आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

राप्रपाले प्रवासी नेपाली समाजको अधिवेशन गर्ने

सोमबार, असार ११ २०८०

काठमाडौँ(जस)–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रवासी नेपाली एकता समाज (पानस)को अन्तर्राष्ट्रिय भेलाले आगामी कात्तिक १० र ११ गते अन्तर्राष्ट्रिय समितिको अधिवेशन नेपालमा गर्ने निर्णय गरेको छ । राप्रपाका ४० भन्दाबढी देशमा रहेका सङ्गठनका प्रतिनिधिले भर्चुअल बैठकबाट गरेको छलफलमा आगामी भदौ ११ गतेभित्र राष्ट्रिय समन्वय समितिको अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको हो । विभिन्न देशमा हुने राष्ट्रिय समन्वय समितिको अधिवेशनमा पार्टीको नेतृत्व तहको कार्यतालिका बनाइ सहभागी गराउने विषयमा पनि बैठकमा छलफल भएको छ ।
विश्वका विभिन्न देशमा रहेका प्रवासी नेपाली एकता समाजका अगुवा कार्यकर्ताको भेलालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्दै पार्टीको एजेन्डाका पक्षमा प्रवासमा रहेका नेपालीको चासो, चिन्ता र सरोकारले पार्टीको वैचारिक पक्ष सबल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मुलुकको विकास र समृद्धिका लागि प्रवासमा रहेका नेपालीको सहयोग र योगदानको सराहना गर्दै साङ्गठनिक विस्तारका लागि प्रवास विभाग, पानसको राष्ट्रिय र अन्तर्राष्ट्रिय समितिले आवश्यक कार्ययोजना बनाउनुपर्नेमा उनले जोड दिए । अन्तर्राष्ट्रिय समन्वय समिति (पानस)ले कार्यक्रमको संयोजन गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । यसअघि काठमाडौँमा पानसको अन्तर्राष्ट्रिय समिति र केन्द्रीय प्रवास विभागको संयुक्त बैठकले राष्ट्रिय समन्वय समिति र अन्तर्राष्ट्रिय समितिको अधिवेशन गर्ने निर्णय गरेको पार्टीका प्रवास विभाग प्रमुख आनन्द अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार