सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

बेल्जियमको ईपरमा प्रलयको त्यो क्षण : जब उडिरहेका चराहरु ढुन्मुनिदै जमिनमा खस्न थाले

मंगलबार, कार्तिक ३० २०७८

डिल्ली अम्माई

आधुनिक युगमा युद्धलाई अपराधको रुपमा मानिन्छ। तर विश्वमा भएका दुई ठुला अपराधि युद्धहरुको बारेमा नपढी इतिहाँसको पढाई पुरा हुदैन। पहिलो र दिप्तिय युद्धका कारण र युद्धका असरबारे लिएका जानकारीले मानवको भबिश्यप्रतिको चेष्टालाई बदलि दिन्छ। हामी नेपालीहरु आफ्नो सरकारको आदेशले विश्वका कुनैपनि ठुला युद्धमा सहभागी भएनौं। तर हाम्रा नागरिक रोजगारीको शिलसिलामा बेलायति भाडाका सिपाही बनेर युद्धमा सहभागी भए। साम्राज्यबादी देशहरुले हाम्रा नागरिकहरुलाई संसारका अफ्ठ्यारा र खतरनाक युद्धहरुमा लड्न पठाए। अकारण हाम्रा नागरिकहरुले कसैमाथि गोलि दागे। आँफु पनि अरुको स्वार्थकोलागि मारिए। बेलायत समर्थित राष्ट्र मण्डल( कमनवेल्थ)को नेतृत्वमा हजारौ नेपालीले आफ्नो ज्यान गुमाएको स्थान मद्धे म्यान्मार,मलाया,अर्जेन्टिनाको फोकल्याण्ड लगायत युरोपको बेल्जियममा अबस्थित इपर पनि एक मानिन्छ। यस्ता युद्धका अनगिन्ति अन्य मोर्चा हुनसक्छन जसमा गोर्खालीहरु लडेका थिए। अब चर्चा गरौँ प्रथम बिश्व युद्धको निर्णायक स्थान बेल्जियमको इपर वरपर भएको भयानक युद्धको।
बेलायतको नेतृत्वमा रहेको मित्र राष्ट्र मण्डलको रेकर्डमा भएको तथ्यांक अनुशार,२७ अगष्ट १९१४ लाहोरबाट ब्रिटिस इन्डिया कम्पनिको एक वटालियन त्यहि लडाईको लागि युरोपतर्फ लागेको विवरण भेटिन्छ । तात्कालिन भारतबाट युरोप लगिएको त्यहि बटालियनमा नेपाली मूलका सैनिकहरूपनि सामेल थिए ।
२१ अक्टोबर १९१४ मा बेल्जियमको अन्तिम सामरिक किल्ला इपर कब्जा गर्न जर्मन सैनिकहरूले पहिलोपल्ट आक्रमण शुरु गरे । भिषण युद्ध शुरु भयो। सयौँ टन बमहरु पड्किए । त्यो कालो दिन बम सँगै हजारौंको शरीर धुजा–धुजा भयो । सुरुङबाट एक इन्च टाउको देखियो कि दुश्मन सैनिकको गोलीले ठहरै हुने ! शान्त इलाका कोलाहलयुक्त भयो । केही छिनमै घरहरू भग्नाशेषको रूपमा परिणत भए । कयौँ दिनको युद्धमा कसैले जित्न सकेनन् । मात्र हजारौँले वीरगति प्राप्त गरे ।२९ अक्टोबर २०१४ मा हिटलर कार्यरत १६औँ वियर्स रिजर्भ फोर्स समेतले यो युद्धको साक्षीको रूपमा वेष्ट थोकमा आक्रमण गरेका थिए । त्यति बेला बेल्जियममा क्याथोलिक लिबेरल पार्टीका नेता चार्ल्स द ब्रुकोएभिले (Charles de Broqueville) प्रधानमन्त्रि थिए भने राजा अल्बर्ट प्रथम थिए। इतिहासमा २४ अगष्ट २०१५ भने कसैले बिर्सन नसक्ने कालो दिन रह्यो । पश्चिम भलांदरको सामरिक केन्द्रलाई जसरी पनि कब्जामा लिन पर्ने आदेश वर्लिनबाट आएपछि जर्मनी सेनाले बिषालु ग्यासद्वारा आक्रमण शुरु गरेको कुरा इतिहाँसमा छ ।
