ । साथै कामदार बिदेशमा गई अलपत्र परेको खण्डमा कारवाहीको लागि म्यानपावर आफैमा भागिदार हुने अवस्था छ । विमानस्थलले सबै प्रमाणित कागजात हुँदाहुँदै पनि विमानस्थलबाट अनुमानकै भरमा रोक्नुले जो कोहि नागरिक वैदेशिक रोजगारमा जाँदा बिना कारण बिमानस्थलको संकास्पद पत्रको आधारमा वैदेशिक रोजगारमा जान नपाउने अवस्थाको निरन्तरता रहने बुझिएको छ ।
