काठमाडौं । रुपन्देहीको रुद्रपुरका ४५ वर्षीय भिमकुमार भारतीको मलेसियामा निधन भएको छ । चार वर्षदेखि मलेसियाको जोहरबारुस्थित एक प्लाइउड कम्पनीमा कार्यरत उनको १६ फेबु्रअरिमा पाकर सुल्तान फातिमा मुआर अस्पतालमा मृत्यु भएको हो । १५ तारेखमा आफू बस्ने कोठामा बेहोस अवस्थामा फेला परेका उनको उपचारका क्रममा मृत्यु भएको मलेसियामा रहेका आफन्त सुरज गिरीले बताएका छन् ।
चार वर्षअघि छोरा—छोरीको पढाइ र घर खर्च जुटाउनका लागि उनी उक्त कम्पनीमा पुगेका थिए । अघिल्लो वर्ष नै घर फर्किनु पर्नेमा उनीे थप काम गर्ने र परिवारका लागि आर्थिक जोहो गर्ने उद्देश्यले चैतमा घर फर्किने तयारीमा थिए । तर, बिहीबार उनको शव बाकसमा आएको छ ।
आइतबारको छुट्टिको दिन नुहाएर आराम गर्ने तयारीमा रहेका बेला उनी लडेको र उनलाई मस्तिष्कघात भएको अस्पतालले जनाएको छ । सोमबार काममा नगएपछि उनका साथीहरुले हेर्दा रुममा उनी बेहोस अवस्थामा थिए । त्यसपछि उनलाई उद्दार गरेर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको अस्पतालमा ज्यान गएको उनका दाजु रण भारतीले बताएका छन् । भिम कुमारका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उनको परिवारको विचल्ली भएको छ । जग्गा जमिनको नाममा रुपन्देहीको कञ्चन गाउँपालिकामा सानो घर छ । त्यो घरको पनि लाजपूर्जा छैन । बालबालिका साना छन् । इन्सुरेन्सको म्याद पनि गत डिसेम्बरमा सकिएका कारणले उनको परिवारले कुनै पनि प्रकारको राहत नपाउने भएको छ ।
गुल्मीको भुर्तुङ खस्कोटमा जन्मे हुर्केका उनी झण्डै एक दशकअघि आफ्नो परिवारसहित रुपन्देही झरेका थिए ।