काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को आज (मंगलबार) बसेको बैठकले बैठक सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ ।
बैठकले रास्कोट नगरपालिका–६ कालिकोट, नरहरिनाथ गाउँपालिका–२ कालिकोट, राप्तीसोनारी गाउँपालिका–४ बाँके, रम्भा गाउँपालिका–३ पाल्पा, शीतगंगा गाउँपालिका–१३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका–५ पर्सा र महागढीमाई नगरपालिका–५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । आजको बैठकले राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरी लामाको सुदूरपश्चिम र तिमिल्सिनाको कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय गरेको छ ।