आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

माघमा वैदेशिक रोजगारीमा जानका लागि ६४ हजार बढीले लिए श्रम स्वीकृति

मंगलबार, फाल्गुन ९ २०७९

काठमाडौँ(जस)–गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार चार सय ४७ पुरुष र पाँच हजार आठ सय ३७ जना महिला गरी कूल ६४ हजार दुई ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।
यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो । यसैगरी नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार एक सय २४ जना रहेको छ । जसमा चार हजार दुई सय ६६ जना महिला र ३४ हजार आठ सय ५८ जना पुरुष रहेको विभागले जनाएको छ । जसमा सबैभन्दा धेरै मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १९ हजार सात सय ८३ जना रहेको छ ।
कतार जानका लागि १२ हजार सात सय चार जना, साउदीका लागि १० हजार पाँच सय ७६ जना, युएईका लागि नौ हजार सात सय ७० जना र कुवेतका लागि दुई हजार नौ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन् । साइप्रसका लागि चार सय १७ जनाले, क्रोएसियाका लागि चार सय ७१ जनाले, जापानका लागि आठ सय ८२ जनाले, माल्टाका लागि दुई सय ७० जनाले, पोल्याण्डका लागि सात सय २० जनाले, पोर्चुगलका लागि ४५ जनाले र रोमानियाका लागि आठ सय चार जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा जान रोक
यसैबीच वैदेशिक रोजगारीका लागि दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा जान रोक लागेको छ । वैदेशिक रोजगार विभागले एक विज्ञप्ति जारी गर्दे दुबई र कतारमा उक्त पदमा जाने अधिकांश श्रमिक समस्यामा परेको भन्दै पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो ।
उक्त पदमा जाँदा लाइसेन्स प्राप्त गर्न कठिन भएको र लामो समय कामविहीन भई बस्नु परेको समेत अवस्था सिर्जना हुँदा अधिकांश श्रमिक धेरै पटक ट्राफिक कारवाहीमा परी ठूलो जरिवाना बुझाउनु परेको गुनासो बढी विभागले जनाएको छ । सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासन सम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटना समेत बढेसँगै विभागले यस्तो निर्णय लिनु परेको विज्ञप्तिमा उल्लेख गरेको छ । सरकारले बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि पूर्वस्वीकृति रोक्ने निर्णय लिएको हो । विभागका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार