आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

दलहरुले गरे समानुपातिकतर्फका सांसद सिफारिस, कुन दलबाट को–को परे सूचीमा (नामसहित)

सोमबार समानुपातिक सांसदहरु निर्वाचित भएको घोषणा हुने

आइतबार, मंसिर २५ २०७९

काठमाडौं(जस)–राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फ स्थान प्राप्त गर्ने बन्दसूचीमा रहेका उम्मेदवारबाट सांसदको नाम सिफारिस गरेका छन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ मतगणना सकिएपछि आयोगले यही मङ्सिर २२ गते थ्रेसहोल्ड कटाउने दलहरूलाई बन्दसूचीमा समावेश समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गरेको थियो । अ
ायोगले नाम बुझाउन प्रतिनिधिसभातर्फ तीन दिन र प्रदेशसभातर्फ सात दिनको समय दिएको थियो । हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५÷५ सिट समानुपातिकतर्फ सिट संख्या प्राप्त गरेका थिए ।
प्रतिनिधिसभातर्फको नाम सिफारिस गर्न शनिबार ४ बजेसम्म समय दिइएकोमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले नामावली बुझाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा मुकुल ढकालले आफ्नो पार्टीले पार्टीगत प्रारम्भिक निर्वाचनमा अगाडि रहेका र कानुनको विधिलाई पालना गरेर त्रुटीरहित सूची बुझाएको प्रतिक्रिया दिए ।
आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र विभिन्न प्रदेशसभातर्फ दलहरुले नाम बुझाएको जनाएको छ । प्राप्त नामावालीलाई कार्यालयले समावेशी समूहसँग भिडाउँदा नमिलेको पाइएमा सम्बन्धित दललाई पुनः सच्याएर पठाउन समय दिनेछ । आयोगले यही मङ्सिर २६ गतेभित्रमा निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेकामा केही दिनपछि सर्ने देखिएको छ ।
एमालेका ३४ समानुपातिक सांसद सिफारिस
नेकपा एमालेले प्रतिनिधिसभातर्फको समानुपातिक सांसदको टुंगो लगाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरी ३४ सांसदको नाम टुङ्गो लगाइएको पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । एमालेको समानुपातिक सूचीमा एकनाथ ढकालदेखि सुनिता बरालसम्मलाई अटाएको छ । एमालेले चयन गरेका सांसदहरुको नामावली आदिवासी जनजातितर्फ ः पुरुष ः देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, महिला ः नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा, खसआर्यतर्फ ः पुरुष ः रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, महिला ः मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल, थारु ः आश्माकुमारी चौधरी, शान्ति चौधरी, दलित ः ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा, मधेशी ः गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया, मुस्लिम ः सराज अहमद खान रहेका छन् ।
यस्तै नेकपा एमालेले प्रदेशसभा तर्फको समानुपातिक सांसदको टुंगो लगाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले सातै प्रदेशमा एमालेका प्रदेश सभा तर्फका समानुपातिक सांसदको नाम टुंगाएको हो । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभाका सहित सातै प्रदेशका समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएको जानकारी दिएका छन् ।
मंसिर २६ गते निर्वाचितको नाम घोषणा हुने
आयोगले मंसिर २६ गतेसम्म समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरु पनि निर्वाचित भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धि सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ । आयोगका सहसचिव भट्टराईले समानुपातिकतर्फको पनि सांसदहरु निर्वाचित भएको घोषणा भएको मितिले ७ दिन भित्र राष्ट्रपति समक्ष निर्वाचन सम्बन्धि प्रतिवेदन बुझाई सक्नुपर्ने कानूनी व्यवस्था भएकाले सोही अनुसार काम गर्ने बताए ।
कांग्रेसले छान्यो ३२ समानुपातिक सांसद
नेपाली कांग्रेसले ३२ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । कांग्रेसले विमलेन्द्र निधि, जीवन परियार र डा. प्रकाशशरण महतको नाम टुंगो लगाएको हो । यसअघि चर्चामा रहेका गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर र योगेन्द्र चौधरी भने सूचीमा परेनन् । कांग्रेसले खस आर्यबाट प्रकाशशरण महत, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई चयन गरेको छ ।
आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बु), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लगाएको छ । दलितबाट जीवन परियार, शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् ।मधेसी कोटाबाट नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन् । त्यस्तै मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसद चुनिएका छन् ।
माओवादी केन्द्रको १४ जना सिफारिस
नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १४ सांसदको चयन गरेको छ । माओवादी केन्द्रले समानुपातिकतर्फ पाएको १४ जना सांसदको नाम निर्वाचन आयोगमा बुझाएको हो । माओवादी केन्द्रबाट आदिवासी जनतजातितर्फ दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ रहेका छन् । त्यस्तै खस आर्यतर्फबाट माओवादी केन्द्रले हितराज पाण्डे, ज्ञानु बस्ने सुवेदी, विमला सुवेदी र नारायणी शर्मालाई छानेको छ । त्यसैगरी थारुतर्फ रूपा सोसी चौधरी रहेकी छन् भने दलितर्फ रनेन्द्र बराली र सुशिला श्रीपाली ठकुरी रहेका छन् । त्यस्तै मधेसीतर्फ मीना यादव र उमरावती देवी यादव रहेका छन् भने मुस्लिमतर्फ कल्पना मियाँ रहेकी छन् ।
राप्रपाले पनि छान्यो
राप्रपाले प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फका २४ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ । राप्रपाले प्रतिनिधिसभातर्फ पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा, बीना जैसवाल र अनिषा नेपालीको नाम आयोगमा पठाएको हो । केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको थियो । राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश सभातर्फ प्रदेश १ मा ४, मधेसमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना समानुपातिक सांसद छानेको छ ।
जनमत पार्टीले बुझायो नाम
जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो । पार्टीले प्रतिनिधिसभा समानुपातिक सदस्यमा अनिता साह र वशन्तकुमार कुशवाहा (मेधशी), सोनु मुर्मर र बिनिताकुमारी सिंह (आदिवासी जनजाति), अब्दुल खान (मुस्लिम) र गोमा लामा सापकोटा (खस आर्य)लाई सिफारिस गरेको छ । त्यसैगरी प्रदेशसभाको समानुपातिक सदस्यमा मधेस प्रदेशमा बबिता राउत र अनिताकुमारी साह (मधेशी महिला), चन्दनकुमार सिंह (मधेशी अल्पसंख्यक), रञ्जुकुमारी खंग (खत्वे) (दलित महिला), वशन्तकुमार कुशवाहा (मधेशी, हसिना खातुन (मुस्लिम महिला) र भाग्यश्री कुमारी चौधरी आदिवासी जनजाती महिला सिफारिस गरिएको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए । पार्टीले लुम्बिनी प्रदेशमा समानुपातिक सदस्यमा सुमन शर्मा रायमाझी र आदिवासीतर्फ गिता गुरुङलाई सिफारिस गरेको छ । जनमत पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिट र प्रदेशसभामा मधेस प्रदेशमा छ र लुम्बिनीमा एक गरी सात प्रदेशसभा सदस्य जितेको थियो ।
एकीकृत समाजवादीले टुंगायोे नाम
नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेससभाका लागि समानुपातिकतर्फ निर्वाचित सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । सअनुसार प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेश प्रदेशमा रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस भएको छ । यस्तै, बागमती प्रदेशमा मायादेवी शर्मा र ओमकुमार श्रेष्ठ छनोट भएका छन् । लुम्बिनी प्रदेशमा भगवती अधिकारी, कर्णाली प्रदेशमा कल्याणी खड्का र सुदूरपश्चिममा माया पन्तको नाम सिफारिस भएको छ । मंसिर ४ गतेको निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको मत अनुसार एकीकृत समाजवादी पार्टीले प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा १–१ जना, मधेश प्रदेशमा ३ र वाग्मतीमा २ सिट जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार