काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको सही प्रयोग गर्न नसक्दा अर्थात दुरुप्रयोग गर्दा साइबर अपराधका घटना बढेको बताएकी छन । बिहीवार ललितपुरमा आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । उनले प्राविधिक शिक्षाको कमी हुँदा कतिपय युवाहरु बर्बादीको शिकार भइरहेको बताइन । उनले साइबर शिक्षा र डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा समस्या बढिरहेको बताइन ।
‘हामीले यो क्षेत्रको विकास सकारात्मक ढंगले गर्नुपर्छ । यस भित्रका विकृतिहरु हामी देखिरहेका छौँ । हाम्रा भर्खरका किशोरकिशोरीहरु ठिक ढंगले साइबर शिक्षा, डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा त्यसको प्रयोगमा चुकिरहेका छन’ उनले भनिन्– ‘मोबाइल प्रयोग कसरी ठिक ढंगले गर्ने, हाम्रो जीवनमा सकारात्मक ढंगले कसरी लागू गर्ने भन्ने कुराको सही शिक्षा दिन नसक्दा हाम्रा किशोरकिशोरीहरु आज बर्बादीको शिकार भइरहेका छन । मन्त्री शर्माले सामाजिक सञ्जालको दुरुपयोगका कारण आत्महत्या गर्नुपर्ने स्थिति समेत हुने गरेको भन्दै यसलाई समयमा नै नियन्त्रण र यससम्बन्धी शिक्षा दिन आवश्यक रहेको बताइन । उनले सूचना र प्रविधिमा हुने विकृतिका कारण युवापुस्ताहरु भड्किरहेको बताइन । उनले नेपालमा साइबर सुरक्षा नीति नभएकाले वर्तमान सरकारले त्यससम्बन्धी काम गरिरहेको बताइन । उनले डिजिटल शिक्षालाई जनस्तरमा पुर्याउनसके सूचना र प्रविधिसम्बन्धीका धेरै समस्या समाधान हुने बताइन ।
कस्ता साइट कुन उमेर समूहकाले हेर्ने भन्नेकुराको व्यापक शिक्षा हामीसँग छैन । यो सबैकुरा थाहा नपाउँदा यसबाट आउने विकृति लगायतका कुराबाट हाम्रो युवापुस्ता भड्किएको छ । यसको सही सदुपयोग गर्न र हाम्रो युवा पुस्तादेखि सबै हामी गलत प्रवृत्तिको शिकार नबनौँ भनेर राज्यको जिम्मेवारीमा रहेको बताईन ।
मन्त्री शर्माले मोबाइलको विकाससँगै प्राविधिक शिक्षालाई पनि जनस्तरमा पुर्याउन जरुरी रहेको समेत बताइन ।