आइतबार, माघ ८ २०७९
काठमाडौँ(जस)–उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषण (रेमिटयान्स)लाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् । प्रवासी नेपालीमञ्च अमेरिकाले शनिबार राति आयोजना गरेको ‘रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल’ विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले विप्रेषणलाई वैधानिक माध्यमबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानीको अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तयार रहेको बताए ।
अर्थमन्त्री पौडेलले भने, “बिप्रेषणको ठूलो हिस्सा बैधानिक प्रणालीबाट भित्र्याउन सकेका छैनौँ, यसका लागि लिनुपर्ने नीति, गर्नुपर्ने निर्णय र दिनुपर्ने प्रोत्साहनका लागि सरकार तयार छ ।” विप्रेषणबाट भित्रिएको रकम उत्पादन, निर्माण र रोजगारीका साथै नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सक्छौँ”, उनले भने, “त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्यालाई परिमार्जन र सुधार गर्न तयार छौँ ।”
गैरआवासीय नेपालीले उठाएको नागरिकतासम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै मन्त्री पौडेलले भने, “गैरआवासीय नेपालीको आर्थिक तथा सामाजिक अधिकारसहितको नागरिकता प्राप्त गर्ने संविधानमा हामीले जुन प्रबन्ध गरेका छौँ त्यो छिट्टै पूरा गर्ने गरी हामी अघि बढेका छौँ ।” उनले सहज ढङ्गले नागरिकता प्राप्त गर्न सकिने र नेपालमा लगानी गर्न थप अनुकूल परिस्थिति सिर्जना हुनेमा विश्वास व्यक्त गरे । वैदेशिक लगानी तथा प्रविधिसम्बन्धी ऐेनले गैरआवासीय नेपालीलाई विदेशी नागरिक सरह लिएको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले त्यस विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । गैरआवासीय नेपालीले नेपालमा आउँदा प्रवेशाज्ञा लिनुपर्ने विषयमा पनि ध्यान गएको भन्दै उनले नागिरकतासम्बन्धी विषय समाधान गरेसँगै यो समस्या पनि समाधान हुने बताए ।
“नेपालको आर्थिक विकासमा प्रवासमा रहेका गैरआवासीय नेपालीहरूको ठूलो योगदान छ । आगामी दिनमा अझ प्रभावशाली हुँदैछ”, उनले भने, “रेमिट्यान्स मात्रै नभइ वैदेशिक लगानीका निम्ति पनि नेपालको सद्भावना दूतका रूपमा प्रत्येक प्रवासी र गैरआवासीय नेपालीले भूमिका खेल्नुहुनेछ भन्नेमा विश्वास व्यक्त गर्दछु ।” उनले नेपाल लगानीका निम्ति सुरक्षित स्थान भएको र प्रतिफल पनि दिने स्थान भएको भन्दै उनले यो सन्देश संसारभरका लगानीकर्ताका माझ पु¥याइदिन आग्रह पनि गरे ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजश्व परिचालनको अवस्था गत वर्षको तुलनामा अत्यन्त कमजोर भएको वताए । पौडेलले यस वर्षको मंसिर मसान्तसम्मको राजश्व परिचालनलाई गतवर्षको सोही अवधिसम्म तुलना गर्दा करिव २० प्रतिशत कम भएको जानकारी दिए ।
राजश्वको लक्ष्य कहिले पुरा हुन्छ कहिले पुरा हुंदैन तर गतवर्षको जति पनि परिचालन गर्न नसक्नु चिन्ताको कुरा हो, अर्थमन्त्री पौडेलले भने । भूकम्प, नाकावन्दी र कोरोना महामारीवाट जोगाएर ल्याएको अर्थतन्त्रलाई अहिले कुनै प्रतिकुलता नहुंदा पनि जोगाउन निकै कठिन भएको छ । राजश्वले सामान्य खर्च समेत धान्न नसकेको जानकारी दिंदै अर्थमन्त्री पौडेलले अहिले वैदेशिक सहयोगमा पनि नेपाल पछि परिरहेको वताए ।
‘नेपाली अर्थतन्त्रलाई लयमा फर्काउनका लागि सरकार क्रियाशिल भएको छ, र अर्थमन्त्रीको रुपमा म यसपट्टी केन्द्रित छु,’ अर्थमन्त्री पौडेलले भन्नुभयो, नेपाली अर्थतन्त्रलाई जोगाउनका लागि प्रवासमा भएका नेपालीहरुले अहिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने वेला आएको छ । प्रवासमा भएका सवै नेपालीहरुले वैध माध्यमवाट मात्रै रेमिट्यान्स पठाइदिए नेपाली अर्थतन्त्रलाई निकै सहयोग पुग्ने चर्चा गर्दै उनले वैध ढंगले रेमिट्यान्स पठाउन कानुनमा संशोधन गर्न आवश्यक भए पनि सरकार तयार रहेको जानकारी दिए । कानुनमा संशोधन आवश्यक छ वा कुनै इन्सेन्टिभ आवश्यक छ भने त्यो वारेमा पनि प्रवासी नेपालीहरुले जानकारी गराउंदा उचित हुन्छ तर गैरवैंकिङ च्यानलवाट आएको रेमिट्यान्सलाई रोक्नु आवश्यक भएको छ,’ उनले भने ।
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन डा. राजन भट्टराईले अमेरिका लगायत अन्य देशका विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले नेपालमा ज्ञान र सीप भित्र्याउन महत्पपूर्ण कार्य गर्नुपर्ने वताए । कार्यक्रममा एनआरएन आइसीसीका अध्यक्ष डा.बद्री केसीले नेपालबाट कामदारलाई विदेश पठाउँदा सीपमूलकतालिम दिएर मात्र पठाउनुपर्ने बताए । उनले नागरिकताको विषय प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे । प्रवासी नेपाली मन्चका अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापाले प्रवासी नेपालीका लागि लगानी सुरक्षित गर्ने, सम्पति फिर्ता ल्याउन सहजीकरण गर्ने, डलर खाता खोल्ने, आइपीओमा लगानी गर्ने विषयमा स्पष्ट कानूनी व्यवस्था भएमा रेमिट्यान्स र लगानी अझै देशमा भित्रिने बताए । कार्यक्रममा अमेरिकी राजदूतावासका आर्थिक कन्सुलर होमकान्त भण्डारीले अमेरिकाबाट नेपालमा लगानी भित्र्याउन नीतिगत सुधारको आवश्यकता रहेको औंल्याए ।
कार्यक्रम संयोजक थोमस बास्तोलाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता प्रवासी नेपाली मन्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले गर्नुभएको थियो । कार्यक्रममा युनिभर्सिटी अफ मिनासोटाका एसोसिएट प्रोफेसर डा. सतीस देवकोटा र युनिभर्सिटी अफ इलिनोइमा अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका विद्यार्थी थोमस बास्तोलाले शीर्षकमाथि कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा सन् २००० पछि निरन्तर बढ्दै गएको र करिब एक चौथाइ हिस्सा कायम रहेको अवस्थालाई ग्राफ र पाई चार्टहरूबाट स्पष्ट पारिएको थियो । कार्यपत्रले विदेशी मुद्राको सञ्चितिमा सकारात्मक प्रभाव पारेतापनि श्रमशक्तिको विदेश पलायनले आयात बढ्ने र उत्पादन घट्ने एकसाथ भएको समेत चित्रण गरिएको छ । कोभिड १९ का कारण अर्थतन्न्त्रका तमाम क्षेत्र खस्किए पनि वैदेशिक मुद्रा सञ्चितिमा आर्थिक वर्ष सन् २०२० ÷२१ मा रेमिट्यान्सले करिब ७० प्रतिशत योगदान गरेर अर्थतन्त्रलाई टेवा पुगेको कार्यपत्रमा उल्लेख छ ।
‘रेमिट्यान्सको रकमलाई उत्पादनका क्षेत्रमा लगानी गर्ने वातावरण बनाएर समावेशी अर्थिक बृध्दिका लागि परिचालन गर्ने र देशमै रोजगारी सिर्जना गर्न सरकारले ध्यान पुर्याउनुपर्छ,’ कार्यपत्र प्रस्तुतिको क्रममा बास्तोलाले भने । ‘नेपालको विकासका लागि तीन चरणको कार्यनीति अवलम्बन गरेर पहिलो चरणमा कृषि, कृषिजन्य उद्योग, पर्यटन, नवीकरणीय उर्जा, आधारभूत आवश्यकताका क्षेत्रमा, दोस्रो चरणमा मानव संशाधनको विकास, औद्योगिकरणको क्षेत्र र सेवा क्षेत्रमा र तेस्रो चरणमा सामाजिक सुरक्षा, समता, समान अवसर आदि क्षेत्रमा लगानी केन्द्रित गरेर करिब ८ प्रतिशत आर्थिक बृध्दि हासिल गर्न सकिन्छ,’ अर्का कार्यपत्र प्रस्तोता डा. देवकोटाको धारणा थियो । कार्यक्रमका सहभागीहरूले विप्रेषणले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपालको अर्थतन्त्र मजबुत पार्न कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, मानवीय संशोधन, औद्योगिकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षा लगायतमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij