काठमाडौं(जस)–नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई आफ्नो पार्टीले शक्तिको बाँडफाँटको रुपमा लिने बताएका छन् । दाङको भालुवाङमा बोल्दै नेता नेपालले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको समेत दाबी गरे । ‘अहिले बजारमा हल्ला धेरै छन् । चर्चा परिचर्चा धेरै छन् । यस सन्दर्भमा कुनै टुङ्गो लागेको छैन’, उनले भने, ‘चाहना राख्ने कुरा बेग्लै कुरा हो । मैले नै आफू के गर्ने सोचिसकेको छैन ।’
राष्ट्रपतिको उम्मेदवारका विषयमा आफ्नो पार्टीले निर्णय नगरेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘‘पावर सेयरिङ’मा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । अरुकै लागि सधैँ बलिदान भइन्न ।’ अरुले फाइदा उठाउने कुरा मान्य नहुने उनको भनाइ छ । राष्ट्रपतिको लागि बृहत् छलफलको आवश्यकता रहेको उल्लेख गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न आफूलाई प्रस्ताव गरेको समाचार सार्वजनिक भए पनि अध्यक्ष नेपालले कतिपय कुरा पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताए ।
‘प्रेसमा आएका सबै समाचार साँचो हुन्छन् भन्ने छैन’, उनले भने, ‘अहिले नै बोल्ने कुराको हतार गर्नुहुन्न । हतार नगरिकन पर्दाभित्र नै रहन दिनुपर्छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टीको ध्यान देशको हितको रक्षा गर्नुपर्ने कुरामा सबै गम्भीर हुनुपर्ने बताए ।
‘संविधानलाई जोगाउने कुरामा हामी अत्यन्तै चनाखो हुनुपर्ने छ’, उनले भने, ‘देशलाई समाजवादको दिशातर्फ लग्ने सोचतिर हामीले ध्यान दिएका छौँ ।’ साथै नेता नेपालले चुनावअघि राष्ट्रपतिका लागि झलनाथ खनालको नाममा कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भएको समेत बताए । नेकपा एमालेले नेता नेपाललाई पार्टी एकीकरणसहित राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेपछि अहिले उनको नाम राष्ट्रपतिको उम्मेदवारको रुपमा चर्चामा रहेको छ ।
महन्थ ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन लोसपाको प्रस्ताव
लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई बनाउन प्रस्ताव गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भेटेर ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन प्रस्ताव राखेको नेता राजेन्द्र महतोले जानकारी दिएका छन् ।
महतोले प्रधानमन्त्रीले राष्ट्रपतिमा सहमतिको उम्मेदवार चाहिन्छ भन्नुभएकोले त्यही सम्बन्धमा आफूहरुले प्रधानमन्त्रीलाई भेट्न गएको बताए । उनले भने, ‘प्रधानमन्त्रीलाई हामीले राष्ट्रपतिको उम्मेदवारी राष्ट्रिय सहमतिको गर्ने राम्रो विचार हो, अहिलेको अवस्थामा राष्ट्रिय सहमतिकै उम्मेदवार उपयुक्त हुन्छ । हामीलाई तपाईंको विचार उपयुक्त लागेको छ र यो राष्ट्रिय सहमतिको पात्र महन्थ ठाकुर पनि हुन सक्नुहुन्छ भन्यौं । ठाकुरको नाउँमा सहमति गराउन सजिलो होला कि भनेर हामीले उनलाई आग्रह गरेका थियौं ।’
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका लागि ठाकुर पनि उपयुक्त पात्र भएको जवाफ दिएको महतोले जानकारी दिएका छन् । ‘ठाकुर राष्ट्रिय सहमतिको उम्मेदवार होइन कि उपयुक्त पात्र हो र सबैले भनिरहेको हो भन्ने उनको जवाफ थियो । तपाईंहरूले नयाँ कुरा भनिराख्नु भएको होइन, सबैलाई थाहा भएकै कुरा हो भन्नु भएको हो,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनु पर्छ भन्ने धारणा दोहो¥याएको महतोले बताएका छन् । प्रधानमन्त्री दाहालले हालसम्म कसैको पनि नाम नलिएको र आफू सल्लाहमा नै रहेको जवाफ लोसपाका नेताहरूलाई दिएका थिए । लोसपाले मंगलबारै बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँगसमेत भेट गरेको छ । राष्ट्रपतिका लागि फागुन १३ मा मनोनयनका लागि निर्वाचन आयोगले मिति तय गरेको छ । राष्ट्रपति निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुने भएको छ ।
राष्ट्रपति पदमा कांग्रेसले जित्नुपर्छ : कोइराला
नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताएका छन् । प्रेस युनियन सिन्धुलीले मंगलबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रपति पद कांग्रेस सर्मथकले जित्ने जिकिर गरेका हुन् । पार्टीमा सहमति हुने र तत्काल राष्ट्रपति पदको उम्मेदवार हुने यही नै बेला हो भन्ने नआइसकेको उनको भनाइ थियो ।
नेता कोइरालाले भने, “राष्ट्रपतिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को प्रमुख भूमिका रहन्छ, हामीले माओवादीका नेताहरूसँग सल्लाह र घनिभूत छलफल गरिरहेका छौँ, नेपाली कांग्रेसले उक्त पदमा उम्मेदवार दिन्छ र त्यो उम्मेदवारले जित्छ तपाईँ ढुक्क हुनुस् ।” दल बाहिरको व्यक्ति राष्ट्रपति पदको उम्मेदवार भए राष्ट्रिय सहमति निकाल्न सकिने पनि उनले बताए ।
उनले भने, “एक वर्षमा हुनुपर्ने पार्टीका काम हुनसकेका छैनन्,सङ्गठनलाई मजबुत बनाउन सकिएन भने आगामी निर्वाचनको नतिजा अर्कै हुनेछ त्यसैले पार्टीलाई बलियो बनाउनु पर्दछ ।” लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसले जनतासँग सहकार्य गर्नुपर्ने र देशको विकास तथा समृद्धिका लागि हरेक विषयमा जनतालाई जोडेर लगे लोकतन्त्र सुदृढ, शुसासन, पारदर्शिता हुनाका साथै दलप्रति जनताको विश्वास रहने नेता कोइरालाको भनाइ थियो ।