मस्कट(जस)– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अफगानिस्तान र इराकमा पनि वैदेशिक रोजगारी खोल्नुपर्ने बताए्का छन् । ओमानको राजधानी मस्कटमा आयोजित आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा श्रमिकका समस्या र रेमिटयान्सबारे बृहत छलफल कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले दौत्य सम्बन्ध भएका सबै देशसँग श्रम सम्झौता गर्नुपर्ने बताए ।
‘दौत्य सम्बन्ध भएका सबै देशसँग श्रम सम्झौता हुनुपर्छ । अफगानिस्तान र इराकमा पनि वैदेशिक रोजगारी खोल्नुपर्छ’, उनले भने, ‘वैदेशिक रोजगार विभागमा २० हजार ठगी मुद्दा छन् । ठगीको विकराल समस्या छ । समाधान गर्न टास्क फोर्स बनाइएको छ ।’
‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रीय परिषद्को मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद् ओमानको अतिथ्यतामा ओमानको मस्कटस्थित होटेल मस्कट होलिडेमा सम्मेलन आयोजना भइरहेको छ । बुधबारबाट सुरु भएको सम्मेलनको दोश्रो दिन प्यानल डिस्कसन भएको हो । सो प्यानल डिस्कसनमा मध्यपूर्वका सबै एनसीसीले आ–आफ्ना क्षेत्रका श्रमिकका समस्या र समाधानबारे सम्बन्धित मन्त्री र सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए ।