बुधबार, चैत्र १६ २०७८
मेरो चिनजानको एकजना युक्रेनी चलचित्र लेखक साथीलाइ मैले सोधेको थिएँ, “आजभोलि नेपालमा धेरैले मलाइ रुसले किन युक्रेनलाइ आक्रमण गरेको भनेर सोध्ने गरेका छन्, तपाइलाइ के लाग्छ साथी ?” उनले जबाफमा भने, “हामी युक्रेनीमध्ये लगभग ७०% भन्दा बढिलाइ पहिले नै लाग्थ्यो हामीले एकदिन रूससँग युद्ध गर्नुपर्नेछ भनेर।” एउटा जटिल प्रश्नको जबाफ पनि जटिल नै दियो उस्ले । “यो जटिल संकटको सबै उत्तर इतिहाससंग सम्बन्धित छन्, मेरो साथी।” त्यस्पछि मैले यो त्रासदिक जटिलताको शुक्ष्मता जान्न कोशिस गरें ।
मैले साधारण रूपमा बुझेको कुरा यतिबेला रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनप्रति आक्रोशित छन् । त्यती मात्रैले यो बिषयलाइ प्रश्ट पार्दैन । बिषय प्रवेश त्यहाँबाट हुन्छ, जुनबेला किभ मस्को भन्दा धेरै शक्तिशाली थियो उतिबेला युक्रेन र अमेरिका प्रतिद्वन्द्वी थिए । हालको युक्रेन ९ औं शताब्दीमा कियवियन रूस भनिने राज्य थियो जुन NATO सदस्य राष्ट्रहरू र रूस बीचको मध्यवर्ती क्षेत्र(Buffer Zone)को रूपमा अवस्थित छ। य हाँ स्लाभिक मानिसहरू बसोबास गर्थे। कीव शहर तिनीहरूको राजधानी थियो। इसं ९८१ देखि
राज्यहरूको जयपराजयमा आएको परिवर्तनले १९०० सम्ममा युक्रेनलाइ रूसी शासनको अधीनमा ल्याइदियो सोभियत गणतन्त्र अन्तर्गत। शीतयुद्धका बेला युक्रेन अमेरिकाको कट्टर प्रतिद्वन्द्वी थियो । सन् १९९१ मा सोभियत संघको पतन भयो । रूस र युक्रेन स्वतन्त्र भयो। समभाजनको बेला युक्रेनले सोभियत आणविक शस्त्रागारको धेरै हिस्सा १७६ वटा अन्तरमहादेशिय ब्यालिस्टिक मिसाइल, १२४९ परमाणु भन्डार, ४४ अधुनिक बमबर्षक बिमानहरू, ७०० क्रुज मिसाइल र २००० भन्दा बढि आणविक हतियारहरू विरासतमा पाएको थियो तर १९९० मा युक्रेनले आफ्ना धेरै हतियारहरू रूसलाई दियो। बदलामा, मस्कोले युक्रेनको सुरक्षा र सार्वभौमसत्ताको सम्मान गर्ने वाचा गर्यो। यसै बिषयमा प्रतिवद्दता जनाउन अमेरिका बेलायत बेलारूस र काजकास्थानले बुडापेस्ट सम्झौतामा हस्ताक्षर गरे।

२०१३ नोभेम्बर मा मस्कोसंग नजिक मानिने भिक्टोर यानुकोभिच युक्रेनका राष्ट्रपति भए। उनी प्रत्यक्ष भ्रष्टाचारी र अवसरवादी र मस्कोको खुलेर समर्थन गर्नका लागि ख्यातीप्राप्त थिए । त्यसैले आफु सत्तासिन हुनेबित्तिकै उनले EU व्यापार सम्झौता अस्वीकार गरे। यो सम्झौता हुँदा युरोपेली संघसंग एकीकरण हुन सक्ने अर्थ लगाए । बरु, यानुकोविचले रुसबाट १५ बिलियन डलर आर्थिक सहायता लिने निर्णय गरे।
धेरै युक्रेनीहरूले,आफ्ना राष्ट्रपतिले देश रूसलाइ बेचेको जस्तो माने। विरोध प्रदर्शन भयो। आल्दोलनहरू भए । रूसले यानुकोविचलाइ समर्थन गर्यो र बुडापेष्ट सन्धिलाइ आधार बनाएर पश्चिम देशहरूले आन्दोलनकारीलाई समर्थन गरे । फलस्वरूप फेब्रुअरी २०१४ मा, यानुकोविचको सरकार पतन भयो। राष्ट्रपतिलाई युक्रेनबाट निकालियो। तर पूर्वी युक्रेनका रुसी भाषी धेरै यानुकोभिक युक्रेन बसुन् भन्ने चाहन्थे। जब उनी भागेर रुस गए, अल्पसंख्यक पूर्वी युक्रेनहरूले आफुहरू अल्पमत, वेसाहारा र वंचित भएको महसुस गरे। आफुले दिएको सहायताको अपमान भएकोले रूस पश्चिमी स्लाभिक यूक्रेनीहरू संग रुस रिसाउन पुग्यो । वास्तवमा रूसले ठुलो योजनासाथ स्थापना गरेको भिक्टोर यानुकोभिच आफ्नो कठपुतली गुमाएको थियो। बर्चस्व कायम राखिराख्न, मस्कोले क्रिमियामा हस्तक्षेप बढायो । तर क्रिमिया नै किन? क्रिमिया एक प्रायद्वीप हो। यो कृष्णसागर (Black Sea) मा स्थित छ। सन् १९५४ मा सोभियत नेता निकिता ख्रुश्चेभले क्रिमिया युक्रेनी र रुसी जनताबीच भाइचाराको सम्बन्धलाई मजबुत बनाउने आशाका साथ युक्रेनलाई हस्तान्तरण गरेका थिए । यो रुसी सोभियत समाजवादी गणतन्त्रबाट युक्रेनी सोभियत समाजवादी गणतन्त्रलाई दिइएको थियो। रूस र क्राइमिया दुवै सोभियत संघको भाग थिए, त्यसैले यो स्थानान्तरणले धेरै अर्थ राखेन। तर सन् १९९१ मा युक्रेन स्वतन्त्र भएपछि पनि क्रिमियन भुभाग विशेष स्वायत्तताका साथ यूक्रेनकै रहन गयो, तर त्यो क्षत्रका रुसी सैन्य अड्डाहरूचाहीँ जस्ताको तस्तै रहिरह्यो। मस्कोले क्रिमिया र स्वायत्तताको सम्मान गर्ने वाचा गरेको थियो । २०१४ मा, जब यानुकोविचलाइ सत्ताबाट हटाइयो, रूसी सेनाले क्रिमियामा सरकारी भवनहरू कब्जा गर्न थाले । १६ मार्च २०१४ मा जनमत संग्रह भयो। क्रिमियनहरूले रूसको हिस्सा बन्न मतदान गरे। पुटिनका लागि यो क्रिमियाको मुक्ति थियो। बाँकी विश्वको लागि, यो क्रिमियाको विलय थियो। त्यसपछि पुटिनले आफ्नो ध्यान पूर्वी युक्रेनका रुस समर्थित पृथकतावादीहरूको क्षेत्रमा बढाए।
युक्रेनी सेनाले सुरुमा कुनै आक्रमण सुरु गरेनन्। तर १७ जुलाई २०१४ मा रुस समर्थित पृथकतावादी विद्रोहीहरूले २९८ जना बोकेको विमानलाई गोली हानेर खसालेपछि युक्रेनी सेनाले विद्रोहीहरूलाई धपाउन थाल्यो । पृथकतावादीहरूले रूसी स्वार्थको मैदान गुमाउन थालेको देखेपछि रूसी सेना छिरेर पूर्वी युक्रेनमा विद्रोहीहरूलाइ लड्न सहायता गर्यो । त्यसपछि रुस, युक्रेन र पश्चिम बीच वार्ता भयो । परिणाम स्वरूप ‘मिन्स्क’ सम्झौता भयो। फलस्वरूप दुवै पक्ष युद्धविराम र सैन्यफिर्ती मा सहमत भए। युक्रेन विद्रोही नियन्त्रित क्षेत्रमा चुनाव गराउन सहमत भयो । तर आठ वर्ष भयो यो मिन्स्क सम्झौता कार्यान्वयन भएन ।

राजनितिक मानसिकतामा हाल युक्रेन पूर्व र पश्चिम बीच विभाजित छ। पश्चिम युक्रेनीहरू आफूलाई बढी युरोपेली ठान्छन् । भूगोल वा भावनाको हिसाबले पूर्व युक्रेनीहरू रसियाको नजिक छन् । पश्चिममा, अधिकांश युक्रेनीहरू युक्रेनी भाषा बोल्छन्, पूर्वमा एक तिहाइ रुसीमूलका युक्रेनीहरू हुन् जो रसियन भाषा बोल्छन्। पश्चिममा रूसलाई शङ्काको नजरले हेरिन्छ र पूर्वमा साझा इतिहास र सम्पदाको नजरबाट हेरिन्छ। त्यही भएर पनि युक्रेन सँधैभरी युद्धमै थियो वा छ भने पनि हुन्छ ।
