काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज बिहानैबाट मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट देशभर मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म हुनेछ ।
देशभर १० हजार ८ सय ९२ मतदानस्थल छन् भने २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । ती मतदान केन्द्रबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्न पाउनेछन् ।
त्यसबाहेक समानुपातिकतर्फका लागि अस्थायी मतदाताका लागि १ सय ४१ अस्थायी मतदान केन्द्र कायम गरिएको छ । ४ लाख ५० हजार अस्थायी मतदाता छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ४ सय १२ र प्रदेशसभाका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
चुनावबाट प्रतिनिधिसभाका २७५ सदस्य र प्रदेश सभाका ५५० सदस्य चयन हुनेछन् । प्रतिनिधिसभाका लागि १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट चयन हुनेछन् भने सात वटा प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० जना र समानुपातिकतर्फ २२० जना निर्वाचित हुनेछन् ।

बाइस हजार दुई सय २७ मतदान केन्द्र
एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता
पासपोर्ट, लालपुर्जा र लाइसेन्स देखाएर समेत मतदान गर्न पाइने
उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपतिको आह्वान
काठमाडौं(जस)–नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आज (आइतबार मङ्सिर ४ गते) एकैचरणमा मुलुकभर हुँदैछ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् भने मतदानस्थल र मतदान केन्द्र निर्माण सकिएको छ । संविधानबमोजिम जनतामा निहीत सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यकपर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेकाले निर्धक्क भएर विवेकको मत प्रदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने भएकाले आफ्नो मतदान केन्द्रमा उपस्थित भई निर्धक्क भएर मतदान गर्न आग्रह गरे । आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्यसम्पन्न गरिसकेको छ । त्यस्तै आवश्यक सुरक्षा व्यवस्था मिलाइ सकिएकाले मतदातालाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिह्नमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिएको छ ।
प्रमुख आयुक्त थपलियाले मतदानको दिनभन्दा अगाडि र मतदान सम्पन्न भएपछि अन्तिम नतिजा नआउँदासम्म निहीत राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पु¥याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको बताए ।
आयोगले धाकधम्की, डर वा त्रास देखाइ वा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानुनबमोजिम कारवाही गर्न विशेष निर्देशन दिएको छ । आयागले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाकधम्की दिनेलगायत काम गरी निर्वाचनको स्वच्छतामा असर पु¥याउने कुनै पनि गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त सुरक्षाकर्मीको ‘रिजर्भ फोर्स’को व्यवस्था गरिएको छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकताअनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्तमात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

पासपोर्ट, लालपुर्जा र लाइसेन्स देखाएर समेत मतदान गर्न पाइने
आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि मतदाता परिचय पत्र अनिवार्य नहुने निर्वाचन आयोगले जनाएको छ । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्रबाट समेत मतदान गर्न सक्ने व्यवस्था गरेको हो । यद्यपि उक्त कुनै पनि प्रमाणपत्रको सक्कलप्रति चाहिने आयोगले उल्लेख गरेको छ ।
बाइस हजार दुई सय २७ मतदान केन्द्र
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्दै छन् । यसैगरी एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायकपर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् ।
निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ । प्रदेशसभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि तीन हजार दुई सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार सात सय आठ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ ।
यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल पाँच हजार छ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार नौ सय सात उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि तीन करोड ९९ लाख ६२ हजार ५०० मतपत्र र प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड छ लाख पाँच हजार गरी कूल आठ करोड पाँच लाख ६७ हजार ५०० मतपत्र छपाइ गरी ढुवानी गरिसकिएको छ ।
सात हजार दुई सय १९ पर्यवेक्षण
निर्वाचनसम्बन्धी काम कारवाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न अनुमतिप्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट सात हजार दुई सय सात र दुई वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना जरी सात हजार दुई सय १९ जनाले पर्यवेक्षण गर्दैछन् । पर्यवेक्षकले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित प्रणालीको एक सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको तीन सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नेछन् । आयोगले हालसम्म करिब सात हजार पाँच सयलाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको छ । आयोगको निमन्त्रणामा भारत, भूटान, बङ्गलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र श्रीलङ्का र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको निर्वाचन व्यवस्थापन गर्ने निकायको टोली मतदानको दिनको अवलोकन गर्न आउनेछन् । नेपालस्थित १८ वटा कूटनीतिक नियोगबाट समेत मतदानको दिनको अवलोकन गरिने भएको छ ।
उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपतिको आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार देशभर एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन देशवासीलाई आह्वान गरेकी छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन, २०७९ का अवसरमा शनिबार सन्देश दिँदै उनले मतदान गर्नु नागरिक अधिकारको उच्चतम् अभ्यास भएको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिकरूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा प्रतिविम्बित गर्ने बताइन । जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको उनको भनाइ छ । राष्ट्रपति भण्डारीले जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आमनिर्वाचनको ऐतिहासिक महत्व रहेको बताएकी छन् । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै उनको विश्वास छ ।
राष्ट्रपति भण्डारीले आम निर्वाचनबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शीता स्थापित गर्न मद्दत पुग्ने जनाउँदै स्वस्थ र सबल लोकतन्त्रबाट नै शान्ति, स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने बताएकी छन् । राष्ट्रपतिले आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक तथा सम्बद्ध सबैमा आह्वान गरेकी छन् ।

जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij