मंगलबार, मंसिर २१ २०७८
इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु
बग्दाद(रासस÷सिन्ह्वा) – इराकको दक्षिणी सहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ ।
राजधानी बग्दादबाट करिब ५५० किलोमिटर दक्षिणमा रहेको मध्य–बसराको अल–सोमोदमा फसेको मोटरसाइकलमा दिउँसो विष्फोट भएको इराकी संयुक्त अपरेसन कमान्ड (जेओसी) को मिडिया कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।
बसरा स्वास्थ्य विभागको प्रारम्भिक रिपोर्टलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, विष्फोटले नजिकैका दुई वटा नागरिक कारहरूमा आगजनी गरेको छ जसमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । घटनाको बारेमा थप जानकारी पछि सार्वजनिक गरिने विज्ञप्तिमा जनाइएको छ । विष्फोटक विज्ञ र सुरक्षा बलले विष्फोट भएको ठाउँमा अनुसन्धान गरिरहेको छ ।
अमेरिकाले शीतकालीन खेलकुदको ‘कूटनीतिक बहिष्कार’ मा जोड दिएमा चीनले जवाफ दिनेछ : प्रवक्ता
बेइजिङ(रासस÷सिन्ह्वा) – परराष्ट्र मन्त्रालयका प्रवक्ताले सोमबार बेइजिङ शीतकालीन ओलम्पिकको तथाकथित ‘कूटनीतिक बहिष्कार’ को प्रचार नगर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गर्दै यदि अमेरिकाले त्यसो गर्न जिद्दी गरे चीनले प्रतिवाद गर्ने बताउनुभएको छ ।
प्रवक्ता झाओ लिजियानले दैनिक प्रेस ब्रिफिङमा तथाकथित ‘कूटनीतिक बहिष्कार’ घोषणा गर्ने बाइडेन प्रशासनको योजनाको बारेमा सोध्दा उक्त टिप्पणी गर्नुभएको हो ।
“संयुक्त राज्य अमेरिकाले चीनको चिन्तालाई गम्भीरताका साथ लिनुपर्छ, खेलकुदलाई राजनीतिकरण गर्नबाट अलग रहनु पर्छ र महत्त्वपूर्ण क्षेत्रमा दुई देशबीचको वार्ता र सहयोगलाई असर पर्नबाट बच्न बेइजिङ शीतकालीन ओलम्पिकको तथाकथित ‘कूटनीतिक बहिष्कार’ को प्रचार गर्न बन्द गर्नुपर्छ” प्रवक्ता झाओले भन्नुभयो ।
शीतकालीन ओलम्पिक राजनीतिक मञ्च होइन भन्दै झाओले बेइजिङमा उपस्थित हुन आमन्त्रित नगरे पनि अमेरिकी राजनीतिज्ञहरूले ‘कूटनीतिक बहिष्कार’ को निरन्तर प्रचार गरेका छन् ।
“अस्ट्रेलियाले बेइजिङ शीतकालीन ओलम्पिकको ‘कूटनीतिक बहिष्कार’ को मुद्दालाई अस्ट्रेलियाले विचार गरिरहेको छ भनी अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको भनाइको जवाफमा संयुक्त राज्यले चीनको चिन्ता लिनुपर्छ, झाओले भन्नुभयो । यो विश्वभरका एथलिटहरू हुन् जो स्पटलाइटमा हुनुपर्छ ।
“बहिष्कारको नारा लगाउने राजनीतिज्ञहरूले आफ्नै राजनीतिक स्वार्थ पूरा गरिरहेका छन् । उनीहरू आए या नआए पनि कसैलाई वास्ता छैन र यसको सफलतापूर्वक आयोजना हुनबाट कुनै प्रभाव पर्दैन ।
पहिलो ११ महिनामा चीनको वैदेशिक व्यापार २२ प्रतिशतले वृद्धि
बेइजिङ(रासस÷सिन्ह्वा) – चीनको कूल आयात निर्यात सन् २०२१ को पहिलो ११ महिनामा वार्षिक रूपमा २२ प्रतिशतले बढेर ३५.३९ ट्रिलियन युआन (५.५५ ट्रिलियन अमेरिकी डलर) पुगेको आधिकारिक तथ्याङ्कले मङ्गलबार देखाएको छ ।
भन्सारको सामान्य प्रशासनका अनुसार सन् २०२० का लागि कूल ३२.१६ ट्रिलियन युआनलाई पार गरिसकेको यो सङ्ख्या २०१९ मा महामारीस्तरको तुलनामा २४ प्रतिशतले बढेको हो ।
दुवै निर्यात र आयातले वर्षको पहिलो ११ महिनामा दोहोरो अङ्कको वृद्धि जारी राखेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः २१.८ प्रतिशत र २२.२ प्रतिशतले बढेको छ ।
नोभेम्बरमा मात्रै देशको आयात र निर्यात वर्षको तुलनामा २०.५ प्रतिशतले बढेको छ । जुन अक्टोबरको तुलनामा ११.४ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।
राष्ट्रपति सीद्वारा चिनियाँ विशेषतासहितको समाजवादी कानुनको पालना गर्न आग्रह
बेइजिङ(रासस÷सिन्ह्वा) ः चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले चिनियाँ विशेषतासहितको समाजवादी विधिको शासनको मार्गमा दृढतापूर्वक अडिग रहेको र त्यस्तो समाजको विकासलाई अगाडि बढाउने कुरामा जोड दिनुभएको छ ।
राष्ट्रपति सीले सोमबार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको सामूहिक अध्ययन सत्रलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।
इजरायलको दक्षिणमा बर्ड फ्लूको प्रकोप
जेरुसेलम(रासस÷सिन्ह्वा) ः इजरायलले देशको दक्षिणमा रहेको टर्की फार्ममा रोगजनक एच५एन१ एभियन इन्फ्लुएन्जाको प्रकोप देखिएको उल्लेख गरेको छ ।
खोरहरूमा टर्कीहरूको असामान्य मृत्यु भएको रिपोर्ट सार्वजनिक भएपछि अविग्दोर गाउँको एक फार्ममा बर्ड फ्लूका केसहरू फेला परेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको भेटेरिनरी सेवाले सङ्क्रमित क्षेत्रमा तीव्र अनुसन्धान सुरु गरेको छ ।
एच५एन१ बर्ड फ्लूले अन्य जनावरहरू जस्तै बिरालो, बाघ, सुँगुर र दुर्लभ अवस्थामा मानिसहरूलाई पनि सङ्क्रमित गर्नसक्ने अनुसन्धानले देखाएको छ । मानिसमा बर्ड फ्लूको पहिलो लक्षण सामान्यतया गम्भीर श्वासप्रश्वासको रोग र ज्वरो आउनु हो ।
इजरायलमा बर्ड फ्लूको ठूलो प्रकोप २००६ मा रेकर्ड गरिएको थियो । जसमा दक्षिणमा नौ व्यावसायिक रूपमा पालिएका टर्कीका खोरहरू समावेश थिए ।
चिनियाँ विदेशमन्त्रीद्वारा चीन र भारतबीच आपसी समझदारीका निम्ति आह्वान
हाङ्झोउ(रासस÷सिन्ह्वा) – चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यीले चीनका लागि निवर्तमान भारतीय राजदूत विक्रम मिश्रीसँग भिडियो लिङ्क मार्फत संवाद गर्दै दुई देशबीच आपसी समझदारीलाई अझ गहिरो बनाउन आह्वान गर्नुभएको छ ।
