अंग्रेजी नयाँ बर्ष १ जनवरी २०२३ का दिन गैरआवासीय नेपाली संघको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रम अनलाईन माध्यमबाट सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले नववर्ष २०२३ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संघले उठाउदै आएको गैरआवासीय नेपाली नागरिकता, सामाजिक सुरक्षा कोष, विदेशमा बस्ने नेपालीको मताधिकार, डलर खाता लगायतका विषयमा महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो ।
कार्यक्रममा संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली संघले उठाउदै आएका अधिकांस मागहरु सन २०२३ मा पुरा हुने अवस्थामा रहेको बताउनु भयो । उहाँले नेपाल सरकारले पछिल्लो समयमा धेरै नीतिगत सुधार गरेको बताउँदै सरकारको निर्णयले संघलाई उत्साहित बनाएको बताउनुभयो ।
करिब २० देशका गैरआवासीय नेपालीहरुको उपस्थितीमा भर्चुअल मार्फत भएको कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले संस्थागत रुपमा सन २०२२ विर्सन लायक भएको भन्दै गतवर्षको गल्तीहरुबाट सिकेर आगामी वर्षमा अघि बढ्न सुझाव दिनु भएको थियो । यस्तै उहाँहरुले आगामी वर्षमा संस्थालाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउँदै संघको अभियानमा नयाँ वर्ष महत्वपूर्ण रहने बताउनुभयो ।
उक्त कार्यक्रममा गायक नविन पौडेल, गजलकार सुभद्रा ढकाल, हास्यकलाकारद्वय जितु नेपाल र संदिप क्षेत्रीको विशेष प्रस्तुती रहेको थियो भने कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरु, एनसिसिका पदाधिकारीहरु, संघका अभियन्ताहरु, संचारकर्मीहरु दिलभूषण पाठक, भूषण दाहाल, राजकुमार थापा लगायतले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिदै आ आफ्नो प्रस्तुती दिनु भएको थियो ।
कार्यक्रमको संचालन संघका उपमहासचिव रामशरण सिंखडा र एशिया प्रशान्त क्षेत्रका क्षेत्रिय संयोजक पारस मणि पोखरेलले गर्नु भएको थियो ।