आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

यातायात मजदुरको आन्दोलन उग्र : प्रहरीका दुई गाडीमा क्षति, अस्थायी प्रहरी विट जलाइयो, ल्होत्से मलमा तोडफोड

सोमबार, फाल्गुन १ २०७९

काठमाडौं(जस)–सवारीसाधन कारबाही गरेवापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै यातायात मजदुरले गरेको आन्दोलनका कारण बालाजु–नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको छ । सवारी जरिवानावापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एण्ड ड्रपको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर सोमबार दिउँसोदेखि गरेको आन्दोलनले साँझमा उग्ररुप लिँदा बालाजु–नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको हो ।
नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनलगायतको नेतृत्वमा आज दिउँसोदेखि नयाँ बसपार्क, माछापोखरी, बालाजुलगायतका स्थानमा सार्वजनिक बस बाटोमा तेस्र्याएर आन्दोलन गरिएको थियो । नयाँ बसपार्कदेखि गोँगबु चोकसम्मको मुख्य सडकबाट सञ्चालन हुँदै आएका बस तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न काठमाडौँ महानगरपालिकासहित सम्बन्धित संस्थाले आग्रह गरे पनि त्यस क्षेत्रका व्यवसायी भने पुरानै स्थानबाट सञ्चालन गर्न पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रेका छन् ।
उक्त सडक क्षेत्र अहिले चिनियाँ कम्पनीले विस्तार गर्दैछ । व्यक्तिको निजी जग्गाबाट सञ्चालन हुँदै आएका उक्त बस तथा माइक्रोबसलाई नयाँ बसपार्कबाट सञ्चालन गर्न खोज्दा त्यहाँका व्यवसायीले असहमति जनाएका थिए । मजदुर र व्यवसायीको आन्दोलनले साँझपख उग्ररुप लिँदा प्रहरीमाथि ढुङ्गा प्रहार गर्नेदेखि प्रहरीको गाडी आगजानी गर्नेसम्मका कार्य गरिएको थियो । आन्दोलनकारीले बालाजु चोकमा रहेको अस्थायी प्रहरी विटमा आगो लगाउनुका साथै प्रहरीको दुई वटा भ्यानमा आगो लगाएका थिए ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक हिमालयकुमार श्रेष्ठ आन्दोलनका क्रममा बालाजु चोकमा रहेको नेपाल प्रहरीको अस्थायी पोष्टमा क्षति पु¥याउनुका साथै दुई वटा प्रहरीको भ्यानमा आगो लगाएर क्षति पु¥याएको बताउँछन् । आन्दोलनका क्रममा १० प्रहरी घाइते भएका छन् भने केही आन्दोलनकारी घाइते भएको बताइएको छ । साँझपख तनावग्रस्त भएको बालाजु नयाँ बसपार्क क्षेत्रमा पछि भने सवारी साधन सञ्चालन हुन सुरु भइसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यस्तै यातायात मजदुरहरूले बालाजुस्थित ल्होत्से मलमा ढुंगामुढा गरेका छन् । नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर र लोत्सेकै कर्मचारीले आक्रमण गरेको भन्दै यातायात मजदुरहरूले लोत्से बहुउद्देश्यीय सहकारीले सञ्चालन गरेको ल्होत्से मलमा ढुंगामुढा गरेका हुन् । सो मल बालाजु बसपार्कसँगै छ । माछापोखरीस्थित अस्थायी प्रहरी बिटमा पनि मजदुरहरूले आगजनी गरेका छन् । नापतौल तथा गुणस्तर विभाग भवन नजिकै रहेको बिट आन्दोलनकारीले जलाएका थिए बताए ।
बालाजुको माछापोखरीमा यातायात मजदुरहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन सशस्त्र प्रहरी परिचालन गरिएको थियो । गण नम्बर–१८ कीर्तिपुरका गणपति उद्धव रावलको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । उपत्यकाका ४ गण र १ गुल्मबाट २ सय ६५ भन्दा बढी सशस्त्र प्रहरी बालाजुमा भएको प्रदर्शन नियन्त्रणमा खटिएको सशस्त्र प्रहरी बलले जनाएको छ । यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा।२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) यातायात मजदुरले जलाएका छन् । प्रहरी वृत्त बालाजुको बा १ झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले जलाएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट ऐन तथा नियमअनुसार नै ट्राफिक जरिवाना गर्दै आएको बताउँछन् । ‘पहिलोपटक ट्राफिक प्रहरीको कारबाही पर्नेलाई रु ५००, दोस्रोपटक कारबाही पर्नेलाई रु एक हजार र तेस्रोपटकभन्दा माथि कारबाही पर्नेलाई रु एक हजार पाँच जरिवाना लिँदै आएका छौँ’, उनी भन्छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार