काठमाडौं(जस)–चालु आर्थिक वर्षको छ महिनामा कूल रु पाँच खर्ब ८५ अर्ब आठ करोड बराबरकोे विप्रेषण (रेमिटयान्स) नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको अवधिममा विप्रेषण आप्रवाह २४ दशमलव तीन प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव नौ प्रतिशतले वृद्धि भई चार अर्ब ५० करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव सात प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४ दशमलव छ प्रतिशतले वृद्धि भई दुई लाख ७५ हजार छ सय ४३ पुगेको छ । वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा नौ दशलवम पाँच प्रतिशतले वृद्धि भई एक लाख ४२ हजार पाँच सय ४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई सय ९८ दशमलव एक प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२ दशमलव सात प्रतिशतले वृद्धि भई रु छ खर्ब ४४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर चार दशमलव चार प्रतिशतले घटेको थियो ।
शोधनान्तर स्थिति ९७ अर्बले बचतमा
मुलुकबाट बाहिरिनेभन्दा भित्रिने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंककोे विवरणअनुसार शोधनान्तर स्थिति रु ९७ अर्ब १० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा चालु खाता रु २९ अर्ब ४७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु तीन खर्ब ५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९ दशमलव एक प्रतिशतले कमी आई रु चार अर्ब ४३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु ७४ करोड ९४ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु पाँच अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु ११ अर्ब ३४ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब दुई करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा रहेको छ ।
विदेशी मुद्राको सञ्चिति बढ्यो
केन्द्रीय बैंकको विवरणअनुसार पछिल्लो छ महिनामा विदेशी मुद्राको सञ्चिती बढेको छ । विसं २०७९ असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १० प्रतिशतले वृद्धि भई गत पुस मसान्तमा रु १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा गत पुस मसान्तमा आठ प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत पुस मसान्तमा १२ प्रतिशतले वृद्धि भई रु ११ खर्ब ८३ अर्ब ३७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा गत पुस मसान्तमा तीन दशमलव चार प्रतिशतले कमी आई रु एक खर्ब ५३ अर्ब ९१ करोड कायम भएको छ । गत पुस मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव छ प्रतिशत रहेको छ ।
पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप बढी
पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप परेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फिति सात दशमलव ३० प्रतिशत बराबर रहेको छ । समीक्षा अवधिमा काठमाडौँ उपत्यकामा छ दशमलव ९३ प्रतिशत, तराईमा सात दशमलव ४९ प्रतिशत, पहाडमा सात दशमलव ३० प्रतिशत र हिमालमा छ दशमलव ६९ प्रतिशत मुद्रास्फीति रहेको छ । बैंकका अनुसार २०७८ को पुस महिनामा यी क्षेत्रमा क्रमशः पाँच दशमलव २८ प्रतिशत, छ दशमलव १५ प्रतिशत, पाँच दशमलव ३४ प्रतिशत र पाँच दशमलव २२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
गत पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव २६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति पाँच दशमलव ६५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव ५७ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५ दशमलव ५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११ दशमलव ८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव ७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ५६ प्रतिशत र मदिराजन्य पेय पदार्थको आठ दशमलव ८४ प्रतिशतले बढेको छ । त्यस्तै गैैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १६ दशमलव ४३ प्रतिशत, स्वास्थ्यको ११ दशमलव २२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको आठ दशमलव ७६ प्रतिशत, विविध वस्तु तथा सेवाको आठ दशमलव ६८ प्रतिशत र फर्निसिङ््् तथा घरायसी उपकरणहरुको आठ दशमलव ३३ प्रतिशतले मूल्य बढेको छ ।