काठमाडौ । फिफा विश्वकप फुटबलपछि वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको संख्यामा निकै कमी आएको छ । विश्वकप अगाडि जुन चापमा नेपालीहरू गइरहेका थिए अहिले भने त्यो तुलनामा ५० प्रतिशतले कमी आएको छ । विगतको तुलनामा अहिले कतारका लागि श्रम स्वीकृति लिनेको संख्या ५० प्रतिशतले घटेको विभाग स्रोतले जनायो ।
वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति लिनेको संख्या भने विगतको तुलनामा ७० प्रतिशतले कमी आएको जनाइएको छ । कार्यालयको कतार शाखा प्रमुख सुर्य रेग्मीले विगतको तुलनामा अहिले श्रम स्वीकृति लिनेको संख्या ७० प्रतिशतले कमी आएको बताए ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत साउनमा ४ हजार ९६९ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै भदौंमा ४ हजार ९८४ जनाले कतार जानका लागि श्रम स्वीकृति लिएका थिए भने असोजमा ४ हजार ५८६, कात्तिकमा ४ हजार ३१३ जनाले श्रम स्वीकृति लिएका थिए । त्यसपछिबाट भने श्रम स्वीकृति लिनेको संख्या आधाले घटेको छ । मंसिरमा २ हजार ६६५ जनाले कतार जानका लागि श्रम स्वीकृति लिएका छन । त्यस्तै पुसमा २ हजार ५०६ र माघमा २ हजार ८२९ जनाले श्रम स्वीकृति लिएका छन । विश्वकपपछि कतारमा नया संरचना निर्माणका कामहरु नभएकाले पनि माग घटेको हो ।