आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि घरेलु टोली नेपालले जित्यो

शनिबार, चैत्र १८ २०७९

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि घरेलु टोली नेपालले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ भएको फाइनल खेलमा लाओसलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

खेलको १७ औँ मिनेटमा फत्ताबोङ साङबिले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए। लगत्तै त्यसको ७ मिनेटपछि २४ औँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपालका लागि बराबरी गोल फर्काए। खेलको ८८ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई उपाधि जिताए।

उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर पाएको छ भने उपविजेता बनेको लाओसले ३ हजार अमेरिकी डलरमा चित्त बुझाएको छ। आयुष घलान प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै ५ सय अमेरिकी डलर पाए।

नेपालले घरेलु मैदानमा दोस्रो पटक थ्री नेसन्स कपको उपाधि जितेको हो। यसअघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो। फाइनलमा बंगलादेशलाई पराजित गर्दे नेपाल विजेता बनेको थियो।

नेपालको जितमा प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासी पनि सफल देखिएका छन्। प्रशिक्षकको जिम्मेवारी सम्हालेको पहिलो प्रतियोगिताबाटै उनले नेपाललाई उपाधि दिलाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार