काठमाडौं(जस)–जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपालको संविधानको धारा १६८ (२) बमोजिम यादवलाई बुधबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको समर्थनमा यादवले बुधबार नै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
नेता यादवलाई नेकपा एमाले (२३), जसपा (१६), जनमत पार्टी (१३), माओवादी केन्द्र (आठ), राप्रपा र नागरिक उन्मुक्ति पार्टी (एक÷एक)सहित दुई जना स्वतन्त्र सांसदको समर्थन रहेको छ । समर्थन गर्ने स्वतन्त्र सांसदहरूमा सुरिता कुमारी साह र अनिरुद्रकुमार सिंह रहेका छन् । मधेश प्रदेशसभामा छ जना स्वतन्त्र रहेका छन् । सरकार गठनको दाबी पेस गर्न बिहीबार दिउँसो ४ बजेसम्मको समयसीमा भए पनि प्रदेश प्रमुख मिश्रले यादवलाई बुधबारै मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा राजेन्द्र रावल नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले उनलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नागरिक उन्मुक्तिले अन्तिम समयमा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन गरेपछि उनले बुधबार मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । माओवादी केन्द्रका खगराज भट्टको प्रस्ताव तथा नागरिक उन्मुक्तिका रामेश्वर चौधरीको समर्थनमा रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनलाई एमालेका १०, माओवादीका ११ र नागरिक उन्मुक्तिका ७ सांसदको समर्थन छ ।
कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त
कर्णालीको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का नेता राजकुमार शर्मा नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्मालाई २५ सांसदको समर्थन रहेको छ । उनलाई माओवादीका १३, एमालेका १०, राप्रपाका १, समाजवादीको १ गरी २५ सांसदको समर्थन रहेको छ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमालेका गिरीले बुधबार बिहान मात्रै मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । गिरीले ७ दलका ५८ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको छ । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।
कार्कीले शुक्रबार विश्वासको मत लिने
प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिने भएका छन् । उनले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गरेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ ग्रहण गरी पदभार सम्हालेका थिए । उनलाई नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका छ र जनता समाजवादी पार्टीको एक गरी ६० सदस्यले समर्थन जनाएका थिए ।