आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस विशेष कार्यक्रमका साथ मनाइँदै

शनिबार, पुष २ २०७९

काठमाडौं । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरुमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आप्रवासी दिवस सप्ताहव्यापीरुपमा मनाउने पत्रकार सम्मेलनमा जानकारी दिए ।
वैदेशिक रोजगारबाट प्राप्त सीप, पूँजी र ज्ञानः उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने नारासहित १६ देखि २२ डिसेम्बरसम्म सप्ताहव्यापी आप्रवासी दिवस मनाइने उनले बताए । सचिव अर्यालले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकका लागि पुनः एकीकरणको कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ मार्फत पालिकासँग सहकार्य गरिरहेको समेत जानकारी दिए ।
देशको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । रोजगारीका लागि विदेशिनु बाध्यता हो, यसको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘अहिले हामीले एक सय ५० वटा पालिकासँगको सहकार्यमा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई पुनः एकीकरण गर्नका लागि काम सुरु गरेका छौं ।’
कूल गार्हस्थ्य उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान झण्डै २५ प्रतिशत रहेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०६५÷६६ देखि २०७८÷७९ सम्म दुई लाख ७६ हजार दुई सय ४२ महिलासहित ५० लाख आठ सय ३३ श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्यांकअनुसार १४ वर्षमा १० हजार नौ सय ३२ जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ । यस्तै दुई हजार एक सय २५ गम्भीर बिरामी र अङ्गभङ्ग भएका छन् । उनले सातै प्रदेशमा वैदेशिक रोजगारका लागि श्रमिकलाई तालिमको व्यवस्था गर्ने तयारी भइरहेको समेत बताए । अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइओएम)का तथ्यांकअनुसार विश्वभर २८ करोड ५९ लाख आप्रवासी श्रमिक रहेका छन् । संयुक्त राष्ट्रसंघको महासभाले सन् २००० डिसेम्बर ४ मा प्रस्ताव नं ५५÷९३ लाई पारित गर्दै संसारभर ठूलो संख्यामा रहेका आप्रवासीको सरोकारको दस्तावेज पारित भएको दिन १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका रुपमा मनाउन थालिएको हो । नेपालमा पनि यो दिवस सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक समाज, आप्रवासी श्रमिक तथा उनीहरुका परिवारलगायतको संयुक्त पहलमा मनाइँदै आइने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार