बिहिबार, माघ ५ २०७९
काठमाडौं(जस)–सबैभन्दा पहिला वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउन नीति स्पष्ट हुनुपर्छ । वैदेशिक रोजगारसँग सम्बन्धित नीति नियम र जति कानुनहरु छन त्यसलाई प्रष्ट बनाइनुपर्छ । वैदेशिक रोजगार व्यवसायीहरुलाई रेगुलेट गर्न बनेको ऐन नियम प्रष्ट छैन, अंकुश लगाइएको छ जसका कारण व्यवसायीले व्यवसाय गर्न कठिन रहेको अवस्था छ । सरकार आफु नीति प्रष्ट बनाउदैन र व्यवसायीलाई लाञ्छना लगाइरहन्छ । सरकारले जहिलेपनि हलो अड्काएर गोरु कुट्ने काम मात्र गरिरहेको छ । त्यसैले यसलाई प्रष्ट बनाउनको लागि हाम्रो समुहको पहिलो पहल हुनेछ । यसलाई समय सापेक्ष बनाउनुपर्छ भन्ने हाम्रो प्रष्ट अडान छ ।
यसमा एनजिओ आएनजिओले बढी हस्तक्षेप गरेको देखिन्छ । हामीले विगतदेखि भन्दै आएको पनि त्यही हो । हाम्रो पार्टीको सरकार हुदा पनि कतिपय कुराहरु उठान गर्दा त्यो पूर्णरुपमा सम्बोधन नभएको अवस्था छ । त्यसमा राज्यले पनि नबुझेको होकी भन्ने लाग्छ । व्यवसायीहरुलाई जतिखेर पनि अप्ठ्यारो पार्ने नीतिहरु मात्र बनाइयो । व्यवसायीको हित विपरितका नीति नियमहहरु संशोधन गर्न हामीले पहिलेदेखि नै सरकार समक्ष पटक पटक पहल गरेका छौ ।
सरकारले जिरो कष्टमा कामदार पठाउ भन्छ अनि फेरि व्यवसायीहरुलाई चाहि २ करोड धरौटि राख्न लगाउँछ । अन्य देशहरुबाट पनि केहि खर्च लिएर बैदेशिक रोजगारमा कामदार पठाउँने व्यवस्था छ । कुनै पनि काम गरिसकेपछि सेवाशुल्क सबैले पाउँछन् र हामीले पनि पाउनुपर्छ । हामीलाई कमसेकम एक महिनाको पारिश्रमिक बराबर सेवाशुल्क लिन पाउने व्यवस्था गरिनुपर्छ । यसमा हामीले राज्यलाई झक्झक्याइरहेका छौ तर सम्बोधन हुन सकिरहेको छैन । त्यो तालमेल नमिल्नाको कारण कामदार पनि मारमा परेका छन र राज्य पनि ठगिएको छ ।
हामीले व्यवसायीका समस्या समाधान गर्ने गरी योग्य र उपयुक्त समूह अगाडि सारेका छौ । सम्पुर्ण व्यवसायीले आगामी ६ गते हुन गइरहेको निर्वाचनमा हाम्रो प्यानललाई यो जिम्मेवारी दिनुभयो भने म कानुनको पनि विद्यार्थी भएको नाताले सबैभन्दा पहिला नीति नियम परिमार्जनका लागि पहल कदमी लिनेछु । राज्यले हाम्रो कुरा सुनेन भने त्यस विरुद्ध फाइट पनि गर्नुपर्छ । हामी त्यसमा तयार भएर आएका छौ ।
हामी विशेषगरी सेवा इन्ड्रष्ट्रिजमा भएकाले हामी पनि सेवामैत्री हुनुपर्छ र हामीलाई सेवामैत्री हुने वातावरण पनि सरकारले बनाइदिनुपर्छ । त्यसकारणले अब हामी त्यसमा लाग्नुपर्छ । यस्तै आर्थिक रुपमा ट्रान्सप्यारेन्ट, छिटोभन्दा छिटो कामदार पठाउने र झन्झटिलो प्रकृया हटाउन र नीजि क्षेत्रलाई विश्वास गर्ने वातावरणका लागि हामी प्रतिवद्ध भएर लाग्ने छौ । अर्को कुरा संघलाई व्यवस्थित बनाउन र सम्पुर्ण व्यवसायीहरुको आस्थाको केन्द्रविन्दु बनाउन जरुरी छ । राज्यसँग र स्टेक होल्डरसँग मिलेर निरन्तर लविङ गर्न तथा कामदार, व्यवसायी र राज्य सबै पक्षलाई फाइदा हुने यो क्षेत्रलाई व्यवस्थित गर्न हामी प्रतिवद्ध छौ । त्यसैले सम्पुर्ण व्यवसायीहरुले गम्भीर भएर सोच्ने बेला आएको छ । वहाँहरुले हामीलाई त्यो जिम्मेवारी दिनुभयो भने त्यो काम हामी गर्छौ । यसलाई स्थायीत्व दिनको निमित्त सम्बन्धित निकायमा पहल गर्नेछौ ।
राज्यको स्पष्ट नीतिगत व्यवस्था नहुदा र युट्युवरका कारण हाम्रो व्यवसाय एकदमै असुरक्षित भएको अवस्था छ । सबै व्यवसायीलाई सुरक्षाको महशुस गराउन संघले अब त्यो पहलकदमी लिन सक्नुपर्छ । राज्यलाई घचघचाएर त्यस्ता कार्यहरु बन्द गरिनुपर्छ । यस कार्यका लागि हामी प्रतिवद्ध भएर अघि बढने बाचा गर्दछौ । हामीले वैदेशिक रोजगारीको अवसरहरु ल्याइरहदा राज्यलाई पनि योगदान पु¥याइरहेका छौ र ठूलो संख्यामा आन्तरिक रोजगारी पनि प्रदान गरिरहेका छौ । हामी व्यवसायीहरुले १७ अरब भन्दा बढी धरौटी रकम राज्यको ढुकुटीमा राखेका छौ भने १ जना व्यवसायीले १५ जनासम्म मानिसलाई स्वदेशमा रोजगारी दिएको अवस्था छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गरिमामय इतिहासलाई कायम गर्नको निमित्त हामी जस्ता युवा व्यवसायीहरु तत्पर छौ । व्यवसायको हरेक अप्ठ्याराहरुमा हामी सारथी बन्नेछौ । सबैभन्दा पहिला व्यवसायलाई सुरक्षित महसुश गराउने छौ । ऐन, नीति नियममा भएको अस्पष्टताबारे राज्यका अंगहरुलाई बुझाउने कोशिस गर्नेछौ । संघको आफ्नै इतिहास छ त्यसलाई कायम गर्न र आम व्यवसायीहरुको आस्था जोगाउनको लागि हामी छिट्टै कार्ययोजना लिएर आउँछौ । त्यो कार्ययोजनामा सम्पुर्ण व्यवसायीहरुलाई अटाउने छौ, अग्रजहरुलाई सम्मान गर्ने छौ, नयाँपुस्ताका व्यवसायीहरुलाई समेत यो व्यवसाय र संघप्रति आस्थावान बनाउनको लागि हामी महत्वपूर्ण भुमिका खेल्नेछौ । सबैको सल्लाह–सुझाव लिएर स्पष्ट कार्ययोजना बनाएर र यो व्यवसायको क्षेत्रलाई सुरक्षित बनाउने खाकासहित हामी अगाडि बढ्नेछौ । तपाई आम व्यवसायीहरुले आफ्नो अमुल्य मत दिएर हामीलाई विजयी गराउनुभएमा मतको ग्यारेन्टी स्वरुप हामी काम गरेर देखाउने छौ ।
भण्डारी प्यानलमा को को छन उम्मेदवार ?
अरोरा ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक भण्डारीसँग संघ तथा मंच हाकेको लामो अनुभव रहेको छ । मंचका अन्य उम्मेदवारहरुमा ओमेगा पावर माइण्डस प्रा.लि.का सञ्चालक डिक बहादुर खत्री (कुमार) प्रथम उपाध्यक्ष, अलकरिम ह्युमन रिसोर्सेज प्रा.लि.का सञ्चालक सन्जु गुरुङ द्वितीय उपाध्यक्ष र सिम्रिक ओभरसिज प्रा.लि.का सञ्चालक रोशन कटुवाल तृतीय उपाध्यक्षको उमेदवार रहेका छन् । त्यसैगरी महासचिवमा एशिया लिंक सर्भिसेज प्रा.लिका सञ्चालक मिलन कट्टेल, सचिवमा जेजे ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक राजेन्द्र अधिकारी, कोषाध्यक्षमा रिलायन्स रिक्रुटमेन्ट सर्भिसेज प्रा.लि.की सञ्चालिका सरिता घलेलाई मंचले उम्मेदवार बनाएको छ ।
सदस्यहरुमा न्यू अल्फा एच आर सर्भिसेज प्रा.लि.का बैकुण्ठ प्रसाद पौडेल (वैभव), माउन्टेन ग्रुप इन्टरनेशनल प्रा.लि.का देउमान नेम्वाङ (डि.एम. सुब्बा), स्प्रिङ नेपाल ह्युमन रिसोर्स प्रा.लि.का शिबहरि मैनाली (सितल), अल हाया ओभरसिज प्रा.लि का आनन्दप्रसाद कोइराला, मशारेक इन्टरनेशनल सर्भिसेज प्रा.लि.का खेमनाथ गौतम उम्मेदवार रहेका छन् । सदस्यका अन्य उम्मेदवारहरुमा अल सोलुशन इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.का मोहनप्रसाद आचार्य, ग्रोथ प्रोसेस इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि.का राजेन्द्र बस्नेत, रोयल इन्टरनेशनलका जनकलाल बास्तोला, क्यारियर इन्टरनेशनल प्रा.लि.का श्यामचन्द्र खतिवडा र सुफी इन्टरनेशनल सर्भिसेज प्रा.लि.का उमेश महतो रहेका छन् ।
जनसवाल राष्ट्रिय दैनिकको २०७९ माघ ६ गते शुक्रबारको इपेपर

जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij