काठमाडौं(जस)–बैदेशिक रोजगार विभागले काठमाडौँको कालोपुलमा रहेको वाहा मेनपावरमा आकस्मिक छापा मारेको छ । निशुल्क रोजगारीको प्रलोभन देखाई सार्वजनिक सूचना प्रकाशन गर्ने तर त्यही सूचना हेरेर अन्तर्वार्ता दिन आएका सयौं व्यक्तिहरुसंग मोटो रकम असुलेको उजुरी बैदेशिक रोजगार विभागमा परेपछि विभागले मेनपावरमा बुधबार आकस्मिक छापा हानेको हो ।
वाहा मेनपावर कम्पनीले कतारमा निशुल्क रोजगारीको अवसर भन्दै गएको साता कालोपुलस्थित आफ्नो कार्यालय परिसरमा सयौं युवा–युवतीको अन्तर्वार्ता गरेको थियो । २ सय २० जनाको माग भन्दै हजार बढी युवा–युवतीको भीड जम्मा गरेको मेनपावरले प्रत्येक एक जनासंग कम्तीमा १ लाख ८० हजार देखि बढिमा २ लाख ५० हजार सम्म असुली गरेको पाइएको विभाग स्रोतले बताएको छ ।
निशुल्कको नाममा सार्वजनिक सूचना प्रकाशन गरेर मोटो रकम असुल्ने प्रपन्च रचेपछि अन्तर्वार्ता दिन पुगेका केही युवा–युवतीहरु ठगिएको भन्दै विभागमा लिखित उजुरी पनि दिएका छन् । ठगिएको लिखित उजुरी नै परेपछि विभागले सो मेन पावर सप्लाएर्सलाई लिखित स्पष्टीकरण सोध्दै आकस्मिक छापा हानेको छ । विभागको अनुगमन तथा अभिमुखिकरण शाखाका अधिकृत धर्मराज लम्साल नेतृत्वको टोलीले मेनपावरको कार्यालयमा छापा हानेको हो । आकस्मिक छापाका क्रममा टोलीले मेनपावर कम्पनीका सबै कोठा–कोठा पुगी काजगपत्र तथा दराजहरु चेकजाँच गरेको थियो । सम्पूर्ण विवरण दिन आदेश दिएको टोलीले लेखा तथा सबै विभागमा समेत चेकजाँच गरेको थियो । एउटा घरको दुइवटा फ्लाट भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको वाहा मेनपावरले सरकारी मापदण्ड पनि पुरा नगरेको भेटिएका छ ।
मेनपावर कम्पनीमा हुनुपर्ने जति सबै शाखाहरु पनि नभएको पाइएको थियो । मापदण्डबमोजिम कार्यालय प्रांगणमा दुईवटा पब्लिक शौचालय पनि मेनपावर कम्पनीले व्यवस्था गरेको छैन । पुरुष शौचालय त्यहाँ व्यवस्था गरिएको भएपपनि महिला शौचालय चाहिं बाहिर व्यवस्था गरिएको थिएन । माथि परिवार बस्ने घरको दुईवटा फ्ल्याट प्रयोग गरिरहेको वाहा मेनपावर कम्पनीले आफुहरुले त्यस्तै अनुमति लिएको बताएको छ । विभागको टोलीले आकस्मिक छापा मारेपछि अत्तालिएका मेनपावरका कर्मचारीहरु आफुलाई खबर नगरिएको र पत्रकारलाई पनि साथमा लिएर आएको बारे प्रश्न गरेका थिए ।
विभागको टोलीले कारवाही प्रक्रिया अघि बढिसकेको बताउँदै बुधबार कार्यालय समय सुरु हुनेबितिकै सञ्चालक सम्पूर्ण विवरणसहित हाजिर हुन आदेश दिएको छ । वाहा मेनपावर सप्लायर्सका सञ्चालक उदय बस्नेतले सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुनेछु भन्ने व्यहोराको निवेदन हस्ताक्षर गरेर दिएपछि विभागको टोली फर्किएको थियो । सर्वसाधारण युवा–युवतीसँग निशुल्क कतार लैजाने भन्दै चर्को शुल्क असुलेको व्यापक गुनासो बिभागमा आएपछि विभागले आकस्मिक छापा मार्नुका साथै वाहामाथिको छानविनसमेत सुरु गरेको छ ।
विभागका प्रवक्ता गुरुदत्त सुवेदीले वाहामाथि कारवाही प्रक्रिया अघि बढिसकेको जानकारी दिएका छन् । नेपालस्थित यो मेनपावर भारतको वाहा मेनपावरको एजेण्टको रुपमा काम गरिरहेको छ । नेपाली युवा–युवती जम्मा गरेबापत निश्चित कमिशन आफुले लिँदै नेपालीहरुसँग उठाएको चर्को रकम सबै अबैधबाटोबाट वाहा मेनपावरले भारत पठाउने गरेको आशंका गरिएको छ ।