काठमाडौं,कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सिईओ पदमा नियुक्त गरेको हो । तीन जनाको नाम बोर्डमा सिफारिस भएकोमा बोर्डको बैठकले गुरुङलाई सिईओ बनाउने निर्णय गरेको हो । उनले सोमबारदेखि कार्यभार सम्हाल्दै छन् । यसअघि सिभिल बैंकका सिईओ रहेर आफ्नो सफल कार्यकाल पुरा गरेका गुरुङसँग बैंकिङ्ग क्षेत्रमा २६ वर्षभन्दा बढी कार्य गरेको अनुभव रहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर शुुरु गरेका थिए ।
उनले हिमालयन बैंकमा साढे १० वर्ष काम गरेका थिए । त्यसपछि उनी ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर साढे ३ वर्ष काम काम गरे । पछि उनले मेगा बैंकमा नायव महाप्रबन्धक पदमा रहेर साढे २ वर्ष काम गरे । त्यसपछि सिभिल बैंक गएका उनले त्यहाँ साढे ४ वर्ष डेपुटी सीईओका रुपमा काम गरे भने उनी सोही बैंकको सीईओ समेत बने । गोविन्दसँग विदेशी बैंकमा समेत काम गरेको अनुभव रहेको छ । ४ वर्ष ३ महिना सिभिल बैंकमा सिईओ भएर काम गरेका उनी उक्त बैंक छाडेर विदेशी बैंकमा काम गर्न गए । विदेशी बैंकको सिईओ बन्ने गुरुङ पहिलो नेपाली नागरिक हुन् । उनी सिभिल बैंक प्रवेश गर्दा बैंकको अवस्था निकै कमजोर थियो । उनकै कार्यकालमा सभिल बैंक पुराना र अब्बल भनिएका बैंकसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेको थियो ।
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि २२ जनाले आवेदन दिएकामा ५ जनाको नाम सर्टलिष्ट गरिएको थियो । गुरुङसँगै कृषि विकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, कृषि विकास बैंकका कायम मुकायम (कामु) नायव महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका चिफ रिस्क एण्ड कम्प्लायन्स अफिसर विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बद्रिकुमार गुरागाईंको नाम सर्ट लिष्ट गरिएको थियो । सबै प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङ बैंकको सिईओ बनेका हुन ।