काठमाडौं(जस)–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटका लागि गोरखामा रहेका उनले आइतबार पालुङटार नगरपालिकाको सातदोबाटेमा आयोजित जनभेटघाटमा नेपालको अहिलेसम्मको क्रान्ति सफल पार्नका लागि अब आर्थिक क्रान्ति सुरु गर्ने बताए ।
‘हामी (वाम–लोकतान्त्रिक गठबन्धन) यो राजनीतिक परिवर्तनलाई दीगो र सफल पार्नका लागि आर्थिक क्रान्ति अनिवार्य छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ’, अध्यक्ष दाहालले भने, ‘स्थितरता र समृद्धिका लागि पनि यो गठबन्धन अहिलेको आवश्यकता बनेको छ ।’ उनले देशमा राजनीतिक परिवर्तन भए पनि जनताले अहिलेसम्म प्रत्यक्ष भोग्ने, देख्ने र महसुस गर्ने गरी आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तन नहुने खतरा बढेको बताए ।
उनले गोरखाबाट उम्मेदवार बन्न पाउँदा आफूले गर्वको महसुस गरेको बताए । अध्यक्ष दाहालले आसन्न मङ्सिरको निर्वाचन दु्ई विचार प्रवृत्ति बीचको गठबन्धन आमुन्ने सामुन्ने भएको भन्दै यो निर्वाचनको विशेष महत्वको रहेको बताए । ‘सधैँ यस्तो त हुँदैन तर यो पटक भएको छ, उनले भने, ‘हामी वाम–लोकतान्त्रिक गठबन्धन संविधानको रक्षा गर्ने स्थिरता र समृद्धिका लागि गठबन्धन हो भने अर्कोतर्फ राजावादी सामान्तवादीहरुको गठबन्धन बनेको छ ।’
गोरखाको विकासका लागि प्रचण्ड बाहेक अर्को विकल्प छैन : डा भट्टराई
पूर्वप्रधानप्रधामन्त्री डा बाबुराम भट्टराईले गोरखाको बाँकी विकास र समृद्धिको सपना पूरा गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक अर्को विकल्प नभएको बताएका छन् चुनावी अभियानअन्तर्गत मतदाता भेटघाटका लागि गोरखाको भच्चेक पुग्नुभएका डा भट्टराईले आइतबार मतदातासँगको भेटघाटममा बोल्दै गोरखालाई विकास र समृद्धिको मोडल बनाउने सपना निर्वाचन जितेर गएपछि प्रचण्डले मात्र पूरा गर्नसक्ने बताए ।
‘प्रत्येक मान्छेले सपना देखेको हुन्छ, मेरो पनि गोरखालाई विकासमा नमूना बनाउने एउटा सपना थियो’, उनले भने, ‘मैले अर्थमन्त्री र प्रधानमन्त्री बन्ने अवसरसमेत पाए, गोरखामा विकास निर्माणका पूर्वाधार सामान्य तयार भएका छन्, केही अधुरा छन्, अब निर्वाचन जितेर गएपछि बाँकी काम उनले (प्रचण्ड)ले पूरा गर्नुहुन्छ ।’ पूर्वप्रधानमन्त्री डा भट्टराईले प्रचण्डलाई गोरखाबाट चुनाव लडाउने विषय आफ्नो पहिलेदेखिको चाहना भएका बेला अन्य दल र गोरखाका जनताले चाहेकाले अहिले राम्रो अवसर मिलेको बताए ।
नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा भट्टराईले गोरखामा अधुरा रहेका पूर्वाधार निर्माणको काम आफूले छोडिसकेपछि भताभुङ हुन्छन् कि भन्ने डर भइरहेका बेला सुखद् संयोगका रुपमा प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ हस्तान्तरण गर्न पाउनु आफ्नो लागि ठूलो गर्वको विषय भएको बताए । उनले आफू सरकार बाहिर बसेर जनता र सरकारबीचको पुलको काम गर्न तयार रहेको बताए । डा भट्टराईले गोरखाले प्रधानमन्त्री र मुख्यमन्त्रीसमेत पाउने बलियो सम्भावना रहेकाले गोरखालाई विकास समृद्धिको मोडल जिल्लाको रुपमा विकास गर्न समस्या नहुनेमा जोड दिए ।