काठमाडौँ(जस)–ईपीएस कोरिया शाखाले भाषा परीक्षा सञ्चालन नगर्न एचआरडी सर्भिस अफ कोरियालाई लिखित जानकारी पठाउने भएको छ । शाखाले आइतबार सूचना जारी गर्दै हाल रोस्टरमा भएका रिटर्नी कामदारको अधिकतम छनौट नभएसम्म नयाँ भाषा परीक्षा सञ्चालन हुन उपयुक्त नहुने भन्दै एचआरडी सर्भिस अफ कोरियालाई लिखित जानकारी पठाउने जनाएको हो । शाखामा आइतबार परीक्षामा उत्तीर्ण भएका युवाले कोरिया जान पाउनुपर्ने माग गर्दै जुलुस गरेका थिए । परीक्षामा पास भए पनि लामो समयदेखि जान नपाएका र नयाँ मात्रै लगिरहेको अवस्थामा सयौंको संख्यामा उपस्थित भई युवाहरुले आन्दोलन गरेका थिए । आन्दोलन चर्किएसँगै शाखाले नयाँ परीक्षा सञ्चालन गर्न नहुने निष्कर्ष निकालेको छ ।
‘रोजगार अनुमति प्रणालीमार्फत कोरियामा एक कार्यकाल पूरा गरी फर्किएर पुनः युबीटी परीक्षा उत्तीर्ण गरी रोस्टरमा नाम समावेश भई हालसम्म छनौटमा पर्न नसकेका युवाको सम्बोधन गरी पेस गरेको ज्ञापनपत्रका सम्बन्धमा यस शाखाको ध्यानाकर्षण भएको छ,’ जारी सूचनामा उल्लेख छ । शाखाले कामदार छनौट गर्दा फस्ट कम फस्ट सर्भिसका आधारमा रोजगारदाताबाट छनौट प्रक्रिया सञ्चालन गर्न एचआरडीलाई अनुरोध गर्ने र रिटर्नी कामदारका समस्या एवं महिला कम छनौट भएको विषयसमेत समाधानका लागि यस शाखाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत दक्षिण कोरिया सरकारसमक्ष कूटनीतिक पहल गर्न अनुरोध गर्ने प्रतिबद्धता जनाएको छ ।
त्यस्तै, युबीटी परीक्षा उत्तीर्ण गरी रोस्टरमा समावेश भएका कोरिया रिटर्नीहरुको नाम उनीहरुले अन्तिममा काम गरेको कम्पनीमा सिफारिस गरी पठाउन मिल्ने व्यवस्था मिलाउन एचआरडीलाई अनुरोध गर्ने र सिपबिल्डिङ क्षेत्रमा ज्यादै न्यून छनौट भएमा उनीहरुलाई पुनः उत्पादनमूलक क्षेत्रमा परिवर्तन गर्न पाउने व्यवस्था मिलाउन अनुरोध गर्ने जनाइएको छ ।