वाङले सम्बन्ध विकास गर्दा चीन र भारतले एक अर्कालाई गलत अनुमान गर्नुको सट्टा आपसी समझदारी अभिवृद्धि गर्नुपर्नामा जोड दिनुभएको छ । विशेष घटनामा चिन्ता लिनुको सट्टा दीर्घकालीन दृष्टिकोण राख्नुपर्छ र एक अर्कालाई कमजोर बनाउनुको सट्टा एक अर्कालाई सफल बनाउन मद्दत गर्नुपर्छ र विकासोन्मुख देशहरूको साझा हितका प्रमुख मुद्दाहरूमा दुवै पक्ष एकसाथ उभिन सक्छन् र उभिनुपर्छ, उहाँले भन्नुभयो ।
आफ्नो तर्फबाट विक्रम मिश्रीले भारत–चीन सम्बन्धलाई प्रवद्र्धन गर्न आफूले प्रयास जारी राख्ने बताउनुभएको छ ।
आम माफीबारे सरकारको निर्देशन नमान्नेलाई दण्ड दिइने तालिबान नेताको भनाइ
काबुल, अफगानिस्तान(रासस÷एएनआई) ः ह्युमन राइट्स वाचले हालै जारी गरेको रिपोर्टप्रति प्रतिक्रिया जनाउँदै तालिबानले आम माफीको निर्देशन उल्लङ्घन गर्ने कुनै पनि इस्लामी इमिरेट्स सदस्य (अफगानी) लाई अभियोग लगाएर दण्ड दिइने तालिबान नेता तथा अफगान सरकारका प्रवत्ताले बताएका छन् ।
तालिबान समूहले गत अगस्ट १५ मा राजधानी काबुलसहितका अधिकांश भू–भाग नियन्त्रणमा लिएपछि नयाँ प्रशासनले पूरानो सत्तालाई सघाएका कर्मचारी, सुरक्षा अधिकारीलगायत सबैलाई आममाफी दिइने र सबैलाई विश्वासमा लिएर सरकार सञ्चालन गर्ने घोषणा गरेको थियो ।
तालिबान समूहको उक्त भनाइपछि पनि करिब १०० भन्दा बढी सुरक्षाकर्मी मारिएका वा बेपत्ता पारिएका भन्ने ‘ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)’ को रिपोर्टपछि तालिबान सरकारका अधिकारीको यो भनाइ आएका हो ।
गत हप्ता एउटा रिपोर्टमा एचआरडब्ल्यूले अफगानिस्तानको तालिबान सरकारले घोषणा गरेको आममाफीपछि पनि तालिबान समूहका स्थानीय कमान्डरहरूले पूर्व अफगान सुरक्षा बलका सदस्यहरूलाई मृत्युदण्ड दिन वा बेपत्ता पार्ने क्रम नरोकिएको बताएको केही दिनपछि सरकारी अधिकारीको यो भनाइ सार्वजनिक भएको हो ।
टोलो न्युजका अनुसार उक्त रिपोर्टपछि संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र अन्य २० देशका सरकारहरूले एचआरडब्ल्यूको रिपोर्टबारे तालिबान अधिकारीसँग मानवअधिकार उल्लङ्घनबारे चासो व्यक्त गरेका थिए ।
विदेश मन्त्रालयका प्रवक्ता अब्दुल कहार बाल्खीद्वारा गरिएको ट्वीटमा भनिएको छ, “मुजाहिद्दीन माफी निर्देशन कार्यान्वयन गर्न पूर्णतया प्रतिबद्ध छन् र पहिलेको प्रशासनका कर्मचारीहरूलाई उनीहरूको पूर्व विरोधका लागि सताइएको छैन । इस्लामिक इमिरेट्सको सुधार आयोगले भने सुरक्षा फौजका पूर्व सदस्यको हत्याका कुनै पनि घटना दर्ता नभएको जनाएको छ ।
आयोगले भनेको छ, “इस्लामिक इमिरेट्स (अफगानिस्तान) का कुनै पनि शक्तिहरूले पूर्व प्रशासनसँग काम गरेकै आधारमा नागरिक वा पूर्व सरकारी अधिकारीलाई कारबाही गरेको वा सताएको भन्ने कुनै गुनासो हामीले प्राप्त गरेका छैनौँ । उक्त रिपोर्टमा पूर्व सुरक्षा बलको हत्या इस्लामी अफगान सरकारको निर्देशनविपरीत भएको उल्लेख गरिएको छ । राजनीतिक विश्लेषक अहमद खान अन्दरले भन्नुभयो, “इस्लामिक इमिरेट्सले दिएको आममाफीको निर्देशन सबैले पालना गरेका छन् ।”
