काठमाडौं(एजेन्सी)–अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आफ्नो दोस्रो र सम्भवतः अन्तिम विश्वकपको फाइनलमा खेल खेल्दै छन् । दुई पटकको विश्व विजेता अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा उपाधि हात पारेयता विश्वकप जित्न सकेको छैन् । लियोलन मेस्सीका लागि आइतबार कतारको लुसेल स्टेडियममा फ्रान्सविरुद्ध हुने फाइनल खेल विश्वकपको ट्रफी हात पार्ने अन्तिम मौका हो । जुन ट्रफी उनको करियरबाटै टाढै रहको छ ।
मेस्सीले आफ्नो टिमलाई विश्व विजेता बनाए भने उनी यो पुस्ताको महान खेलाडी बन्ने छन् । किनकी क्रिस्टियानो रोनाल्डो र मेस्सीबीचमा लामो समयदेखि महान खेलाडीका बारेमा प्रतिस्पर्धा चलिरहेको छ । रोनाल्डोले आफ्नो देशलाई कहिल्यै फाइनलमा पु¥याएका छैनन् । मेस्सीले भने दुई पटक फाइनलमा पु¥याएका छन् ।
पूरा होला त मेस्सीको सपना ?
३७ वर्षीय रोनाल्डो जारी विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँगको खेलको पहिलो हाफमा पोर्चुगलको बेन्चमा थिए । दोस्रो हाफमा मैदान प्रवेश गरे पनि खेल जिताउन सकेनन् । विश्वकपको ट्रफी उचाल्ने आफ्नो अन्तिम मौका समाप्त भएकाले उनी मैदानबाट आँसु झार्दै बाहिरिए । तर, मेस्सीले अर्जेन्टिनाको जर्सीमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई फाइनलमा पु¥याएका छन् । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी भन्छन्, ‘जब हामीले उसलाई खेलेको देख्छौं, उसले हामीलाई र खेलाडीहरूलाई केही विशेष महसुस गराउँछन्, उसको बारेमा केही छ, जुन विश्वका मानिसहरूले मन पराउँछन् ।’

डिएगो म्याराडोनासँगै अर्जेन्टिनाका दुई सबैभन्दा प्रतिष्ठित फुटबल स्टारका रूपमा मेस्सीको स्थान केही समयदेखि सुरक्षित छ । तर, उनले आफ्नो राष्ट्रिय टोलीलाई विश्वकपको उपाधि दिलाएर म्याराडोनाको सबैभन्दा ठुलो उपलब्धिको अनुकरण गर्न सकेका छैनन् । सन २०१० मा दक्षिण अफ्रिकामा म्याराडोना प्रशिक्षक र स्टार खेलाडीको रूपमा मेस्सीको सम्भावित ‘सपना टोली’ थियो । तर, अर्जेन्टिना जर्मनीसँग ४–० ले पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको थियो । सन २०१४ मा ब्राजिलमा भएको विश्वकपमा मेस्सीले अर्जेन्टिनालाई फाइनलमा पु¥याए । फाइनलमा फेरि जर्मनीसँग भिड्यो । निर्धारित समय गोलरहीत बराबरीमा सकिएपछि मेस्सीको अर्जेन्टिना अतिरिक्त समयमा १–० ले पराजित भयो । र, मेस्सीको विश्वकप जित्ने सपना अधुरै रह्यो । तर, ३५ वर्षीय मेस्सी फेरि एक पटक विश्वकप विजेता बन्ने अन्तिम मौका आएको छ । जारी विश्वकपमा पाँच गोल र तीन असिस्टसहित उनी गोल्डेन बुटको प्रमुख दाबेदार पनि छन् । फ्रान्सका फरवार्ड किलियन एमबाप्पेले गोल्डेन बुटका लागि मेस्सीलाई पछ्याइरहेका छन् । एम्बाप्पेले पाँच गोल र दुई असिस्ट गरेका छन् । यस्तै जुलियन अल्भारेजलाई स्थापित गराउन पनि मेस्सीको भूमिका महत्वपूर्ण छ । चार गोलसहीत अल्भारेजको उदय अर्जेन्टिनाको प्रगतिको लागि महत्त्वपूर्ण छ ।
फुटबल इतिहासमा अर्जेन्टिना भर्सेस फ्रान्स !
चार च्याम्पियन्स लिग उपाधि र विश्वका उत्कृष्ट खेलाडीका लागि सात बालोन डीओर अवार्ड जितिसकेका मेस्सीले आफ्नो व्यक्तिगत ट्रफीको संग्रह पूरा गर्ने लक्ष्य राख्दै गर्दा अर्जेन्टिनाले तेस्रो विश्वकपको लागि लामो प्रतीक्षा अन्त्य गर्न खोजिरहेको छ । यदि मेस्सीले विश्वकप नजितेर सन्यास लिए भने अर्जेन्टिनाले अझै विश्वकपका लागि कति कुर्नुपर्ने हो ? प्रश्न खडा भएको छ । कतारको सडकमा मार्चपास गर्दै प्रतियोगितालाई उज्यालो पारेका अर्जेन्टिनाका फ्यानहरूमा प्रतीक्षाको भावना बढ्दै गएको छ । मेस्सीले यो विश्वासलाई कायम राख्न खोजिरहेका छन् ।