आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

अध्यक्ष कुल आचार्यले दिए चुनौती, चरित्र हत्या गर्ने कार्यको भर्तसना (भिडियो सहित)

सोमबार, जेष्ठ २९ २०८०

लन्डन,गैर आवासीय नेपाली संघ आइसीसीका अध्यक्ष कुल आचार्यले  तल्लो स्तरमा उत्रेर आफु विरुद्ध आधारहीन आरोपहरु लगाइएको भन्दै  कसैको पनि चरित्रहत्या नगर्न आग्रह गरेका छन  ।
एनआरएनए युकेद्वारा आइतबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले आफु माथि लगाइएका आरोप पुष्टि गर्न चुनौती दिए ।  ‘ बेलायतजस्तो कानून भएको देशमा भ्रम छर्ने र अपमान गर्ने कामको घोर भ्रत्सना गर्दछु,’ उनले भने ।
‘म  सम्मानित सर्वोच्च अदालतलाई अनुरोध गर्न चाहन्छु संसारभरिका नेपालीहरु आशमा हुनु हुन्छ, सम्पूर्ण एनआरएनको तर्फबाट अनुरोध गर्न चाहन्छु ।  गैर आवासीय नेपाली नागरिकताको मार्ग प्रशस्त गरि दिनोस्, आचार्यले भने ।
गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले  सबै प्रवासी नेपाललाई वंशजको आधारमा नागरिकता दिनु पर्छ भन्ने आफुहरुको आवाज रहेको बताए ।  ‘अहिलेको नागरिकता संक्रमणकालिन नागरिकता मात्रै हो।  पूर्ण अधिकार सहितको नागरिकता नपाउँदा सम्म संघले आफ्नो अभियान जारी राख्ने छ,’ उनले भने।  अध्यक्ष केसीले  आजको जमाना एक व्यक्ति  एकै पटक धेरै मुलुकको नागरिक बन्न सक्ने जमाना हो भन्दै   जनसंख्या भनेको समस्या होइन, सम्पत्ति भएको बताए ।  ‘गोर्खाजहरु नेपालको सम्पत्ति हुनु हुन्छ, गोर्खाज र सबै प्रवासी नेपालीलाई वंशजको आधारमा नागरिकता दिनु पर्छ भन्ने हाम्रो आवाज हो। ‘

संघका उपाध्यक्ष डा हेमराज शर्माले अहिले संसार भरि ८ खालका एनआरएनहरु रहेको बताउंदै  नेपालको संविधानको धारा १४ ले भनेको आर्थिक, सामाजिक, संस्कृतिक अधिकार भनेको के हो भन्ने स्पष्ट हुन बाँकीरहेको बताए । ‘संविधानले पहिलो पटक हामीलाई चिनेको छ।  हामीले चाहेको पनि वंशजको आधारमा नेपाली नागरिकता नै हो। तर  अहिले पाएका अधिकारहरु सदुपयोग गर्दै जाउँ, त्यस पछि वंशजको लागि फाइट गर्दै जाउँ। संयुक्त रुपमा काम गरौँ,’ उनले भने।
कार्यक्रममा संविधानविद् वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले नेपालको संविधान वा नेपाल सरकारले कुनै पनि नागरिकको राष्ट्रियता खोस्न नसक्ने बताए । ‘गैर आवासीय नेपाली  नागरिकता प्राप्त गरि सके पछि  वंशजको नागरिकता अन्त्य हुन्छ।   नियमावली र कार्यविधि बन्नु पर्ने हुन्छ। गृह मन्त्रालयले सबै सीडीओहरुलाई परिपत्र गरे पछि मात्रै वितरण शुरु हुन्छ । संविधानको   धारा २९१ पनि बाधक छ।  राष्ट्रपतिले जारी गरेको प्रक्रिया मिलेन त्यसैले बदर हुनु पर्छ भनेर सम्मानित सर्वोच्च अदालतमा मुद्दा परेको हो । २ ओटा मुद्दा सर्वोच्चमा छन्।  स्टे अर्डर खारेज गर्ने वा नगर्ने सर्वोच्चले निर्णय गर्ने छ। कन्टेन्टको विषयमा यो मुद्दा होइन, प्रक्रियाको विषयमा मात्रै हो,’ ज्ञवालीले भने।
अधिवक्ता गोविन्द बेलबासेले गोर्खाहरुको विषयमा हाम्रो माग एउटै हो, तर वंशजको नागरिकता नपाउँदासम्म  अरु उपलब्धि प्रयोग गर्ने कि नगर्ने भन्ने बारे स्पष्ट हुनु पर्ने बताए । ‘२००४ भन्दा पहिले सेटल भएका गोर्खा हुनुहुन्छ, १९९७ पछि सेटलमेन्ट पाएका गोर्खा पनि हुनुहुन्छ।  भोलि नाति, पनातिको विषयमा पनि सोच्नु प-यो।  एनआरएन नागरिकता अहिले उपयोग नगर्दा विकल्प के छ त?’ उनले प्रश्न गरे। नेपाल नागरिकता ऐन २०६३ को दफा १० मा विदेशी नागरिकता लिने नागरिकको नेपाली नागरिकता स्वत: रद्द हुने उल्लेख भएको र यदि उक्त दफा हट्ने हो भने सबै समस्या समाधान हुने पनि उनले बताए ।
गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष सुनिल बाबु खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा  संघका उपमहासचिव  रामशरण सिम्खडा, युरोप संयोजकद्वय चिन्तामणि सापकोटा तथा  सन्तोष भट्टराई, पूर्व आइसीसी सदस्य चन्द्र गुरुङले मन्तव्य व्यक्त गरेका  थिए।  उक्त कार्यक्रममा उपाध्यक्ष  मोहन कार्कीले स्वागत गरेका थिए भने सचिव ज्ञानेन्द्र आलेले कार्यक्रमको संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार