आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रधानमन्त्रीको राजीनामा सोच्न पनि सकिँदैन- मन्त्री शर्मा

राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

शुक्रबार, असार २२ २०८०

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा सोच्न पनि नसकिने र उनले राजीनामा पनि नदिने प्रष्ट पारेकी छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा उनले सम्बन्धित व्यक्तिले प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट पारिसकेकाले यो उठाउनुपर्ने विषय होइन भन्ने प्रमाणित भएको बताइन् ।

“प्रधानमन्त्रीले धेरै पहिलेको प्रसङ्ग उल्लेख गरेकी हुन् । सम्बन्धित व्यक्तिले पनि यसबारेमा स्पष्ट पारिसक्नुभएको छ, यो उठाउनुपर्ने विषय होइन भन्ने प्रमाणित भएको छ । प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय पनि होइन, उनले राजीनामा पनि दिनुहुँदैन”, मन्त्री शर्माले भनिन् ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री दाहालले एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको छ ।

मन्त्री शर्माले एमालेले संसद् अवरुद्ध गरिरहँदा सरकारले ल्याएको मिटरव्याज विरुद्धको अध्यादेश निष्क्रिय हुन पुगेको उल्लेख गर्दै यो प्रधानमन्त्रीले राजीनामा दिने विषय नै नभएको बताइन् ।

“एउटा कार्यक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई आधार बनाएर संसद् अवरुद्ध गर्न हुँदैन”, उनको भनाइ थियो ।

राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकबाट परियोजना सहायताको रुपमा तीस करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

यही असार १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भन्सार तथा लजिष्टिक सुधार कार्यक्रमअन्तर्गत एसियाली विकास बैंकबाट बजेट सहायताको रुपमा प्राप्त हुने पाँच करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले एमसिए–नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सवस्टेसनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि–२०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

सरकारले पुष्पपाल (मध्यपहाडी) राजमार्ग आयोजनाअन्तर्गत सडक सीमा रेखाभित्र पर्ने कास्कीको रुढीखोला–भैँसे सडक खण्डका घर/टहरा हटाउन स्वीकृति दिएको छ ।

त्यस्तै, बैठकले थाइल्याण्डको बैंककमा हुने शिक्षासम्बन्धी उच्चस्तरीय कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीलाई सहभागी हुन स्वीकृति दिएको छ । यस्तै बैठकले निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने तथा नेपाल न्याय सेवा, कानून समूहको राजपत्राङ्कित प्रथम श्रेणीका सात अधिकृतको सरुवा गर्ने निर्णय गरेको छ ।

बैठकले हुलाक बचत बैंकमा रहेका बचतकर्ताको खाताहरु राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार