आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

विश्वकपमा स्पेनको सर्वाधिक सात गोल, बेल्जियमको विजयी सुरुआत

बिहिबार, मंसिर ८ २०७९

काठमाडौं । फेरान टोरेजको दुई गोल प्रेरित स्पेनले कोस्टारिकामाथि ७-० को प्रभावशाली जित सहित कतार विश्वकप २०२२ मा सुरुआत गरेको छ । दोहास्थित अल थुमामा रंगशालामा प्राप्त जितसँगै स्पेनले विश्वकप फुटबलको इतिहासमै सबभन्दा फराकिलो जित पारेको हो । समूह ‘ई’को आफ्नो पहिलो खेलमा स्पेनलाइै जित दिलाउन टोरेजले दुई गोल गर्दा ड्यानी ओल्मो, मार्को एसेन्सियो, गाबी, कार्लोस सोलर र अल्भारो मोराटाले एक एक गोल गरेका थिए ।

बार्सिलोनाका १८ वर्षे मिड्फिल्डर गाबी स्पेनिस राष्ट्रिय टोलीका लागि सबभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका छन् । स्पेनका लागि १४ खेलमा उनको व्यक्तिगत गोलसंख्या चार पुगेको छ । विश्वकपमा भने उनको यो पहिलो गोल हो ।

समूह ‘ई’ मा बुधबार भएको खेलमा चार पटकको पूर्व विजेता जर्मनीलाई २-१ को नतिजामा स्तब्ध पार्दै एसियाली मुलुक जापानले विश्वकपको सुखद सुरुआत गरेको थियो ।

बेल्जियमको विजयी सुरुआत

क्यानडालाई १-० ले पराजित गर्दै बेल्जियमले कतार फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।

अहमद बिन अलि स्टेडियममा बुधबार राति मिसी बात्सुयीको निर्णायक गोलमा बेल्जियमले महत्वपूर्ण तीन अंक जोडेको हो । उनले खेलको ४४औं मिनेटमा गरेका गोल नै निर्णायक बन्यो ।

यस अघि खेलको ११औं मिनेटमा क्यानाडाका अल्फन्सो डाभिसले पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् । उनको पेनाल्टी बेल्जियम गोलरक्षक कोर्टुवाले बचाएका थिए । समूह एफमा जितसँगै बेल्जियमले तीन अंक जोडेको छ । क्यानाडाको कुनै अंक छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार