गोरखा । शहिद लखन गाउँपालिका वडा नं ३ सिलिङ्ग कोटगाउँमा भएको दुर्घटनामा परि ज्यान गुमाएका व्यक्तिका परिवारजनसँग गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले भेट गर्नुभएको छ । शहिद लखन गाउँपालिका अन्तर्गत उहाँकै निवासमा पुगेर परिवारलाई समवेदना प्रकट गर्नुभएको हो । उक्त दुर्घटनाबाट ज्यान गुमाउनुभएका प्रवीण थापा, निरज थापा, विर बहादुर थापा मगर, नबिना थापा र थनबहादुर थापाको परिवारलाई भेटेर घटनाको बास्तविकता, पारिवारिक अवस्थाको बारेमा जानकारी लिई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा, उपाध्यक्ष इन्दिरा तिवारी, जिल्ला समन्वय उपप्रमुख लिला परियार, सहिद लखन गाउँपालिका वडा नं. २, ४ र ५ का वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायतले मृतकका परिवारजनलाई भेटेर समवेदना प्रकट गर्नुभएको थियो ।
गोरखा जिल्लाका बिभिन्न ठाउँहरुमा भएका यस्ता जोखिमपूर्ण बाटोहरुको स्तरोन्नति गर्न र भविष्यमा हुन सक्ने दुर्घटना जोखिमलाई न्यूनीकरण गर्न सम्बन्धित निकायहरुले ध्यान दिन उहाँले आग्रह समेत गर्नुभएको छ । शहिद लखन गाउँपालिका वडा नं. ३ मा ५ जनाको ज्यान जानेगरी भएको यो अत्यन्त दुःखद् घटनाप्रति दुःख व्यक्त गर्दै सबै सजक र चनाखो भएर सवारी चलाउन र सडकको भौगोलिक अवस्था हेरेर यात्रा गर्न समेत उहाँले सबैमा आग्रह गर्नुभएको छ ।