तीन वर्षमा पाकिस्तानी रूपैयाँको मूल्यमा उच्च कमी
इस्लामावाद, पाकिस्तान(रासस÷एएनआई) ः अमेरिकी डलरविरुद्ध पाकिस्तानी रूपैयाँको मूल्यमा विगत तीन वर्षको समयमा ३०.५ प्रतिशतले घटेको पाकिस्तानका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सञ्चारमाध्यमबाट बाहिरिएको यो दाबीलाई आधार मान्ने हो भने पाकिस्तानको इतिहासमा यो तीन वर्षमा मुद्राको सबैभन्दा उच्च अवमूल्यनमध्ये एक हो । सन् २०१८ को अगस्टमा अमेरिकी डलरविरुद्ध १२३ रूपैयाँबाट बृहत् मूल्य ह्रास भई सन् २०२१ डिसेम्बरमा अमेरिकी डलरको तुलनामा १७७ रूपैयाँले घटेको पाकिस्तानी सञ्चार संस्था ‘द न्युज इन्टरनेसनल’ले जनाएको छ । पछिल्लो ४० महिनामा यो ३०.५ प्रतिशतको गिरावट भएको दि न्युजले विभिन्न तथ्याङ्कलाई उद्धृत गरी उल्लेख गरेको छ ।
पाकिस्तानबाट ढाका स्वतन्त्र भएको समय सन् १९७१–७२ पाकिस्तानको मुद्रा अमेरिकी डलरसँग ४.६० रूपैयाँबाट ११.१० रूपैयाँ अर्थात् ५८ प्रतिशतले ह्रास भएको थियो । यो पाकिस्तानको इतिहासमा मुद्राको सबैभन्दा उच्च अवमूल्यन थियो ।
मुद्राको हालैको अवमूल्यन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)द्वारा पाकिस्तानी आर्थिक गतिविधिमा आधारित भएर निर्धारण गरिएको स्वतन्त्र अर्थशास्त्रीहरूले बताएका छन् । उनीहरूले यसको बृहत् अर्थतन्त्रका आधारभूत कुराहरूसँग भने कुनै सम्बन्ध नभएको जोड दिए ।
पाकिस्तानको वित्तीय नीति मौद्रिक तथा विनिमय दरका नीतिहरू अधीनमा रहँदा यहाँको आर्थिक नीति निर्माणमा पूर्णरूपले कमजोरी देखिएको पाकिस्तानी अर्थशास्त्री डा अशफाक हसन खानले बताउनुभयो ।
मौद्रिक कडाइ र विनिमय दर अवमूल्यनका कारण मुद्रास्फीति उच्च हुने, सार्वजनिक ऋण तथा कर्जा सेवा ग्राह्य हुनेतर्फ जोड दिँदै एक प्रतिशत मौद्रिक कडाइले पाकिस्तानको सन्दर्भमा मुद्रास्फीतिको चाप १.३ प्रतिशतले वृद्धि भएको भन्ने अनुभव र विभिन्न प्रमाणले देखाएको उहाँले बताउनुभयो ।
भारतीय रूपैयाँ र बङ्गलादेशी टाकाजस्ता अन्य क्षेत्रीय मुद्राहरूको तुलनामा पाकिस्तानी मुद्राले अमेरिकी डलरविरुद्ध ठूलो ह्रास व्यहोरेको उहाँको भनाइ छ । अर्थशास्त्रीहरूले गरेका केही अध्ययनहरूले मासिक आधारमा मुद्रास्फीति ११.५ प्रतिशत रहेको देखिएको छ जुन झन्डै दुई प्रतिशत विनिमय दरको मूल्य ह्रासबाट आएको द न्युज इन्टरनेसनलमा उल्लेख गरिएको छ ।
सैन्यविद्हरूलाई पार्टीमा ‘पूर्ण निष्ठा’ का साथ काम गर्न उत्तर कोरियाली सर्वोच्च नेता किमको आग्रह
प्योङयाङ(रासस÷सिन्ह्वा) ः प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका शीर्ष नेता किम जोङ उनले सैन्यविद्हरूलाई सत्तारुढ मजदुर पार्टी अफ कोरिया (डब््ल्यूपीके)लाई ‘पूर्ण निष्ठा’का साथ काम गर्न आह्वान गर्नुभएको कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले मङ्गलबार जनाएको छ ।
किमले शनिबार र आइतबार प्योङयाङमा सम्पन्न कोरियाली जनसेना (केपीए) का विज्ञहरूको आठौँ भेलामा उक्त भनाइ राख्नुभएको हो ।
उत्तर कोरियाली सत्ताधारी दल ‘वर्कस पार्टी अफ कोरिया (डब्ल्यूपीके)’ का महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष किमले पार्टीको विचार र नेतृत्वप्रति अथाह निष्ठावान् हुन र सैन्य शिक्षालाई व्यवस्थित र उपलब्ध गराउन सबै सैनिक शिक्षाविद्हरूलाई तयार गर्नुपर्नेमा जोड दिनुभएको हो । यो कोरियाली सैन्यविद्लाई लक्षित पार्टी विचार, नीति र पद्धतिप्रति इमान्दार बन्न दिइएको कडा निर्देशन हो ।
रिपोर्टअनुसार सैन्यविद्हरू आफ्नो महान कार्य र कर्तव्यबारे गम्भीररूपमा चनाखो रहनुपर्नेमा सर्वोच्च नेताले जोड दिनुभयो । सप्ताहन्तको सम्मेलनमा सैन्य जनशक्ति, केपीएको जनरल पोलिटब्युरोका वरिष्ठ अधिकारीहरू र जनरल स्टाफ तथा अन्य सम्बन्धित अधिकारीहरू उपस्थित रहेका केसीएनएले बताएको छ ।
बुरुन्डीको कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
नैरोबी(रासस÷एएफपी) ः बुरुन्डीको एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ । आगलागीमा परी दर्जनौँ कैदीको मृत्यु हुनुका साथै अरु कैयौँ जना गम्भीर घाइते भएको उपराष्ट्रपति प्रोस्पर बोजोम्बान्जाले बताउनुभयो ।
बुरुन्डीको राजधानी गिटेगामा रहेको कारागारको अधिकांश भाग आगोले ध्वस्त भएको छ भने आगलागीको समयमा धेरै कैदीहरू सुतिरहेकोले धेरै कैदीको मृत्यु भएको एक प्रत्यक्षदर्शीले एएफपीलाई बताए ।
केही वरिष्ठ मन्त्रीहरूसँग उक्त दुर्घटनाको दृश्य हेर्न गएका ३८ जनाको मृत्यु भएको र ६९ जना गम्भीर घाइते भएको सञ्चारकर्मीसँगको कुराकानीमा उपराष्ट्रपति बाजोम्भान्जाले पुष्टि गर्नुभयो ।
स्थानीय समयअनुसार बिहान ४ः०० बजे सुरू भएको आगलागीको कारण विद्युत् चुहावटका कारण भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि बताइएको छ ।
फोनमार्फत् एएफपीलाई प्रतिक्रिया दिँदै प्रत्यक्षदर्शी एक कैदीले भने, “हामीले आगोको ज्वाला धेरै माथि उठेको देखेपछि डरले कराउँदै ढोका खोल्न भन्यौँ तर प्रहरीले ढोका खोल्न आदेश नपाएको भन्दै अस्वीकार गरेकाले ठूलो मानवीय क्षति हुन पुग्यो । उनले भने, “म कसरी उम्केँ थाहा छैन । धैरै कैदीहरू भाग्दाभाग्दै आगोले जलेर मरे ।”
साक्षीहरूले भने, “आगलागीमा गम्भीर घाइते भएकाहरूलाई प्रहरी पिकअप ट्रकमा हाली अस्पताल लगियो भने सामान्य घाइते केहीलाई घटनास्थलमा नै उपचार गरिएको थियो ।”
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij