काठमाडौँ(जस)–संविधान प्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका हुन् ।
सोमबार राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरी समाजवादी मोर्चा घोषणा हुनेछ । बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठका अनुसार आइतबारको बैठकमा समाजवादी मोर्चा र त्यसको न्यूनतम कार्यक्रमका बारेमा आवश्यक सहमति भएको छ ।
समाजवादी मोर्चा बनाउने प्रयास धेरै पहिलेदेखि भए पनि औपचारिकता भने पाउन सकेको थिएन । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महारले लगातार विभिन्न राजनीतिक दलसँग यसबारेमा संवाद गर्दै आएका थिए । आइतबारको बैठकमा शीर्ष नेताहरुको उपस्थिति थियो । बैठकले मोर्चाको न्यूनतम कार्यक्रमसमेत तय गरेको र सोमबार नै सार्वजनिक गरिने बताइएको छ । मोर्चामा डा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपालसमेत सहभागी हुने बताइएको छ । यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष भट्टराईबीचको भेटवार्तामा सो सहमति भइसकेको छ ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सोमबार समाजवादी मोर्चाको घोषणा हुने कार्यक्रम तय भएको छ । मोर्चामा सहभागी हुने भनिएका वामदेव गौतमले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर आफ्नो व्यवस्थापन भए समाजवादी मोर्चामा नजाने बताएपछि उनी एमालेमै फर्किने सम्भावना बढी रहेको छ । त्यस्तै डा. बाबुराम भट्टराईको समाजवादी पार्टी भने छलफलमै रहेको र तत्काल मोर्चामा सहभागी हुने विषयमा स्पष्ट भइसकेको छैन ।
समाजवादी मोर्चामा रहेका दलबीच आलोपालो नेतृत्व गर्ने यसअघि नै सहमति भइसकेको छ । मोर्चाको नीतिगत निर्णय गर्न दलहरूको अध्यक्षसहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समिति बनाइने तयारी भएको छ । साथै समितिले समान उद्देश्य, नीति, कार्यक्रम अनुसार राजनीतिक दलहरूसँग वार्ता गरी यस मोर्चामा सामेल गर्न सक्ने व्यवस्था गर्न लागेको छ ।
साथै मोर्चालाई आवश्यकता अनुसार प्रदेश र स्थानीय तहसम्म विस्तार गरिने बताइएको छ । नेताहरुले समाजवादी मोर्चाको गठन संविधानको संशोधन, शान्ति प्रकियाका बाँकी कामहरूको पूर्णता दिने प्रमुख उद्देश्यले गठन गर्न लागिएको बताएका छन् । मोर्चाको प्रस्तावनामा भनिएको छ–‘संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका बाँकी कामहरूको पूर्णता र संघीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्ने उद्देश्यले हामीनिम्न साझा मुद्दा, लक्ष्य र उद्देश्यहरू प्राप्तिका लागि समाजवादी मोर्चा, नेपाल (सोसियलिस्ट फ्रन्ट, नेपाल) गठन गर्न सहमत भएका छौँ ।’
समाजवादी मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने उद्देश्य राखेको छ । समाजवादी मोर्चाको गठनको उद्धेश्य एकातिर बताइएको भएपनि अहिलेको संसदको अंकगणितमा नेताहरुले आफ्नो बलियो आधार बनाउन गठबन्धन बनाउन लागेको टिप्पणी गर्न लागिएको छ । संसदमा माओवादी केन्द्रका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० गरि मोर्चाको ५४ जना सांसदको प्रतिनिधित्व हुने हुनाले अहिलेकै गठबन्धनलाई बलियो बनाउन, भविष्यमा कांग्रेससँग विवाद भएमा आफुलाई संसदमा विकल्पको रुपमा तयार गर्न र कुनै पनि अवस्थामा संसदको अंकगणित अनुसारको नयाँ गठबन्धन बनाउनुपर्ने अवस्थाका लागि समेत तयार रहन मोर्चा बनाउन लागिएको समेत विश्लेषण गरिएको छ ।