यूक्रेनका सेनाहरू उतिबेला पनि पूर्वमा रुस समर्थित पृथकतावादीहरूको आवरणमा रूसी सेनासंगै लडिरहेका थिए। हाल भने पुटिन ले सोझो आक्रमण गरेका हुन् । सायद भ्लादिमिर पुटिन नेटोको विस्तार रोक्न चाहन्छन् । नेटो भनेको उत्तरी एट्लान्टिक सन्धि संगठन हो। यो एउटा सैन्य गठबन्धन हो। सन् १९४९ मा डेनमार्क, क्यानडा, बेल्जियम, फ्रान्स, आइसलेन्ड, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, युके र अमेरिकाले NATO स्थापना गरे पछि अन्य देशहरू (१९५२ ग्रीस र टर्की, १९५५ पश्चिम जर्मनी, १९८२ स्पेन) शीतयुद्धको समयमा यसमा सामेल भए। जर्मनी, चेक, हंगेरी, पोल्याण्ड, बुल्गेरिया, इस्टोनिया, लाटभिया, लिथुआनिया, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, अल्बानिया, क्रोएसिया, मोन्टेनेग्रो र उत्तरी म्यासेडोनिया शीतयुद्ध पछि सामेल भएका हुन्। अब आएर, युक्रेन पनि नाटोमा सामेल हुन चाहन्छ, तर पुटिन युक्रेन र सबै पूर्व सोभियत राज्यलाई नाटोबाट बहिर राख्न चाहन्छन् । सबैले बुझ्ने सतही कथा यही हो तर यो केवल आधा कथा हो। इतिहासको कालखण्डदेखि धेरै कुरा लुकेका छन् यूक्रेन रसियाको अहिलेको तनावभित्र । पहिलो त त्यहाँ घरेलु राजनीति छ। जब पुटिनले क्रिमियालाई कब्जा गरे, रसियामा उनको अनुमोदनको उच्च मूल्याङ्कन भयो। पुटिनलाई रूसको महाशक्ति छवि पुनर्स्थापित गर्ने मनसायले रूसी राष्ट्रपतिलाई रूसमा निकै राष्ट्रवादी बनाइदिएको छ । रूसि नागरिकको रूसलाइ महाशक्ति देखाइराख्ने महत्वाकांक्षा र पस्चिमी राष्ट्रसंग भएको राजनैतिक मतभेदले पुटिनलाइ युक्रेनका भागहरू जोडेर अझ माहाशक्ती बन्ने हौसला थपिदिएको छ । ठिक वा बेठिक भोलिको इतिहासले भन्ला ।
फेरि पनि इतिहासकै कुरा गर्ने हो भने धेरै रुसीहरूले युक्रेनको स्वतन्त्रतालाई गल्तीको रूपमा हेर्छन् । युक्रेनीहरू बुडापेष्ट सम्झौतालाइ । यो सत्य हो कि युक्रेन १९९१ भन्दा पहिले मात्रै स्वतन्त्र रह्यो पहिलो विश्वयुद्ध अघिको छोटो अवधि थियो र त्यसपछि १६०० मा अर्को कार्यकाल थियो। यसको बाँकी आधुनिक इतिहासको लागि, युक्रेन रूसको अधीनमा थियो। ६ मध्ये एक युक्रेनी जातीय रुसी हुन्, तीनमध्ये एकले मातृभाषाको रूपमा रुसी बोल्छन्।
इतिहासलाइ आधार बनाएर हिजो हाम्रै थियो त्यही भएर युक्रेन आफ्नै हो भन्छन् भने यस मानेमा पुटिन सही छन् । तर कुनै औपनिवेशिक इतिहासको आधारमा युक्रेन दाबी गर्नु सहि हो र ? त्यसो भए त बेलायतले भारत दाबी गरे भयो वा दक्षिण अफ्रिका वा स्पेनले फिलिपिन्स दाबी गरिदिए भयो । विगतको साम्राज्यवादले वर्तमानको विस्तारवादलाई जायज औचित्य दिन त सक्दै सक्दैन । इतिहाससंगै तुलना गर्ने हो भने इसं १७०० पछिकी रसियन महारानी र पुटिनको मनसाय स्पष्ट रूपमा क्याथरिन द ग्रेटको उस्तै छ – जहाँ सम्भव भएसम्म रूसी शक्ति विस्तार गर्ने। क्याथरिनले अनौपचारिक संरक्षकको रूपमा पोल्याण्डलाई आफ्नो मातहतमा राख्न हर तरहको प्रयास गरिन। त्यसै ताका क्याथरिन द ग्रेटले युक्रेनलाई रुसिकरण गर्न थालिन् । रूसी जातीयहरूलाइ यूक्रेन र पोल्याण्डको विभिन्न भागमा पठाइएको थियो । १८०० सम्म अइपुग्दा त यूक्रेनी स्कूलहरूलाई रूसी भाषा पढाउन भनिएको थियो, पछि युक्रेनी भाषा नै प्रतिबन्धित गरियो । सन् १९३० मा सोभियत नेता जोसेफ स्टालिनले युक्रेनमा योजनावद्ध भोकमरी ल्याएका थिए ।
लाखौं पूर्वी युक्रेनी मारिए। पछि उक्त क्षेत्र जातीय रूसीहरूले भरिएको थियो। १९४० मा, जातीय आदिवासीहरूलाइ स्थानान्तरण गरियो। तिनीहरूलाइ पनि रूसीसंग प्रतिस्थापित गरियो। पूर्वी युक्रेनमा आज धेरै रूसी बोल्ने युक्रेनीहरू हुनुको एउटा कारण यही हो । यो त्यसरी नै डिजाइन गरिएको थियो । वीतवमा पूर्वी युक्रेन रूसलाई सधैं प्रिय छ किनभने त्यहाँ कोइला छ, त्यहाँ फलाम छ र त्यहाँ उर्वर भूमि छ । त्यसै स्वार्थले त रसियाले पुर्वी युक्रेनलाइ सधै आफुसँग जबरजस्ती जोडीराख्न चाहन्छ । पुर्वी युक्रेनीहरूको दया त किमार्थ होइन । Holy Russ होली रूस – स्वर्गको राज्य, स्वर्ग र पृथ्वीमा ईश्वरको अनन्त ज्वलन्त, एक महत्त्वपूर्ण धार्मिक र दार्शनिक अवधारणा थियो जुन Europe ८ औं देखि २१ औं शताब्दीमा पूर्वी यूरोप र मध्य युरेसिया क्षतमा विकसित भएको अवधारणाको आधार देखाएर पुटिन भन्छन् रूसी र युक्रेनीहरू एकै रूसी व्यक्ति हुन् ।
तर ७०% युक्रेनीहरू यो विचारलाइ अस्वीकार गर्छन्। ७२% ले रुसलाई आज शत्रु राष्ट्र मान्छन्,हालको पुटिनको कदमले त रूसलाइ झन् यूक्रनीहरूको सबै भन्दा नजिकको शत्रु राष्ट्र बनाइदिएको छ । ६७% युक्रेनीहरू EU मा सामेल हुन चाहन्छन्। ५९% NATO मा सामेल हुन वर्तमान युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई भेट्न चाहन्छन्। २०१९ मा भारी जीत पछि उनी सत्तामा आए। रुसी कब्जाको खुलेर आलोचना गर्न थाले । त्यसैले ७३% युक्रेनी मतदाताहरूले जेलेन्स्कीलाइ जिताए जस्को राष्ट्रिय स्वभिमान पुटिनलाइ पटक्कै मन परेको छैन । भ्लादिमिर जेलेन्स्कीले रूसबाट स्वतन्त्र रहन चाहने युक्रेनीहरूको धड्कनको प्रतिनिधित्व गर्दछन् । तर भ्लादिमिर पुटिन आफ्नो देश सुरक्षाको आवरणमा रुसी साम्राज्यवादलाई पुनर्जीवित गर्ने मानिस बन्दैछन् । उनि यूक्रेनका प्रत्येक शासक आफुले तयार गरेको सुनको पिंजडामा रहुन् भन्ने चहान्छन् भने त उनले समातेको बाटो उनलाइ सहि होला । तर, संसार धेरै अघि बढेको हेक्का नै राखेका छैनन् ।
अन्तमा मेरा ति मित्रले सोधे “अब तिमी भन मित्र हामी यूक्रेनीहरूसंग इतिहासदेखि रूसले यस्तो व्यवहार किन गर्छ ? हामीले के रूसको स्विकृती बाहेक अर्को विश्वसंग स्वतन्त्र सम्बन्ध राख्नै नपाउने हो र? के भन्छन् तिम्रो देशका मान्छे ?” उनको यो प्रश्नको उत्तर त मसंग झन छँदै थिएन । मैले घुमाउरो पारामा उसको समर्थन गरें, “प्यालेस्टाइन को विपक्षमा गाजा क्षेत्र र मध्य पूर्वमा इजराइलको पक्षमा भएको अमेरिकी साम्रज्यवादको बदला यूक्रेनमाथी रूसि विस्तारवाद त पक्कै हुन सक्दैनथ्यो” जबाफमा उस्ले भन्यो “त्यसो हो भने साथी, हामी स्वतन्त्रताका कुरा मात्र गर्छौं तर अबका दिनमा कोहि स्वतन्त्र छैन, संसारले वास्तविक स्वतन्त्रता मागेको दिन संसार खरानी हुनेछ ।“ धेरै बेर उनका कुरा बुझ्न खोजिरह्यो मेरो बुझाइले। मनमा चैं एउटा अव्यक्त डर लागिरह्यो । के हो स्वतन्त्रता ?
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij