काठमाण्डौं – प्रवासमा रहेका नेपाल आदिवासी जनजाति महासंघहरुको प्रथम महाधिवेशन आजबाट काठमाण्डौंमा सुरु हुँदैछ । संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ कार्यक्रमको प्रमुख आतिथ्यतामा हुने सो महाधिवेशनमा १७ देशका नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)हरुले भाग लिंदैछन् ।सन् २०१९ को अक्टोबरमा विदेशमा रहेका नेपाली आदिवासीहरुको प्रथम विश्व सम्मेलनबाट विकसित अन्तर्राष्ट्रिय महासंघको अवधारणा अनुरुप सन् २०२० मा एक अन्तर्राष्ट्रिय तदर्थ समिति बनेको थियो । तर नेपालस्थित नेफिनको यसमा संलग्नता नरहेको गुनासो आएपछि नेफिन नेपालका उपाध्यक्ष गोविन्द छन्त्यालकै संयोजकत्वमा हालै मात्रै उक्त तदर्थ समिति पुनर्गठन भएको थियो ।
राजधानीको हिमालयन होटलमा अक्टोबर २१ र २२ का लागि कार्यक्रम तय गरिएको छ । महाधिवेशन नेफिन नेपालका अध्यक्ष जगत बराम र उपाध्यक्ष तथा विदेश विभाग प्रमुख गोविन्द छन्त्यालको विशेष आतिथ्यतामा सम्पन्न हुने कुरा अन्तर्राष्ट्रिय महासंघको तदर्थ समितिका संयोजक मान बहादुर राना मगरले बताए ।विदेशमा रहेका नेफिनहरुमध्ये अमेरिका, अस्ट्रेलिया, अस्ट्रिया, इजरायल, क्यानडा, कतार, कुवेत, जापान, दक्षिण कोरिया, मलेसिया, पोर्चुगल, बहराइन, बेल्जियम, मकाऊ, युनाइटेड अरब इमिरेट्स, हङकङ र यूकेका प्रतिनिधिहरुले प्रत्यक्ष वा जूम मार्फत भर्चुअल (मिश्रित) रुपमा सहभागी हुने भएका छन् ।उल्लिखित सबै १७ देशका नेफिनहरुले पाँच पाँच जना महाधिवेशन प्रतिनिधिहरु पठाउनु पर्नेछ । नेफिन यूकेले भने अध्यक्ष कर्मा पहाडी शेर्पा, निवर्तमान महासचिव खुशी लिम्बु, प्रस्तावित महासचिव बिमला सेने र रुद्र थापालाई प्रतिनिधि चयन गरिसकेको छ ।