काठमाडौँ(जस)–प्रमुख राजनीतिक दलहरु हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षामा जुटेका छन् । मंसिर ४ मा सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस र दोश्रो दल बनेको नेकपा एमालेले भावी रणनीति तया गर्न पार्टीको बैठक बोलाएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २४ गते शनिबार बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
एमालेले डाक्यो शुक्रबार सचिवालय बैठक
नेकपा (एमाले) ले शुक्रबार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए । उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ । निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ । एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ । एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो भोलि लगाउने भएको छ । नेकपा एमाले उपमहासचिब प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिए । नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ ।
निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा
लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो । विसं २०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता महतोले चुनाव जितेका थिए । यसपटको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झालाई छाडेर सर्लाही–२ बाट चुनाव लडेका थिए तर, धनुषा–३ मा झा र सर्लाही–२ मा महतो दुवैजना पराजित भए ।
नेता झालाई एमालेकी जुली महतोले पराजित गरेकी हुन् भने महतोलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले पराजित गरे । धनुषा–३ महतोको पुरानो चुनावी क्षेत्र भएको कारणले उनलाई पनि बैठकमा सहभागी गराई समीक्षा सुरु गरिएको लोसपाका नेता मनोज चौधरीले जानकारी दिए । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेता झा कसरी पराजित भए भन्नेबारेमा समीक्षा भइरहेको उनले बताए ।
एमाले सरकार गठनको दौडमा छैन ः उपाध्यक्ष पाण्डे
नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल, चितवन शाखाले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गरे । उनले भने, “अहिलेको संसद्मा एमाले प्रतिपक्षमा रहन्छ ।” अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताए । संसद्मा कुनै पनि दलको बहुमत नपुग्दा सरकारले परिणाम दिने गरी काम गर्न नसक्ने उनको भनाइ थियो ।
देशमा आर्थिक र राजनीतिक सङ्कट देखा परे कांग्रेस र एमालेबीच सहकार्य हुनसक्ने उनले बताए । निर्वाचनमा जनताले पुराना ठूला पार्टीलाई सजग गराउन खोजेको भन्दै उपाध्यक्ष पाण्डेले अब ठूला पुराना पार्टी सच्चिनुपर्ने अवस्था आएको बताए । “एमाले र कांग्रेस सच्चिनुपर्छ”, उनले भने । उनले भने, “जनता हिजोदेखि स्थापित पार्टीको पक्षमा देखिए पनि खबरदारी गरेको पाइयो ।” तत्काल वाम एकता सम्भव नरहेको उपाध्यक्ष पाण्डेको भनाइ छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सबै दलले आफ्नो मत गुमाउन पुगेकाले अबको राजनीति सहज नहुने उनले बताए ।