काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि विसं २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको निम्ति आदेश जारी गर्ने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
काठमाडौंका प्रजिअ घनश्याम उपाध्याय सचिवमा बढुवा
सरकारले सहसचिव घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपिरषद्को आज (मंगलबार) को बैठकले अहिले काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेत रहेका उपाध्यायलाई विशिष्ट श्रेणीमा बढुवा गरेको हो ।
२०५४ सालमा नायब सुब्बाबाट सेवा प्रवेश गरेका उपाध्याय त्यसपछि शाखा अधिकृत, उपसचिव हुँदै सहसचिवका रुपमा कार्यरत छन् । उपाध्यायसँग महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लक्ष्मी बस्नेत र चीनको छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेश घिमिरे बढुवाका प्रत्यासी थिए ।
लोकसेवा आयोगको बढुवा सिफारिस समितिले तीन जनाको नाम पठाएकोमा मन्त्रिपरिषद्ले पहिलो नम्बरमा सिफारिस भएका उपाध्यायलाई बढुवा गरेको हो ।