काठमाडौं(जस)–नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । सोमबार संघको कार्यालय बत्तीसपुतलीमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राजेन्द्र भण्डारीको कार्यसमितिले पदभार ग्रहण गरेको हो । सो कार्यक्रममा संघको तदर्थ कार्यसमिति संयोजक विमल ढकालले नवनिर्वाचित अध्यक्ष भण्डारीलाई संघको बैठक पुस्तिका (माइन्युट) हस्तान्तरण गरी जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित, प्रथम उपाध्यक्षमा खत्री, महासचिवमा भुर्तेल विजयी (नामावलीसहित)
ढकालले आफू संघको संयोजक भई कार्य गरी अनुकूल समयमा साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचन गरेर जिम्मेवारी पूरा गरेको बताए । संघका नवनिर्वाचित अध्यक्ष भण्डारीले सबैको सुझाव लिएर आफूहरु अघि बढ्ने बताए । ‘माघ ६ गते भएको संघको नयाँ कार्यसमितिको निर्वाचनमा व्यवसायीले उत्साहजनकरुपमा गरेको मतदानले आफूहरुलाई उत्साहित बनाएको भन्दै नवनिर्वाचित आफ्नो नेतृत्वको कार्यसमितिसामु चुनौतीका पहाड र अवसरका व्यापक सम्भावना रहेका छन्’, भण्डारीले भने ।
पदबहालीपछि संघको कार्यालयमा नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक अध्यक्ष भण्डारीको अध्यक्षतामा बसेको छ । पहिलो बैठकले साधारण सभामा उत्साहजनकरुपमा उपस्थित भई मतदान गर्ने व्यवसायीलगायत सबैलाई धन्यवाद दिने निर्णय गरेकोे छ । नवनिर्वाचित कार्यसमितिको पदबहाली कार्यक्रममा निवर्तमान कार्यसमिति सहसंयोजक प्रेमबहादुर कटुवाल, सदस्यसचिव प्रज्ञान न्यौपाने, संघका पूर्वमहासचिव नरेश गेलाल, मञ्चका संस्थापक तथा पूर्वमहासचिव सरोजकुमार पोखरेल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्ष कुमुद खनाललगायतको उपस्थिति रहेको थियो ।