आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

राष्ट्रपति निर्वाचन नजिकिदै जाँदा प्रचण्ड–ओली सहमति खोज्दै

उपप्रम श्रेष्ठ भन्छन–राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ

शुक्रबार, फाल्गुन ५ २०७९

काठमाडौं(जस)–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति निर्वाचन नजिकिदै जाँदा प्रचण्ड र ओली निरन्तर वार्तामा जुटिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटवार्तामा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउनेलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरुबीच झण्डै ४० मिनेट छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिबारे छलफल गर्न ओली बालुवाटार पुगेका थिए । राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ ।
१३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकाले नेकपा माओवादी केन्द्रलाई गठबन्धनबाट बाहिर जान नदिन एमाले अध्यक्ष ओली निरन्तर कसरतमा छन् । ‘प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष केपी शर्मा ओली बिहानै बालुवाटार पुग्नु भएको छ । उहाँहरुबीच राष्ट्रपतिकै चुनावको विषयमा केन्द्रीत भएर छलफल छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘राष्ट्रपति चुनावको विषयमा विभिन्न अड्कलबाजीसहितका प्रचार हुन थालेपछि प्रचण्ड र ओली छलफलमा बस्नु भएको हो ।’
राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ ः: उपप्रम श्रेष्ठ
उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । वीरेन्द्रनगर सुर्खेतमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमति जस्तै राष्ट्रपतिमा पदमा पनि सबै दलको सहमति आवश्यक रहेको उनले प्रष्ट्याए । उनका अनुसार अहिलेको समीकरण बदल्न खोजिएको छैन बरु यही फागुन २७ गते हुने राष्ट्रपति लागि सहमति चाहिएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले भने, “हाम्रो कारणले त्यस्तो परिस्थिति सिर्जना गर्नु हुँदैन भन्ने कुरामा हामी प्रष्टै छौँ । वर्तमान सरकारलाई प्रतिनिधिसभामा सहभागी ९९ प्रतिशतले विश्वासको मत दिएका छन् । सबैजसो पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेर विश्वासको मत दिँदा यो एउटा ऐतिहासिक परिघटना बनेको छ ।” प्रधानमन्त्रीका लागि भएको समर्थनको वातावरणले राष्ट्रिय सहमति कायम गर्ने अवसर मिलेको उनले बताए । सबै दलको भावना समेटिने गरी राष्ट्रपतिको चुनाव सम्पन्न गर्नु अहिलेको प्रधान विषय रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रिय वातावरण बनाएर राष्ट्रपति चयन गर्ने प्रयास भइरहेको उनले बताए ।
एमालेले सबैलाई मान्य उम्मेदवार उठाउँछ : भट्ट
नेकपा एमालेका सचिव लेखराज भट्टले सुदूरपश्चिम सरकार ढल्नुको मुख्य कारण नागरिक उन्मुक्ति पार्टी रहेको दावी गरेका छन् । प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएको कारण प्रदेश सरकार ढल्ने अवस्था आएको दाबी गरे । एमाले सुदूरपश्चिम इञ्चार्ज समेत रहेका भट्टले बिहीबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यथास्थितिमा नागरिक उन्मुक्ति पार्टीले साथ नदिएको अवस्थामा कांग्रेस नेतृत्वको सरकार पनि संकटमा रहेको दाबी गरे ।
‘रेशम चौधरीको रिहाइ उहाँहरूको शर्त थियो । मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले सरकारले चाहेर पनि तत्काल छुटाउन सक्ने अवस्था थिएन । तर हामीले सरकारको तर्फबाट सक्दो पहल गछौँ भनेका थियौँ,’ उनले भने, ‘रेशमजीले त्यो कुरालाई बुझ्नु भएन । उहाँले तत्कालै छुटाउनु पर्छ भन्नुभयो । सर्वोच्चमा विचाराधीन मुद्दामा राजनीतिक निर्णय गर्ने प्रचलन छैन । अप्ठ्यारो हुन्छ । सोही कारण नाउपाको साथ पाइएन । हामी र माओवादीले जोगाउन सक्ने अवस्था थिएन ।’
त्यस्तै सचिव भट्टले सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार राष्ट्रपति चयन हुने दावी समेत गरे । गठबन्धनको सहमतिअनुसार एमालेकै उम्मेदवार राष्ट्रपतिमा चयन हुने उनको दावी थियो । ‘अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर गठबन्धन के हुन्छ ? भन्ने आम मानिसलाई चासो छ । राष्ट्रपतिका लागि गठबन्धनमा जे सहमति भएको छ त्यहीअनुसार अघि बढ्छ,’ भट्टले भने, ‘पार्टीले सबैलाई मान्य हुनेगरी उपयुक्त उम्मेदवार उठाउँछ । गठबन्धन कायम रहन्छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति भन्नुको अर्थ सबै दलको भावनाको प्रतिनिधित्व हुने राजनीतिक व्यक्ति भएको बताउँदै भट्टले एमालेले पनि सोहीअनुसार उम्मेदवार बनाउने दाबी गरे । राष्ट्रपति चुनावलाई लिएर गठबन्धन भत्किने सम्भावना नरहेको समेत उनको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार