आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नयाँ सरकार गठनको तयारी : प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता, भारतीय राजदूतको सक्रियता

ओली भन्छन– सरकार गठन नै गाह्रो छ

आइतबार, मंसिर ११ २०७९

काठमाडौँ(जस)–प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम निष्कर्षउन्मुख बनेसँगै दलहरु नयाँ सरकार गठनको तयारीमा लागेका छन् । यसैक्रममा वर्तमान सत्ता गठबन्धनका प्रमुख दुई शक्ति नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रले आगमी सरकारको नेतृत्वबारेछलफल शुरु गरेका छन्े । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समेत गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम सार्वजनिक भइरहकै समयमा शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार उनीहरूबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्र सहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी सहकार्यका रूपमा हेरिएको छ ।
पछिल्लो समय दलहरुबीच आन्तरिक रुपमा नयाँ सरकार गठनको चर्चा शुरु भएसँगै नेपालस्थित भारतीय राजदूतले भने आफ्नो सक्रियता बढाएका छन् । नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवले शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । शनिबार प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच भेटवार्ता भएको हो । भारतीय राजदूत नविन श्रीवास्तव खुमलटारमै पुगेर अध्यक्षज्युसँग भेटवार्ता गरेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड र श्रीवास्तवबीच समसमायिक विषयमा पनि छलफल भएको थियो । राजदूत श्रीवास्तवले यसअघि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
सरकार गठन नै गाह्रो : ओली
यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मत परिणामले सरकार गठन सहज रुपमा सरकार गठन हुने अवस्था नदेखिएको बताएका छन् । झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा निर्वाचित अध्यक्ष ओलीले आफ्ना निर्वाचन क्षेत्रका मतदातासँग घरदैलो कार्यक्रममा सहभागी हुँदै सरकार गठन हुनै गाह्रो भयो भने टिकाउन झन् गाह्रो हुने बताएका छन् । जटिल अवस्थामा आफूहरूको भूमिका थप महत्वपूर्ण हुने भएकाले त्यो भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।
ओलीले देशको अन्य क्षेत्रभन्दा झापामा आएको निर्वाचन परिणामले आफू धेरै उत्साहित भएको बताएका छन् । कतिपय ठाउँमा धाँधली र सत्ताको दुरुपयोग भएको उनले आरोप लगाए । यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उनले बताएका छन् । झापामा प्रतिनिधि सभामा ५ वटा क्षेत्रमध्ये ३ वटा क्षेत्रमा एमाले, १ वटामा कांग्रेस र १ वटामा राप्रपाले जित निकालेको छ ।
हालसम्मको मतपरिणामअनुसार कुनै पनि दल बहुमत प्राप्त गर्नबाट वञ्चित भएका छन् । सत्ता र विपक्षी दुवै गठबन्धनले उस्तै उस्तै संख्यामा जित हासिल गरेका छन् । त्यसैले अब त्रिशंकु संसद् बन्ने निश्चित छ । यस आधारमा कुनै एक दल एक्लैले सरकार बनाउने परिस्थिति देखिन्न । प्रत्यक्ष निर्वाचनको परिणामले मात्र सरकार बन्न नसक्ने भएपछि समानुपातिक मतपरिणाम चाहिन्छ नै । त्यही भएर अब २२ मंसिरसम्म दलहरूबीच कस्तो सरकार बनाउने भन्ने रस्साकस्सी चल्ने देखिन्छ ।
सत्तागठबन्धनले सोचेजस्तो नतिजा हात नपारेकाले शीर्ष नेताहरू असन्तुष्ट बनेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नतिजाप्रति खुसी छैनन् । उनीहरू नेपाली कांग्रेससँग निकै रुष्ट बनेका छन् । तथापि सत्तागठबन्धनको बैठक राखेर छलफल हुने प्रचण्ड र नेपालले बताइसकेका छन् । सबैभन्दा पहिलो विकल्प अहिलेका लागि सत्तागठबन्धनलाई नै निरन्तरता दिनु हो । त्यसका लागि ठूलो दलको हैसियतमा कांग्रेस नेतृत्वमा सरकार बन्ने छ । तर त्यसका लागि प्रधानमन्त्री को बन्ने भन्ने यकिन हुन सकेको छैन । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नै निरन्तरता दिने कि विकल्प खोज्ने भन्नेमा छलफल हुन बाँकी छ । यदि प्रचण्ड, माधव नेपालले माने भने देउवा प्रधानमन्त्री बन्छन् नत्रभने गठबन्धन टुट्छ ।
एमाले अध्यक्ष केपी ओलीले चुनावपछि आफ्नो नेतृत्वमा सरकार बनाउने घोषणा नै गरिसकेका छन् । निर्वाचनको मतपरिणामले एमाले गठबन्धनलाई सरकार बनाउन निकै कठिन छ । किनकि एक सय ३८ सिट पुग्दैन । त्यसैले ओली प्रधानमन्त्री बन्न सबैभन्दा पहिले अहिलेको सत्तागठबन्धन तोडिनुपर्ने हुन्छ । यदि गठबन्धन टुटेमा एमाले, माओवादी र एकीकृत समाजवादीको संयुक्त सरकार बन्नेछ । त्यसका लागि राप्रपासमेत आवश्यक पर्दैन । सजिलै एक सय ३८ पुग्छ । तर, एमाले अध्यक्ष ओलीले कस्तो रणनीति अपनाउँछन् भन्ने कुराले नै धेरै कुरा निर्भर गर्छ । अहिलेको गठबन्धन टुटाउन उनले प्रचण्डलाई प्रधानमन्त्रीमा अफर गर्नसमेत सक्नेछन् । त्यसो भएमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना सकिनेछ । ओलीले निर्वाचनमा विजयी हासिल गरेको भन्दै प्रचण्डलाई फोन गरेर बधाई दिदै मिलेर जान आग्रह गरेसँगै नयाँ सरकारका लागि नयाँ समीकरण बन्न सक्ने अनुमान पनि गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार