आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एमालेलाई राष्ट्रपति दिनु हुँदैन : नेपाल

आइतबार, माघ १५ २०७९

सप्तरी(जस)–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीति गोलचक्करमा फसेको बताएका छन् । सप्तरीको राजविराजमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले गोलचक्करबाट देश कसरी निस्कने त्यो चिन्ताको विषय रहेको बताएका छन् । उनले नेतृत्व सत्ता कब्जाको सोंचले ग्रसित रहेको आरोप समेत लगाएका छन् । ‘सत्ता कब्जाको दाउ चलिरहेको छ,’ नेपालले भने, ‘सभामुख, राष्ट्रपति कब्जा गर्ने, पछि प्रधानमन्त्री कब्जा गर्ने त्यसपछि राज्यका अन्य निकाय कब्जा गर्ने सोंचबाट नेतृत्व ग्रसित छ ।’
उनले वर्तमान सरकार आएपछि तमासाहरु भइरहेको आरोप लगाउँदै भने, ‘तमासाहरु भइरहेको छ, अझै कति तमासा आगामी दिनमा हुने हो त्यो हेर्न बाँकी नै छ ।’ एमालेले राष्ट्रपति पाए उसलाई कसैले छुन नसक्ने बताएका छन् । ‘राष्ट्रपति एमालेले पायो भने उसलाई कसैले छुन सक्दैन्, यो कुरा माओवादीले बुझ्या छन् कि छैनन् ?’ नेपालले भने, ‘एमालेमा असहिष्णु र संकीर्ण सोच छ ।’
आफ्नो पार्टी एकीकृत समाजवादीसँग वार्ता गरेकै कारण जसपालाई सरकारमा मौका नदिएको आरोप लगाए । ‘जसपा नेतासँगको भेटमा एमालेका नेताले माधव नेपालसित वार्ता गरेका कारण सरकारमा मौका नदिएको कुरा बताएको विषय बाहिर आएको छ’, नेपालले भने, ‘यति असहिष्णु, यति संकीर्ण सोच भएकाबाट के होला ?’ नेता नेपालले कांग्रेसलाई पार्टी नै नभएको आरोप लगाए । ‘नेपाली कांग्रेस अनुशासन पालना नगर्ने, गुटैगुटमा चिराचिरा परेको, एकले अर्काको कुरा नमान्ने विचित्रको पार्टी हो,’ नेपालले भने, ‘यो पार्टीभन्दा पाटीपौवा जस्तो छ ।’
राष्ट्रपतिको निर्वाचन आउन समय बाँकी रहेकाले अहिले नै उम्मेदवारका विषयमा छलफल नभएको उनले बताए । कांग्रेस वा गैरकांग्रेस को राष्ट्रपति हुने छलफलको विषय भएको बताउँदै उनले भने, ‘सबै पद कांग्रेसलाई नै चाहिन्छ भन्ने छैन, राष्ट्रपति पनि चाहिने, प्रधानमन्त्री पनि चाहिने तर अरुको कुरा नगर्ने भएपछि त बिग्रिन्छ नि कुरा ।’ माओवादी र जसपासितको पार्टी एकताबारे सोधिएको प्रश्नमा उनले वार्ता र छलफल चलिरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार