आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

भारत भ्रमणको लक्ष्य पूरा : प्रधानमन्त्री

सीमा समस्याबारे छलफलबाट उत्साहित, पत्नीको स्वास्थ्यलाभको लागि महाकालेश्वर गएको होइन

शनिबार, जेष्ठ २० २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतसँग भएका मुख्य सात वटा सम्झौतालाई वाचन गरेर सुनाउँदै आफ्नो भारत भ्रमण निक्कै फलदायी भएको दाबी गरेका छन् । उनले आफूले जे लक्ष्य लिएर भारत गएको हो त्यो लगभग पूरा भएको दाबी गरेका छन् । भारतको चार दिने भ्रमण सकेर शनिबार फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकारहरुलाई भारत भ्रमणका विषयमा जानकारी दिंदै नेपालले भारतलाई बिजुली बेच्ने, सुक्खा बन्दरगाह, सीमा समस्याको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलेर कुराकानी भएको र संयुक्त पत्रकार सम्मेलनमा मोदीले दिएको प्रतिक्रियाबाट आफू उत्साहित भएको प्रचण्डको भनाइ छ । आफ्नो भ्रमणले दुई देशबीच विश्वासको वातावरण बनेको प्रचण्डले बताए ।
प्रधानमन्त्री प्रचण्डले सीमा समस्याबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिले उत्साहित भएको बताएका छन् । उनले सञ्चारकर्मीसँग नेपाल–भारतबीचको सीमा समस्या समाधान हुने कुरा विश्वस्त रहेको बताए । ‘नेपाल र भारतबीचको सीमा समस्याबारे हामी सबैको चिन्ताको विषय हो । यसबारे मैले प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलेर कुरा राखेको हुँ । यदि सीमा समस्या समाधान नभए ठीक हुँदैन भनेपछि उहाँले कसरी हुन्छ समाधान गरौं भन्नुभयो । उहाँले संयुक्त पत्रकार सम्मेलनमै सीमा समस्याबारे अभिव्यक्ति दिनु भएको छ । सीमा समस्या समाधान हुने कुरामा विश्वस्त छु,’ उनले भने । उनले नेपाल र भारतबीच पुरानो र घनिष्ट सम्बन्ध रहेको भन्दै त्यहाँका राष्ट्रपति र उपराष्ट्रपतिसँग द्विपक्षीय हितका विषयमा छलफल भएको बताए ।
उनले भ्रमणका दौरान विद्युतीय क्षेत्रमा दीर्घकालीन सम्झौता भएको र त्यसले विद्युतीय क्षेत्रमा नयाँ आयाम थपिएको बताए । उनले एयर रुटका विषयमा पनि छलफल भएको बताए । उनले एउटा मात्र होइन, भारतबाट कम्तिमा तीन एयर रुटका विषयमा छलफल भएको बताए ।
सीमा विवादको विषयमा विकल्पमा छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बंगलादेश मोडलमा भारतमा छलफल भएको स्पष्ट गरेका छन् । प्रधानमन्त्री प्रचण्डले कालापानी, लिपूलेकको सीमा विवादको विषयमा बंगलादेश जाने बाटोलाई जोडेर समस्या समाधानको विकल्पको रुपमा छलफल भएको स्पष्ट गरेका छन् । भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएका थिए ।
अहिले विभिन्न विकल्पको विषयमा छलफल भएको र यी विकल्पको बारेमा छलफल शुरु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी पनि सकारात्मक भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आफुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा खुलेर कुरा गरेको बताउदै मोदीले सार्बजनिक रुपमा नै यो विषयमा पहिलो पटक बोलेको बताए ।
प्रधानमन्त्री प्रचण्डले आफु जुन उद्धेश्यका लागि भारत भ्रमणमा गएको थिए त्यो पुरा भएको बताएका छन् । उनले विद्युत व्यापारको विषयमा बंगलादेश, भारत र नेपालसँग त्रिपक्षिय सम्झौता पनि लामो समयपछि भएको सकारात्मक र ठुलो विषय भएको बताए । उनले रसायनिक मलको उद्योग खोल्ने विषयमा समेत सहमति भएको बताउदै यो भ्रमण परिणाममुखी भएको र दुई देशको सम्बन्धमा विश्वासको नयाँ वातावरण बनेको बताए ।
पत्नीको स्वास्थ्यलाभको लागि महाकालेश्वर गएको होइन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु मनैदेखि धर्म निरपेक्षवादी भएको बताएका छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले आफु मनदेखि निरपेक्षवादी भएको बताएका छन् । उनले आफु यसअघि मुश्लिमको मदरसा, क्रिस्यनको चर्च र बौद्ध गुम्बामा गएको बताउदै गेरु बस्त्र लगाउनुलाई अन्यथा लिन नहुने बताए । आफुले महाकलेश्वर मन्दिरको प्रोटोकल अनुसार गेरु बस्त्र लगाएको बताए ।
प्रधानमन्त्री प्रचण्डले यसलाई संस्कृतिक कुटनीतिको रुपमा बुझ्नुपर्नेमा उल्टो बुझ्न नहुने बताए । मिडियामा पत्नीको स्वास्थ्यको लागि महाकालेश्वर गएको भनेर झुटो प्रचार गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डले आफु पत्नीको स्वास्थ्यलाभको कामना गर्न त्यहाँ नगएको बताए । उनले आफ्नो पत्नीलाई लागेको रोग निको नहुने किसिमको रहेको स्पष्ट गर्दै यस्तो तल झरेर प्रचार गर्नु नहुने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार