सल्यान(जस)–सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आइतबार बिहान दुर्घटना भएको हो ।
मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ की ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका–३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका–१ काभ्राकी २४ वर्षीया मीना शाही रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दाङको बबई गाउँपालिका–४ की ६० वर्षीया डुली रेउले, सोही गाउँपालिका–६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, सल्यानको छत्रेश्वरी गाउँपालिका–२ का २९ वर्षीय तिलक ओली, दाङ शान्तिनगर गाउँपालिका–८ की ३५ वर्षीया सावित्रा केसी, घोराहीकी रुपा केसी, सल्यानको त्रिवेणीकी सरिता बोहरा र दाङ कोरवाङकी पाँच वर्षीय सुरज ओली रहेको जिल्ला प्रहरीले जनाएको छ ।
बसमा ३७ जना सवार रहेको प्रहरीले अनुमान गरेको छ । घाइतेमध्ये गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज रिफर गरिएको छ भने अन्य सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार आठ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकीको उपचारका क्रममा मृत्यु भएको हो । चालक भने फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलका अनुसार मृत्यु हुनेहरू १० महिला र २ जना पुरुष हुन् । मृतक सबै तिहार मनाएर घर र कर्मथलो फर्कने क्रममा थिए ।
दुर्घटनामा परी १५ जना गम्भीर भएका छन् । घाइते हुनेहरू रोल्पा र एकजनासहित अधिकांश सल्यान र दाङका रहेका छन् । गम्भीर घाइते ८ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि नेपालगञ्ज लगिएको छ । उनीहरुको नेपालगञ्जका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।
केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने प्रहरीको भनाइ छ । दुर्घटनामा परी घाइते भएकाको जिल्ला अस्पताल सल्यान, श्रीनगर सल्यान तथा दाङको तुलसीपुर अस्पतालमा उपचार भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी उपरीक्षक गोविन्द थापाले जानकारी दिए । बस सडकभन्दा करिब २०० मिटर तल खसेको छ । बसमा करिब ४० जना यात्रु रहेको अनुमान गरिएको छ । प्रहरीले मृतक तथा घाइतेको विवरण सङ्कलन गरिरहेको जनाएको छ । दुर्घटनाका कारण खुलिसकेको छ्रैन ।