दोहा(जस)– कतारले आज आफ्नो राष्ट्रिय दिवस मनाउँदै छ । कतारले यस वर्षको राष्ट्रिय दिवस विभिन्न कार्यक्रमका साथ भव्य रुपमा मनाउँदैछ । कतारको राष्ट्रिय दिवसको अवसरमा १८ डिसेम्बरको दिन दोहाको कर्नेशमा बिहान ५ बजे सैनिक परेड सहित अन्य कार्यक्रम हुनेछ । राष्ट्रिय दिवसको आयोजक समितिको अनुसार आमन्त्रितलाई मात्र कर्नेशमा व्यक्ति प्रवेश दिइनेछ । गत वर्षको जस्तै यस वर्षपनि बोलाइएका जम्मा ९,५८६ जनालाई बारकोडको आधारमा बिहान ७ः३० सम्म कर्नेशमा प्रवेश गर्नका लागि सभाले चयन गरेको छ ।
हरेक वर्ष जस्तै कतारले कर्नेसनमा राष्ट्रिय दिवसको अवसर पारेर आर्मी र्फोस, आन्तरिक मन्त्रालय, लखुइया, नागरिक रक्षा विभागका साथै सरकारी निकायको परेड देखाउनेछन् । त्यस्तै, सैन्य तथा युद्ध विमानहरूको प्रदर्शन पनि हुनेछ । कतारले आफ्नो देशको जग बसेको १८ डिसेम्बर १८७८ को सम्झनामा हरेक वर्ष राष्ट्रिय दिवस मनाउँदै आएको छ । त्यतिखेरका अमिर शेख जसिम बिन मोहमद बिन अल थानीले विभाजित समुदायलाई एकतामा बाँधेर कतारको जग बसाएका थिए ।
कतारमा गत ९ डिसेम्बरदेखि १० दिनसम्म राष्ट्रिय दिवस मनाइँदै छ । कतारले राष्ट्रिय दिवसलाई एकता, वफादारी र गौरवको प्रतीकका रूपमा मनाउँदै आएको छ । कतारले सन् २००८ देखि राष्ट्रिय दिवस मनाउन सुरु गरेको हो । कतारले देशको सस्थापक शेख जस्सिम बिन मोहम्मद बिन थानीको स्मरण गर्दै हरेक वर्ष डिसेम्बर १८ तारिखका दिन राष्ट्रिय दिवस मनाउने गर्दछ । सन् १८७८ को यसै दिन उनले आफ्नो पिता शेख मोहम्मद बिन थानीको देहान्त पछि राजगद्दी सम्हालेका थिए । उनकै पालामा कतार एक स्वतन्त्र मुलुक बनेको थियो ।
कतार राष्ट्रिय दिवस २०२१ को नारा ‘पैतृक तृणभूमि ः विश्वासको विषय’ हो । यो नयाँ नारा कतारका संस्थापक नेता शेख जासिम बिन मोहम्मद बिन थानीको कवितामा आधारित छ । जसले कतारी जनता र यहाँको वातावरणबीचको अनादिकालदेखिको बलियो सम्बन्धको प्रतिनिधित्व गदर्छ । सन् २०२१ को राष्ट्रिय दिवसको नारा राष्ट्र प्रतिको बफादारिता, ऐक्यबद्धता, एकता र राष्ट्रिय गौरव अभिवृद्धि गर्ने लक्ष्यअनुरुप रहेको छ । जसमा साझेदारी, उत्प्रेरणा, सिर्जनशीलता र पारदर्शिता समावेश छन् । यस वर्षको नाराले अस्थायी उत्तेजना नभई दीर्घकालीन प्रभावतर्फको आकांक्षालाई प्रतिबिम्बित गर्दछ र संस्थापक नेता शेख जासिम बिन मोहम्मद बिन थानीले नेतृत्व गर्नुभएको मूल्य र सिद्धान्तलाई प्रकाश पार्नेतर्फ केन्द्रित हुँदै राष्ट्रिय प्रतीकहरु र समाजका प्रभावशाली सदस्यहरुको भूमिका प्रस्ट पार्दछ । यसले स्थापनाकालदेखि नै मौलिकतामा आधारित कतारी समाजको मूल्य, मान्यता झल्काउँछ । जसलाइ समृद्ध कतारले अक्षरत पुर्ण पालना गरेको देखिन्छ ।
शेख जस्सिम सेना प्रमुख, बिद्धान, निर्णायक, योद्धा र कवि पनि थिए । उनले यूरोप, भारत, अफ्रिकालगायतका राष्ट्रसँग सम्बन्ध विस्तार गरि पर्लको व्यापारसमेत बढाएका थिए । जसले गर्दा धेरै कतारी जनताले आफ्नो जीवनस्तर सुधार गरे । यस दिन कतारमा सार्वजनिक बिदा हुने गर्दछ । देशको प्रायजसो सरकारी तथा निजी कार्यक्षेत्र यस दिन बन्द हुन्छ । यद्यपि अत्यावश्यक स्थान जस्तै अस्पताल, सुरक्षागार्ड, विमानस्थल, होटेललगायत केही कार्यक्षेत्रमा भने बिदा हुँदैन । बिदा नदिने क्षेत्रमा ओभरटाइम दिएर मात्र काम लगाउनु पर्ने श्रम कानुनमा उल्लेख छ । यस वर्ष यस्तो विदा सरकारी कर्मचारीलाई १९ तारिखमा दिइएको छ भने निजी क्षेत्रमा भने १८ तारिखमा विदा दिइएको छ ।
देशभर विभिन्न कार्यक्रम आयोजना गरि यस दिन भब्यताका साथ सम्पन्न गरिने चलन छ । यसै दिन देशको झन्डालगायत अन्य राष्ट्रिय भाव झल्किने गरि गाडी सजाउने, कर्नेशमा सैनिक परेड, आतसबाजीलगायत हवाई शो पनि गरिन्छ । सन् २००७ को जुन अघि कतारले सेप्टेम्बर ३ मा आफ्नो राष्ट्रिय दिवस मनाउने गर्दथ्यो । सेप्टेम्बर ३,१९७१ मा कतारले बेलायत बाट स्वतन्त्रता पाएको थियो । कतार आर्मी, आईएसएफ, आन्तरिक मन्त्रालय, अमिरी गार्डले कर्नेशमा सामूहिक सार्वजनिक परेड गर्ने गर्दछ । यस्तै दोहा कर्नेश, दर्ब अल साइ, कतारा, एस्पायर जोनलगायत अन्य स्थानमा आतशबाजी, कार शो लगायत अन्य कार्यक्रम हुनेछन् ।
कतारको राष्ट्रिय दिवसको अवसरमा थुप्रै कैदीहरुले आममाफी पाएका छन् । हाललाई कुन देशका कति नागरिक आममाफीमा परे भन्ने बारे केही खुलाईएको छैन । निजहरुको चालचलन तथा कैद भुक्तानीको आधारमा कतारका अमिरबाट हरेक वर्ष रमादान महिना र राष्ट्रिय दिवसमा कैदिहरुलाई आममाफी दिने चलन छ । कतार अहिले विश्वको सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको देश हो । आफ्नै स्रोत र साधनको प्रयोग गरी छोटो समयमा नै उल्लेख्य सफलता हासिल गरेको मुलुकको रूपमा कतारलाई लिइन्छ । विश्वका धेरै मुलुकहरू प्राकृतिक स्रोतसाधन सम्पन्न हुन्छन् । तर, कतार तीमध्ये आफ्नो सम्पत्तिको उपयोग राम्रोसँग गर्दै विश्वको धनी राष्ट्र बन्न सफल भएको छ ।
राष्ट्रिय दिवसलाई भव्यरुपमा मनाउनका लागि सनैयाको एसियाना टाउन, रैयान स्पोर्टस क्लव, अल वर्का स्पोर्टस क्लव र बारवा लेबर रिक्रियसन कम्प्लेक्स अलखोरमा स्थान तोकिएको छ । जहाँ नेपाली, भारतीय, पाकिस्तानी, श्रींलंकन, बंगालदेशी विभिन्न समुदायको साँस्कृतिक तथा सांगीतिक कार्यक्रम हुनेछ । राष्ट्रिय परेड प्रतियोगिता, कम्पनी र समुदायवीचको साँस्कृतिक प्रस्तुति र विभिन्न समुदायको विविध साँस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगितासमेत आयोजना हुनेछन् । कतारमा रहेका आप्रवासीहरुलाई मध्यनजर गर्दै राष्ट्रिय दिवसको उत्सवका लागि स्थान तोकिएको हो । विभिन्न समुदाय, स्कुल, कम्पनी र साँस्कृतिक समूहका प्रस्तुति तथा खेलकुद प्रतियोगिता हुनेछन् । राष्ट्रिय दिवसको अवसरमा कतारको रमणीय स्थान कर्नेसनमा विहान राष्ट्रिय दिवसको औपचारिक कार्यक्रम हुनेछ ।
जनसवाल राष्ट्रिय दैनिकको २०७८ पुस ३ गते शनिबारको इपेपर