कतारमा रहेका नेपाली संघसंस्था बन्द गराउने राजदुत ढकालको तयारी,सँस्थाहरुद्वारा तिब्र विरोध
कतारका लागि नेपाली राजदुत डा.नरेशबिक्रम ढकालसँग नेपालबाट कतार भ्रमणमा आएका विभिन्न संचार माध्यमका पत्रकारहरुले नेपाली राजदुतावासमा भेटघाट गरेका छन ।भेटघाटमा ढकालले कतारमा रहेका नेपाली संघसंस्था आवश्यक नभएको भन्दै बन्द गर्ने दावी गरेका छन । कतारमा रहेका २ सय भन्दा बढी नेपाली संघसंस्था नेपाली दूतावासमा सुचिकरण हुँदै आएकोमा अव त्यस्ता संस्थालाई अनुमति नदिने र बन्द गराउने राजदुत ढकालले दावी गरेका छन ।
‘कुनैबेला संघसंस्था आवश्यक थियो, दूतावासमा सुचिकरण भयो होला तर अव उनिहरुको आवश्यक छैन’ राजदूत ढकालले नेपालबाट कतार भ्रमणमा आएका विभिन्न विभिन्न संचार माध्यमका पत्रकार सामु भने –‘कतार आएका नेपालीले यहाँ इमान्दारितापूर्वक काम गर्ने र पैसा कमाउने हो, संघसंस्था खोलेर राजनीति गर्ने होइन,राजनिती गर्न लाई नेपाल जानको लागी उनले आग्रह गरे ।
कतारमा रहेका नेपाली संघ संस्थाहरुले नेपाली दूतावासमा सुचिकरण गरेर समस्यामा परेका नेपालीलाई उद्दार लगाएतका आफ्ना गतिविधि संचालन गर्दै आईरहेका छन् । अहिले नेपाली दूतावास कतारमा १ सय ६३ वटा संस्था सुचिकरण भएका छन् ।
‘नेपालका राजनीतिक दल तथा अन्य आस्था बोकेका संस्था दूतावासमा दर्ता हुनु पटक्कै आवश्यक छैन’ राजदूत ढकाल भन्छन् –‘राजनीति गर्ने इच्छा भए नेपालमा नै गएर गर्दा हुन्छ, यहाँ त काम गर्ने, आफ्नो र परिवारको चिन्ता लिने हो, राजनीति गर्नका लागि कतारमा पटक्कै छुट छैन ।’
‘प्रवासमा संस्था चलाउनका लागि अनावश्यक खर्च, कार्यक्रम, लेवी उठाउँदा आर्थिक भार आफैलाई पर्छ, अर्कोतर्फ कानूनी हिसावले कतारमा संघसंस्था खोल्न नै पाइदैन’ राजदूत ढकालले दावी गरे । दूतावासमा दर्ता गरेको भन्दै संचालन भइरहेका संस्थाको अडिट, हिसाव किताव कस्तो छ, कसले हेरिरहेको छ ? राजदूतले उल्टो प्रश्न गरे ?
यद्यपी राजदूत ढकालले १० देखि १५ वटा सामाजिक संस्था भने दर्ता गर्न सकिने बताएका छन् । ‘नेपाली संस्था नै चाहिदैन भन्न खोजेको होइन, सबैको प्रतिनिधित्व हुने गरी ७ प्रदेशस्तरका संस्था दर्ता गर्न सकिन्छ, एनआरएनए, नेपाली ब्यावसायी संघ,कलासंस्कृति समेट्ने संस्थाहरु र जनजाती महासंघलाई राख्न सकिन्छ, अन्य राजनीतिक तथा जिल्लागत संस्थाहरु आवश्यक छैन ।’
नेपाली दूतावासलाई संस्था दर्ताको लागि कुनै पनि अनुमति नभएको र कानूनले नै नदिएकोले अब अनावश्यक संघसंस्था दर्ता नगर्ने अडानमा राजदूत ढकाल रहेका छन तर यस्को सबै संघ सँस्थाले खुलेर विरोध गरेका छन । नेपाली समुदायका अगुवाहरुसँग यस विषयमा छलफल भइरहेको समेत ढकालले बताए ।

नेपाली संघसंस्थाले आफ्नो क्षेत्र, समुदाय तथा देशका लागि सामाजिक, आर्थिक तथा अन्य सहयोग पुर्याउँदै आइरहेको अवस्थामा संस्था नै बन्द गराउन नहुने आवाज उठेको छ ।
नेपाल र नेपालीको पक्षमा काम गरिरहेका संघसंस्थाले राजदूतको कदमको विरोध गर्लान नि त ? भन्ने प्रश्नमा ढकाल भन्छन् –‘संघसंस्था दर्ताको लागि अनुमति पत्र नेपाल सरकारबाट ल्याउनु होस नत्र मलाई कन्भिस गर्नुहोस ।’
नेपाली सममुदाय कतारका संयोजक रम्जान अलि मियाले कतारमा यस्ता संस्थाहरु धेरै खुल्दा समस्या झन बढेको बताउदै नेपाल र नेपालीको हित गर्ने खालका थोरै संस्था मात्र आवश्यकता रहेको बताए । उनले भने ‘यस्ता संस्थाहरुले जनचेतना फैलाउने तथा नेपाल र नेपालीको हित हुने काम गर्नु पर्छ न कि राजनीति ।’
स्याङ्जा सहयोग समाजका पुर्व अध्यक्ष टुकराज अर्यालले दूतावास भन्दा पहिला र धेरै सामाजिक काम कतारमा रहेका नेपाली संघ सँस्थाले गरेको बताउदै उनीहरुको कामको अवमूल्यन गर्न नहुने बताए । ‘९९ प्रतिशत संस्थाले दूतावासको सहकार्यमा आफ्नो गास काटेर समाज सेवा गरिरहेका छन’ अर्याल भन्छन –‘यस्ता संस्था बन्द गराउनु भनेको आफ्ना नागरिकको अधिकार हनन गरिनु हो ।’
‘कतारमा रहेका सबै संघसंस्थाले राजनीति मात्र गरेका छैनन, सामाजिक कार्य तथा नेपालीको हकहितका लागि काम गरिरहेका संस्थाहरु पनि रहेका छन । यस्ता संस्था बन्द गरिनु भनेको नेपालीले नेपालीलाई नै दबाउनु हो’ कतारका धेरै नेपाली सामाजिक संस्थाका पदाधिकारीले भने ।
विश्वकपबाट नेपालीलाई फाइदा : राजदूत ढकाल
विश्वकप फुटवल खेलाइरहेको कतारबाट नेपाल र नेपालीले धेरै फाइदा लिइरहेको राजदुत ढकालले बताएका छन् । विश्वका मानिस कतार आउदा नेपाली कामदारको काम, मेहनत र लगाव देख्ने मौकासमेत पाएको राजदूत ढकालको भनाई छ ।
आफुले बनाएको रंगशालामा विश्वकपका खेल चलिरहनु नेपाली कामदारका लागि गौरवको कुरा भएको बताउदै राजदूत ढकालले विश्वकपकै दौरानमा पनि धेरैभन्दा धेरै नेपालीले रोजगारीको अवसर पाउने अवस्था रहदा पनि नेपाल सरकारको नियम कानुनका कारण यो अवसर उपयोग गर्न नसकिएको बताए ।
‘कतार सरकारले विश्वकपका लागि धेरैभन्दा धेरै नेपाली कामदारको माग गरेपनि नेपाल सरकारको नीति तथा कानुनका कारण नेपाली कामदार लैजान सकिएन’ राजदूत ढकालले भने । तथापी अहिले विश्वकप चलिरहेको रंगशालामा स्वयंसेवककारुपमा हजारौ नेपालीहरुले काम गरिरहेका छन ।
कतारमा नेपाली कामदारको मृत्युको विषयमा राजदूत ढकालले मृत्यु स्वभाविक रहेको र तुलनात्मकरुपमा मृत्युदर धेरै नरहेको हुदा यसलाई ठुलो इश्यु बनाउनुपर्ने कारण नरहेको बताए । उनले कतारबाट धेरै लाभ लिन सकिने र भोलिका दिनमा पनि नेपालीहरुलाई कतारमा रोजगारका अवसरहरु अझै बढने अवस्था रहेको पनि बताए ।