जर्मन सेनाले बेल्जियमको ईपरमा पहिलो पटक सन् १९१५ को अप्रिलमा हवाई हमला मार्फत विषाक्त क्लोरिनका गोला र ग्रिनेटहरु हान्यो। जव उडिरहेका बकुल्ला चराहरु आकासबाट फुत्फुती जमिनमा खस्न थाले जमिनमा भएका क्यानडियन र बेलायति सिपाहीले आँखामा नमिठो गरि आँशु आउन थाल्यो। नाकबाट विषाक्त क्लोरिन,ब्रोमिन र फोस्जेंन ग्याँस फोक्सोमा पुग्दा नपुग्दै सिपाहीहरु छट्पटाउदै ढल्न थाले। सुरुंग भित्रका सैनिकहरुले त्यो सबै देख्न सकेनन। उनीहरुपनि बिस्तारै विषाक्त ग्याँसको प्रभावमा आए र ग्याँसको असरले विक्षिप्त हुँदै संसारबाट बिदा भए। जीवित पाल्तु पशुहरु जमिनमा ढल्न थाले। त्यो समय बेल्जियमको पश्चिमी फ्लांदर लगायतका युद्ध भूमिमा प्रलय आएको थियो। हेर्दा हेर्दै मानबको कुरुप कलाले धरतीलाई उजाड बनायो। मानबताले चिच्च्याई चिच्याई सृष्टि बचाउन गुहार माग्यो। लास बोक्ने र लुछ्ने पनि युद्ध क्षेत्रमा कोहि देखिएन। युद्धले तत्काल थामिने आशा देखाएन।
रासायनिक हतियारको आधुनिक प्रयोग त्यहि पहिलो विश्वयुद्धबाट सुरु भयो, जब द्वन्द्वका दुवै पक्षले एक अर्कालाई पीडा दिन र युद्धको मैदानमा एक अर्कालाई सिध्याउन विषाक्त ग्याँसको प्रयोग गरे। त्यस्ता हतियारहरूमा मूलतः ग्रेनेड र आर्टिलरी गोलाहरू जस्ता मानक हतियारहरूमा विषाक्त रसायन राखेर बनाइएका थिए। क्लोरीन, फसजिन र छाला जलाउने ग्याँसहरु उक्त युद्धमा प्रयोग गरिएका रसायनहरू थिए। ईपरमा पनि जर्मन फौजले त्यहि ग्याँस प्रयोग गरेको थियो। यो युद्धमा ग्याँसबाट लगभग १००,००० जनाको मृत्यु भएको अनुमान छ । प्रथम विश्वयुद्धदेखि रासायनिक हतियारले विश्वभर १५ लाखभन्दा बढीको ज्यान लिइसकेको छ।
संसारमा पहिलो पटक युद्ध प्रयोजनको लागि विषालु ग्यासको प्रयोग इपरबाट भएको थियो ।तात्कालिक युद्धको रेकर्ड अनुसार प्रथम विश्वयुद्धमा करिव एक लाख नेपाली मूलका सैनिक सहभागी भएको अनुमान गरीएपनि युद्धमा केकति मारिए एकिन तथ्यांक भेटिदैन।
भरपर्दो एकिन तथ्याङ्क नष्ट भएको भएतापनि भेटिएसम्मको रेकर्ड कमन वेल्थ वारकमिसनसँग सुरक्षीत छ । जति भेटिए तिनैलाई आधार मान्ने हो भने ब्रिटिश भारतीय आर्मीको पहिलो, चौथो गोर्खा रेजिमेन्टलगायत अन्य रेजिमेन्टमा रहेका दर्जनौँ नेपाली नाम इपरस्थित मेनन स्मारकमा भेटिन्छ ।मेननगेट भन्नाले इपर क्षेत्रमा वीरगति प्राप्त गरेका हज्जारौँको नाम उल्लेख भएको युद्धमा मारिएका सहिद सैनिक स्मारक हो।
त्यहाँ नेपाली पुर्खाहरुको नाम र वतन भेटिए पछी बेल्जियममा भएका नेपालीहरुको मन स्रद्धाले नझुक्ने कुरै भएन। सन् २००२ तिर तमुसमाजका अगुवा,पत्रकार महासंघ युरोप शाखाका प्रथम अध्यक्ष महेश थापा लगायतको अध्ययन टिमले आफुँले बनाएको रिपोर्ट नेपाली राज दुतावासमा बुझाए। तत् पश्यात ईपरको मेनन गेटमा गोर्खाली अग्रजहरुको सम्मानमा स्मारक बनाउने पहल शुरु भएको हो। तर त्यसमा पनि स्मारक कसको स्वामित्वमा कुन संस्थाले बनाउने भन्ने बारेमा बिबाद शुरु भयो।
पछि नेपाली महामहिम राजदूत लोकबहादुर थापाको सुझबुझ र सरसल्लाहका कारण बेल्जियममा विभाजित नेपाली समाज पुनः एकपल्ट एकजुट भए । यो शालिकलाई प्रवासमा नेपालीको पहिचानको रूपमा अङ्गिकार गरे ।
दुवै विश्व युद्धमा नेपाल र नेपालीले भाग लिनु पर्ने कुनै कारण छैन। त्यो हाम्रो रोजी रोटीको बाध्यता थियो। ति ठुला युद्धमा बिशेसगरि सक्ति राष्ट्रका आफ्ना स्वार्थहरू थिए। उनीहरुका निजि कारणहरु थिए। उनीहरुका सामरिक,व्यापारिक र औपनिवेशिक स्वार्थका कारणले ति बिनासकारी युद्ध भए। प्रथम विश्व युद्धको चरणमा सक्ति राष्ट्र भर्खर औद्योगिक क्रान्तिको चरणमा थिए। उनीहरुलाई उत्पादित सामान बेच्ने बजार,इन्धन र कच्चा पदार्थ आफ्नो नियन्त्रणमा लिन नयाँ उपनिवेशहरुको जरुरत थियो । त्यसैले अनेक कारणहरुको बिचमा फिटिएर विश्वमा आफ्नो बर्चस्वको लागि बिश्व युद्ध शुरु भएको थियो। साना ठुला कारणहरु अनगिन्ति हुन सक्छन तर यहाँ केहि मुख्य कारणहरु जसले प्रथम बिश्व युद्धलाई जन्माएको थियो बारे छलफल गर्न खोजिएको छ।

तात्कालिक परिस्थितिमा युद्धका कारणहरुको आधारभूमिबारे :

रोमन साम्राज्यको पतन तथा जर्मनीहरुद्वारा स्थापित साम्राज्यले बिकास गर्दै गएको अबस्थामा युरोपको भबिष्य जर्मनीहरुद्वारा निर्देशित हुने अबस्थाको सृजना भयो। युरोपमा राजनैतिक अस्थिरताका चार दशक बर्षहरु पछि जर्मनी प्रतिको युरोपियन अपेक्षामा बढोत्तरी भयो। त्यो अबस्थामा युरोपियन प्रभुत्वको लागि फ्रान्सले जर्मनी बिरुद्ध रुससँग घनिष्ट सम्बन्ध बनाएर अगाडी बढ्ने निर्णय गर्यो। तर प्रारम्भमा बेलायतले भने युरोपियन महादेशमा सबैसँग समान दुरीको सम्बन्ध बनाइरह्यो।
तर जर्मनीको बिसाल नौसेनाको बिकास र आधुनिक हतियार निर्माणको तिब्रताले बेलायत झस्कनु स्वाभाविक थियो। त्यसैको परिणाम स्वरुप बेलायति सरकारले फ्रान्स-रुस समूहसंग घनिष्ट सम्बन्ध बनाउने नीति लियो। जर्मन सम्राट विलियम द्वितीयको साम्राज्य बिस्तार योजनाले जर्मनीलाई युरोप र एसिया नजिकका सामुन्द्रिक बन्दरगाहहरु आफ्नो नियन्त्रण गर्ने अभियानतर्फ उत्प्रेरित गर्यो। जसले गर्दा बेलायत,जापान र अमेरिका जर्मनीका स्थाई दुश्मन बन्न पुगे।
अर्कोतर्फ बेलायतलाई कुनैपनि बेला जर्मनी सेनाले आक्रमण गरेर आफ्नो देश जर्मन साम्राज्यमा बिलय हुनसक्ने डर थियो। त्यसैले उसले आफ्नो असंलग्न नीतिमा पुनर्विचार गर्दै फ्रान्स रुस गठबन्धनमा लाग्यो।युरोपियन देशहरुले एक आपासमा गोप्य सम्झौता गरेर आन्तरिक सक्ति संचय गरिरहेका थिए। त्यो देखेर बेलायतले आफ्नो नियन्त्रण क्षेत्रमा हस्तक्षेप नगर्न जर्मनी सरकार समक्ष सन्धिको प्रस्ताव गर्यो। तर जर्मनीले बेलायतको उक्त प्रस्तावलाई अस्विकार गरिदियो।
अन्तमा,बेलायतले १९०२ ई.सं.मा जापानसंग,१९०४ मा फ्रान्ससंग र १९०७ ई.सं.मा रुससंग सुरक्षा तथा सहयोग आदानप्रदानको लागि सम्झौता गर्यो। यसरि त्रिराष्ट्रिय सम्झौताको माध्यामबाट एउटा सक्तिशाली मित्र मण्डलीको जन्म भयो। त्यसपछि युरोप परस्पर बिरोधि दुई गुठमा विभाजन भयो।
यी सन्धिहरु सुरक्षाको अनुभूतिकालागि गरिएका थिए। तर यी सन्धिको असरले झन् तिब्र गतिमा युद्धको वातावरण बनाउन थाल्यो। उता जर्मनी,अष्ट्रिया र रुसको पुरानो मैत्री सन्धि थियो। जर्मनीले हंगेरीसंग पनि सन्धि गरेको थियो। जसमा ईटाली पनि मिल्न आउँदा अर्को गुठले जन्म लियो।
जर्मनी एकीकरणका महानायक विस्मार्क सत्तामा रहुन्जेल रुसले जर्मनीको साथ छोडेन। विस्मार्कको पतन पछि रुस बेलायति खेमामा गयो। खिचातानीको यो विषम परिस्थितिमा फ्रान्सले पनि ईटलीसँग गोप्य सम्झौता गरेर आफ्नो सुरक्षा स्थितिलाई सहज बनायो। पछि १९१२-१३ ई.मा बाल्कन युद्धको कारणले अष्ट्रिया र रुसको बिच सत्रुता बढ्दै गयो। जसको कारण विश्व युद्धलाई झन् सन्निकट ल्याईदियो।
इतिहासविदहरुले १९१४ ई.बाट शुरु भएको युद्धका धेरै कारण मध्ये बेलायत,जर्मनी र फ्रान्सको साम्राज्यबादी नीतिलाई मुख्य कारण मान्दछन। १८७० इ.पछि जर्मन चान्सलर विस्मार्कले फ्रान्सलाई एक्लो बनाउन युरोपेली राष्ट्रहरुसंग गोप्य सन्धिहरु गर्न शुरु गरेका थिए। प्रथम बिश्व युद्धको अर्को कारण युरोपले अंगालेको अन्धराष्ट्रबादी नीति पनि हो। जर्मनी र इटालीले आफ्नो देशको एकीकरण अभियान पुरा गरेपछि रचनात्मक राष्ट्रियताको पूर्ववत नीतिबाट पछि हट्दै उग्र राष्ट्रबादी नीति अंगाले। प्रत्येक राष्ट्रले आफ्नो सभ्यता,संस्कृति,धर्म र भाषालाई अरुको भन्दा श्रेष्ठ ठान्ने नीतिले कट्टरतालाई जन्म दियो र त्यहि कट्टरता पछि युद्धको कारण बन्ने स्तरमा पुग्यो।
त्यस्तै १८रौँ सताब्दिमा भएको औध्योगिक क्रान्तिले उत्पादनलाई गुणात्मक रुपमा बिकास गर्यो। त्यसपछि बजार कब्जा गर्ने होटबाजी शुरु भयो। सस्तो मुल्यमा कच्चा पदार्थ जम्मा गर्ने र उत्पादित बस्तुको अधिक मुल्यमा बिक्रि गर्ने औध्योगिक पुंजिबादको त्यहि चरणमा शुरु भएको मानिन्छ। त्यहि कारण युरोपियनहरुले संसारका धेरै महादेशहरुलाई आफ्नो उपनिवेश बनाए। बेलायत,फ्रान्स र रुसले आफ्ना उपनिवेशहरु बढाउदै लागेको देखेर इटाली,पोर्तुगल,स्पेन र जर्मनीले पनि आफ्नो औपनिवेशिक अभियानमा तिब्रता दिए।
यसरि प्रथम विश्वयुद्धको प्रमुख कारण उत्पीडित राष्ट्रको कच्चा पदार्थ,सस्तो श्रम सक्ति र उत्पादित समान बेच्ने बजार हडप्ने प्रतिस्पर्धा हो। त्यसको लागि जर्मनले टर्कीका सुल्तानसंग मित्रता कायम गर्दै जर्मन देखि बग्दादसम्म रेल मार्ग बनाउने प्रस्ताव गर्यो। यो प्रस्तावले बेलायत हायल कायल भयो। यो प्रस्तावबाट बेलायतले आफ्नो भारतीय उपनिवेशका लागि खतरा देख्न थाल्यो। त्यहि कारणले नै निशस्त्रीकरणका लागि १९०७ इ.मा आयोजना गरिएको हेग सम्मेलन असफल पारियो। त्यसपछि प्राय सबै युरोपेली देशहरुले अनिबार्य सैनिक सेवा गर्नु पर्ने नीति ल्याए। यसरि १८७१ इ.देखि १९१४ इ.सम्मको युगलाई युरोपको ससस्त्र सान्तिको युग भनिन्छ।
जर्मनी र फ्रान्सको १ सेप्टेम्बर १८७० इ.मा युद्ध भयो। फ्रान्सका सम्राट नेपोलियन तृतीयले ८३ हजार सैनिक सहित जर्मनी सेनासंगको युद्ध हारे र आत्मा समर्पण गरे। नेपोलियन तृतीयलाई जर्मनले युद्धबन्दी बनायो। त्यसको लगत्तै १० मई १८७१ मा फ्र्यांकफोर्डमा सन्धि भयो। यस सन्धि अनुसार फ्रान्सले फलाम र कोइला खानि भएको आफ्नो महत्वपुर्ण भूभाग जर्मनलाई बुझाउनु पर्ने भयो। फ्रान्सले त्यो अपमानलाई बिर्सन सकेन र बदलाको समय कुरेर बसी रह्यो। त्यो सम्झौता पनि प्रथम बिस्वयुद्धमा यौटा कारण बनेर रहेको थियो।

त्यस्तै अर्को तिर अष्ट्रियाका टेण्टिनो,ट्रित र इष्ट्रिया जस्ता इटालियनहरु बस्ने इलाकाहरुमा इटालीको दावी थियो। त्यो दावीलाई अष्ट्रियाले अस्विकार गरेपछि इटालीसंग भएको मैत्री सन्धि भंग भयो। त्यसपछि इटाली फ्रान्ससंग आएको हो। यसले पनि छिमेकी देश अष्ट्रिया र इटालीबिच युद्धको आधार तयार पारेको हो।
अर्को जटिल समस्या बोस्निया र हर्जगोभिनाबीच रहेको थियो। बर्लिन सन्धि अनुशार बोस्निया र हर्जगोभिना अष्ट्रिया-हंगेरीका थिए। तर यी दुबैलाई सासन गर्ने स्वायत अधिकार दिइएको थियो। त्यस सन्धिलाई भंग गर्दै १९०८ ई.मा यी दुवै प्रान्तहरुको सासन गर्ने स्वायत्त अधिकार खोसी अष्ट्रिया-हंगेरीले आफ्नो हातमा लिए। सर्भियाले अष्ट्रिया-हंगेरीको उक्त कदमको बिरोध गर्यो। त्यसको बदलामा स्लाभ जातिलाई एक सुत्रमा बाध्न सर्भियाले दिमित्री जेभिजको नेतृत्वमा ‘ब्ल्याक ह्याण्ड’ नामक भूमिगत समिति बनायो। त्यहि भूमिगत गिरोहको योजनामा अष्ट्रियन युबराज फ्रान्सिस फ़र्डिनाण्ड र उनकी पत्नीको हत्या भएको थियो।
अष्ट्रिया र हंगेरीले त्यो हत्या योजनाको दोष सर्भिया माथि लगायो। तत्काल कडा सर्तहरु राखेर सर्त पुरा नगरे २८ घण्टाभित्र युद्ध गर्ने धम्कि दियो। सर्भियाले अष्ट्रिया-हंगेरीको उक्त चेतावनीलाई अस्विकार गर्यो। अन्त्यमा २८ जुलाई १९१४मा दुई देश बीच घमासान युद्ध सुरु भयो।त्यहि युद्ध जेलिएर पछि बिस्वयुद्धको रुप लिएको हो।
(जसमा नेपालीहरु के कसरि र कहिलेबाट यो युद्धमा भाग लिए ? नेपालीहरुबीच यो बिषय प्रति चासो हुनु स्वाभाविक छ। त्यसैको अलिक बढी जानकारी दिने मनसायले पंतिकारद्वारा अघिल्लो लेख(https://www.janasawal.com/2021/11/58974/) लेखिएको हो। त्यो लेखले युद्धका कारणहरुबारे समेत सम्पूर्ण जानकारी दिन नसकेकोले पुन यो लेख लेखिएको छ। )

प्रतिक्रिया
सम्बन्धित समाचार